वर्तमान शासन व्यवस्थालाई समाप्त पार्ने उद्घोषका साथ यतिवेला मुलुकमा दुईवटा शक्ति आन्दोलनमा छन् । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी ( विप्लव माओवादी) ले कम्युनिस्ट शासन व्यवस्था स्थापना गर्ने लक्षका साथ हिंसात्मक गतिविधि समेत अघि बढाएको छ भने कमल थापा नेतृत्वको राप्रपाले हिन्दू अधिराज्य पुनर्वहालीको मुद्दालाई शान्तिपूर्ण ढंगबाट अघि सारेको छ । गाउ“घर तथा दूरदराज तिर विप्लव माओवादीको प्रभुत्व बढी देखिन्छ भने सहरी क्षेत्र तिर कमल थापाले अघि सारेको हिन्दू अधिराज्य पुनर्वहालीको मुद्दामा जनसमर्थन विस्तार हुँदै गएको देखिन्छ । यी दुवै शक्तिको लक्ष वर्तमान शासन व्यवस्था अन्त्य गरी आफ्नो प्रभुत्व रहने शासन व्यवस्था स्थापना गर्नु हो । तर, लक्ष्य प्राप्तिका लागि भने यी दुवै शक्तिले अलग अलग मार्ग तय गरेका छन् । फरक यति हो कि हिन्दूअधिराज्य पूनर्वहाली गर्ने लक्ष्य बोकेको शक्तिले अपनाएको मार्गबाट जनता भयभित छैनन् तर कम्युनिस्ट राज्यसत्ता स्थापना गर्ने शक्तिले अपनाएको मार्गले जनतालाई आतंकित बनाएको छ । यी दुवै मार्ग वर्तमान संविधानको खिलापमा छन् । तर, सरकारले हिन्दूअधिराज्य पुनर्वहालीका लागि गतिविधि गर्नेहरूलाई वैधानिक पार्टी सरहको व्यवहार गरेको छ भने कम्युनिस्ट राज्यसत्ता स्थापनाका लागि गतिविधि गर्नेहरूलाई प्रतिबन्ध लगाएको छ । लोकतन्त्रमा आफ्ना माग राखेर गतिविधि गर्ने छुट सबैलाई हुन्छ तर ती गतिविधिले देश र जनतालाई कुन हदसम्मको नोक्सान पुर्याउँछ ? भन्ने मूल्यांकन पनि हुन्छ । त्यसैले, विप्लवमाथि लगाइएको प्रतिबन्ध विचारको विरूद्धमा नभएर उसका गतिविधि विरूद्धमा हो भन्ने सहज अनुमान लगाउन सकिन्छ । वैचारिक आधारमा मूल्यांकन गर्ने हो भने वर्तमान सत्तारूढ पार्टीको अन्तिम लक्ष पनि कम्युनिस्ट शासन व्यवस्था स्थापना नै हो । तर, लक्ष्य प्राप्तिको बाटो वैधानिक छ ।
वर्तमान संविधानअन्तर्गत नै कम्युनिस्ट शासन व्यवस्था स्थापना गर्ने लक्ष्य बोकेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले हिंसाको बाटो अंगालेको अर्को कम्युनिस्ट पार्टीप्रति प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध पछि दुवै पक्षबाट हिंसात्मक गतिविधि बढेको देखिएको छ । विप्लव माओवादीका दुईजना कार्यकर्ता प्रहरीद्वारा मारिएका छन् । प्रतिबन्धको प्रतिरोधका लागि राजधानी काठमाडौंमा व्यापक बम विस्फोट गर्ने तयारीमा रहेको चार जना कार्यकर्ता बम परीक्षणको तयारीका क्रममा मरेका छन् । बम विष्फोटन गर्ने तयारीमा रहेका कार्यकर्ता आफै“ मारिनुलाई स्वभाविक रूपमा लिइए पनि प्रहरीको इन्काउन्टरमा मारिएको घटनालाई धेरैले स्वभाविक रूपमा लिएका छैनन् । राज्य पक्षद्धारा यसरी मान्छे मार्नु गलत हो भन्ने प्रतिक्रिया आइरहेका वेला र जनताको सहानुभूति बढिरहेका वेला विप्लव माओवादीले पटक–पटक नेपाल बन्दको आयोजना गरेको छ । बन्द तथा हड्ताल पनि आफैँमा हिंसा हो । एक दिन नेपाल बन्द हुँदा १० अर्ब रूपैंया बराबरको आर्थिक नोक्सानी मुलुकले बेहोर्नुपर्ने तथ्यांक त छँदैछ । अस्पतालसम्म पुग्न नपाएर बिरामीको मृत्यु हुने, नवजात शिशुले दुध खान नपाउने, दिनभरि मजदुरी गरेर बेलुकाको छाक टार्नुपर्ने वर्गका जनताको पेट भोको रहने कहालीलाग्दो अवस्था नेपाल बन्दले सिर्जना गरेको छ । त्यसैले जनताको मन जितेर आफ्नो पार्टीको औचित्य सावित गर्ने हो भने विप्लव माओवादीले हिंसा तथा नेपाल बन्दको बाटोमा तत्काल पूर्णविराम लगाउनुपर्छ ।
हुन त बन्द तथा हड्ताल हिंसात्मक आन्दोलनको प्रारूप हो या हिंसात्मक आन्दोलनको प्रारूप ? भन्ने प्रश्नमा फरक फरक तर्क देखिन्छन् । तर, नेपाल बन्द भनेको आन्दोलनको अन्तिम र उच्च रूप हो भन्ने कुरामा भने फरक तर्क देखिँदैनन् । जसरी सत्याग्रहीको अन्तिम तथा उच्च अस्त्र भनेको आमरण अनशन हो त्यसैगरी विद्रोही शक्तिको उच्च र अन्तिम अस्त्र भनेको बन्द हो । अन्तिम तथा निर्णायक अस्त्रलाई खेर जाने गरी प्रयोेग गर्नु हुन्न । आम जनताले स्वैच्छिक साथ दिने अवस्था नबन्दासम्म यस्ता अस्त्र प्रयोग गर्नु भनेको आफ्नो सामाथ्र्य खेर फाल्नु हो । यतिवेला त विप्लव माओवादी शक्ति सञ्चयका लागि जनताको मत जित्ने अभियानमा लाग्नुपथ्र्यो । मुलुकमा भ्रष्टाचार बढेको छ, सरकारी संयन्त्रले जनताको काम गरिरहेको छैन । यस्ता बेथितिका विरूद्ध गतिविधि गरेर जनताको मन जित्न सकिने उर्वर सम्भावना हुँदाहुँदै जनताले दुःख पाउने खालका आन्दोलन गर्नु विप्लव माओवादीको दृष्टिकोणविहिनता हो ।
प्रतिक्रिया