काठमाडौं । नेपाली राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीले एनएसजेएफ स्पोर्टस अवार्डको पिपल्स च्वाईस विधामा अवार्ड जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रदान गरेको अवार्डका लागि १ महिना अघि नै मनोनयन सार्वजनिक गरेको थियो । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिएको हो । उनले शारिरीक सुगठनका महेश्वर महर्जन, क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहा र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् । उनले समग्रमा ३२ दशमलव ९२ प्रतिशत मत ल्याउँदा फुटबलकी सावित्राले २९ दशमलव ५३५ प्रतिशत भोट हात पारिन् ।
शारिरीक सुगठनका महेश्वर मर्हजनले १५ प्रतिशत मत प्राप्त गर्दा प्रिन्स दाहालले १३ दशमलव ४५ प्रतिशत र क्रिकेटर सन्दीप लामिछानले ८ दशमलव ४१ प्रतिशत मत प्राप्त गरे । अवार्डसँगै रेश्माले बजाजको पल्सर मोटरसाइकलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । पल्सर स्पोटर्स अवार्ड २०७५ मा प्याराग्लाइडिङले वर्चश्व कायम गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले मंगलबार आयोजना गरेको अवार्ड प्याराग्लाइडिङले उत्कृष्ट पुरुष ,उत्कृष्ट प्रशिक्षक र टिम अफ दी इयर गरि तीन विधाको अवार्ड जितेको हो । गत वर्ष इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा प्याराग्लाइडिङले रजत जितेकोे थियो । नेपालले एसियाली खेलकुदमा टिम इभेन्टतर्फ जितेको यो पहिलो पदक हो । व्यक्तिगततर्फ भने तेक्वोन्दोकी सविता राजभण्डारीले नेपाललाई एसियाली खेलकुदमा रजत जिताएकी थिइन् ।
उत्कृष्ट वर्ष पुरुष खेलाडीमा प्याराग्लाइडिङका युशेक गुरुङले क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पारेका हुन् । त्यस्तै उत्कृष्ट प्रशिक्षकमा प्याराग्लाइडिङकै योगेश भट्टराईले, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्कालाई पछि पार्दै वर्ष पं्रशिक्षक बने ।
यता साफ महिला फुटबल च्याम्पियनसिपमा नेपललाई उपविजेता बनाउन र टोलीलाई ओलम्पिक छनोटको दोस्रो चरण प्रवेश गराउन महत्वपूर्ण योगदान गरेकी राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारीले वर्ष उत्कृष्ट महिला खेलाडी बनिन् । साबित्राले वर्ष खेलाडी बन्ने क्रममा भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछि छोडिन् ।
एथलेटिक्सका अजितकुमार यादव उत्कृष्ट युवा खेलाडी बने अजितले हङकङमा सम्पन्न एसियाली च्याम्पिनसिपमा ऐतिहासिक स्वर्ण पदक जिताएका थिए ।यसक्रममा अजितले क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठलाई पछि पारे । कार्यक्रमै घोषणा गरिएको पारा एथ्लेट्स अवार्ड नेत्रहिन महिला क्रिकेट टोलीकी सदस्य मनकेशी चौधरीले हात पारिन् ।
मनकेशीले पाकिस्तानविरुद्धको शृंखला जित्दा टोलकी महत्वपूर्ण सदस्य थिइन् । लाइफटाइम एचिभमेन्टबाट एथ्लेटिक्स प्रशिक्षक हरिबाहादुर रोकायलाई प्रदान गरियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले स्पेसल अवार्ड जिते । युवा,पारा,लाइफ टाइम अचिभमेन्ट, टिम अफ दी इयर र स्पेसल अवार्डतर्फका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यता पहिलो पटक समावेश गरिएको एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट एआइपिएसका महासचिव मलिक अम्जाद अजिज सम्मानित भए । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गरे ।
प्रतिक्रिया