प्याराग्लाइडिङका युकेश सर्वोत्कृष्ट

काठमाडौं । दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कार– २०७५ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अर्वाड प्याराग्लाइडिङका युकेश गुरुङले मंगलबार जितेका छन् । गत भदौमा इन्डोनसियामा भएको १८ औँ एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपालले ऐतिहासिक रजत जित्दा युकेश टोलीका महत्वपूर्ण खेलाडी थिए । युकेशले नगद १५ हजारसहित प्रशंसा पत्र प्राप्त गरे ।

अवार्ड आयोजक सहिद दशरथ चन्द मेमोरियल ट्रष्टले सहिद चन्दको जन्म जयन्तीको अवसरमा हरेक वर्ष सातै प्रदेशबाट १–१ खेलाडीको प्रतिनिधित्व हुने गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । युकेश गण्डकी प्रदेशबाट छनोटमा परेका हुन् । अन्य ६ प्रदेशका खेलाडीले उत्कृष्ट खेलाडीको अवार्ड पाए । प्रदेश १ बाट गल्फका टंकबहादुर कार्की, प्रदेश २ बाट एथलेटिक्सका अजितकुमार यादव र प्रदेश ३ बाट शारीरिक सुगठनका महेश्वर महर्जन पुरस्कृत भए ।

टंकले बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिप, अजितले हङकङमा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिप र महेश्वरले थाइल्यान्डमा भएको १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । प्रदेश ५ बाट राष्ट्रिय महिला फुबल टिमकी कप्तान निरु थापा, कर्णाली प्रदेशबाट आईटीएफ तेक्वान्दोका दीपक विक र सुदूरपश्चिम प्रदेशबाट ब्याडमिन्टनका प्रिन्स दाहाल सम्मानित भए ।

निरुले विराटनगरमा भएको दोश्रो दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिपमा रजत तथा दीपकले भारतमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप र प्रिन्सले दुबइ ओपन इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण जितेका थिए । उत्कृष्ट सबैले १० हजार नगदसहित प्रशंसा पत्र पाए । सोही अवसर फरक क्षमता भएका दुई खेलाडीलाई पनि पुरस्कृत गरियो । एथलेटिक्सका अजय तामाङ र बोसियाकी महिमा कोइराला पुरस्कृत भए । दुवैले युएइमा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्समा नेपाललाई स्वर्ण दिलाएका थिए ।

उनीहरूलाई पनि १० हजार नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको कार्यक्रममा आईटीएफका दीपक र एथलेटिक्सका अजित भने उपस्थित थिएनन् । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), पूर्व मन्त्री लेखराज भट्ट, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, आयोजक ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्दलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया