साउनबाट बक्सअफिस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आगामी साउनबाट मुलुकभरका सिनेमा हलमा बक्सअफिस प्रणाली लागू गर्ने बताएका छन् । चलचित्र विकास बोर्डको १९औँ वार्षिकोत्सवको अवसरमा सोमबार बोर्डमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले टेलिभिजनमा क्लिन फिल्ड लागू गर्ने भनाइ राखे ।

विभिन्न चलचित्रकर्मीलाई सम्मान गर्दै मन्त्री बाँस्कोटाले साउनबाट सिनेमा हलमा बक्सअफिस प्रणाली लागू गर्ने, चलचित्र छायांकनका लागि सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने, नेपालमा १८० दिन सिनेमा हलमा अनिवार्य नेपाली चलचित्र प्रदर्शन नियम लागू गर्न लागेको बताए । उनले नेपाली चलचित्र उद्योगको हितका लागि नेपाल चलचित्र विकास कम्पनी लिमिटेड, बालाजुलाई दिइएको जग्गा अहिले हराएको र त्यो जग्गालाई सरकारले जसरी पनि खोजी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गर्दै भने, ‘आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषद्को निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’

मन्त्री बाँस्कोटाले नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि २०५० को दशकसम्म योगदान पु¥याएका १५ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६’ बाट सम्मानित गरे ।

नेपाली चलचित्र क्षेत्रमा ०२२ सालदेखि ०५० को दशकसम्म उल्लेख्य योगदान दिएर सम्मानित हुनेमा निर्देशकतर्फ लक्ष्मीनाथ शर्मा, अभिनेतातर्फ शिव श्रेष्ठ र भुवन केसी, नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द रहेका छन् । यस्तै, संगीतकार शम्भुजीत बासकोटा, नृत्य निर्देशक वसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई ‘चलचित्रकर्मी विशिष्ट योगदान सम्मान’ बाट सम्मानित गरिएको छ ।

यसैगरी, छायाकार मञ्जुकुमार श्रेष्ठ, ध्वानी विशेषज्ञ प्रदीपकुमार उपाध्याय, चलचित्र निर्माता छविराज ओझा, पोस्टर डिजाइनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रकार विजयरत्न तुलाधार, विज्ञापन निर्माता निर्मलराज पौडेल, सञ्चार क्षेत्रबाट कामना पब्लिकेशन र नेपाली चलचित्रमा विदेशीको योगदानअन्तर्गत जापानी नागरिक डा. तोसिआकी इतोहलाई विशेष सम्मानबाट सम्मानित गरियो ।

चलचित्र भवनतर्फ काठमाडौंको विश्वज्योति सिनेमा, बिर्तामोडको श्रीकृष्ण चलचित्र मन्दिर, पोखराको विन्ध्यबासिनी चलचित्र भवन र नेपाली चलचित्रको प्रदर्शनीमा डिजिटल्ली क्रान्ति ल्याउन सफल क्युएफएक्स सिनेमा समूहलाई पनि विशेष सम्मानबाट सम्मानित गरियो ।

यस्तै, ०७५ सालमा प्रदर्शित नेपाली चलचित्रबाट तीनओटा चलचित्र गोपी, बुलबुल र कथा–७२ लार्ई विशेष चलचित्रबाट सम्मानित गरियो । विशेष चलचित्र छनोट समितिका निर्णायकमा दयाराम दाहाल, नवल खड्का, सुशील पोखरेल, सुदर्शन श्रेष्ठ र निर्मला चौलागाईलाई पनि कार्यक्रममा प्रशंसापत्र प्रदान गरियो ।

प्रारम्भिक कालखण्डका पुराना चलचित्र एवं ऐतिहासिक वृत्तचित्रलाई डिजिटाइजेसन गर्न उल्लेख्य योगदान पु¥याएबापत् महेन्द्रप्रसाद साँखी, मञ्जुकुमार श्रेष्ठ, प्रदीपकुमार उपाध्याय, लोकेन्द्र पराजुली (कपिल), प्रभाकर भट्टराई र चिरञ्जिवी गुरागाईंलाई पनि कदरपत्रद्वारा सम्मान गरियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले मन्त्री बाँस्कोटाको निर्देशन अनुसार साउनबाट आफूहरुले बक्सअफिस मुलुकभरका सिनेमा हलमा लागू गर्ने, अर्को वर्षभित्र काठमाडौं उपत्यकामा इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने, आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिने र छायांकनका लागि नेपाल कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । उनले सम्मानित हुने स्रष्टालाई केही रकम पनि चाँडै प्रदान गरिने जानकारी दिए ।

बोर्डका सदस्य–सचिव महेन्द्रप्रसाद साँखीले बोर्डका वार्षिक गतिविधिबारे कार्यक्रममा प्रकाश पारे । चलचित्र निर्देशक एवं बोर्डका प्रथम अध्यक्ष यादव खरेलले चलचित्र नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै बोर्डले पुराना चलचित्र डिजिटलाइजेसन गरेकोमा त्यसको प्रशंसा गरे ।

मन्त्री बाँस्कोटाभन्दा अघि मन्तव्य राखेका खरेलले सरकारले गरेको आइफा अवार्ड गर्ने निर्णयसम्बन्धी कार्यक्रम राष्ट्रविरोधी भएको आरोप लगाए । बोर्ड सदस्य दयाराम दाहालले बोर्डको भावी कार्यक्रमबारे जानकारी गराए थिए ।

प्रतिक्रिया