बागलुङ । एकातिर घामको ताप, अर्कोतिर आगोको राप । ६६ वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् । हिजोआज मध्याह्नपछि रोकाको दैनिकी यसरी नै बित्छ । समीक्षालयचोक छेउमा सानो पाल टाँगेर मकै पोल्नु, बेच्नु रोकाको दैनिकी हो ।
मकै पोल्नेमा रोका एक्ली भने छैनन् । एकाउन्न वर्षीया टीकाकुमारी घर्तीले साथ उनलाई दिएकी छन् । दुवै जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाबाट १५ वर्षअघि बागलुङ बजार झरेका हुन् । ‘यसरी मकै पोलेर बेच्न थालेको ६ वर्षजति भयो, घर्तीले भनिन्, ‘हाम्रो कमाइ, पेशा नै यही हो ।’
वर्षेनी जेठदेखि साउनसम्म मकैको व्यवसाय चल्छ । बाँकी महीनामा रोकाले सुन्तलालगायत मौसमी फलफूल बेच्छीन् । घर्तीले भने घरमै झोला, स्वीटरजस्ता हस्तकलाका सामग्री बुनेर समय बिताउँछीन् । मकै पोलेर बेच्दा ठूलोको प्रतिगोटा रु ३० पर्छ र सानाको रु २५ पर्छ । काँचो बेच्दा भने ठूलोलाई रु २५ र सानोलाई रु २० बेच्ने गरिएको रोकाले बताइन् । ‘हामीले किनेर ल्याउँदा एउटालाई रु १५/२० सम्म पर्छ, उनले भनिन्, ‘दाउरा किनेर, पोलेर बेच्दा थोरै फाइदा निक्लन्छ ।’
मकै पोल्नेले फर्निचरबाट प्रतिकिलो रु १५ तिरेर दाउरा किन्ने गरेका छन् । दिनमै १०० भन्दा बढी मकै बिक्री हुने गरेको घर्तीको भनाई छ । यसरी किनबेच हुँदा दिनमा रु तीन हजारसम्मको कारोबार हुन्छ । मकै पोलेर बचेको पैसाले घर खर्च धानिएको रोका र घर्तीले बताए । ठूलो आम्दानी नभए पनि मेहनतअनुसारको फल पाउँदा खुशी लाग्ने गरेको उनिहरुको भनाइ छ । घर्तीले दुई छोरा र एक छोरीसहितको परिवारलाई पोलनपोषण गर्दै आएकी छन् ।
श्रीमानले दोस्रो श्रीमती बिहे गरेपछि बालबच्चाको हेरचाह घर्तीले गर्दै आएकी छन् । रोकाका पाँच भाइ छोरा भने सबै वैदेशिक रोजगारीमा छन् । उनले बजारमा बसेर आफ्नै परिश्रममा जीवन धानिरहेकी छन् । घर्ती र रोका तत्कालीन द्वन्द्वको अवस्थामा गाउँ बस्न नसक्ने भएपछि सदरमुकाम झरेका थिए ।
बागलुङ बजारमा मकै पोलेर जिवीका चलाउने महिला अरु पनि छन् । मुख्य सडक र चोकमा बागलुङ नगरपालिकाले मकै पोल्न नदिएपछि भित्री सडकमा उनीहरुको व्यवसाय सरेको छ । मकै नपाइने याममा भने मौसमी फलफूल, तरकारी, बदाम आदि बचेर महिलाले आयआर्जन गर्दै आएका छन् ।
प्रतिक्रिया