कति सहने यस्ता अन्धविश्वासहरू ?

अन्दाजी ४० वर्षकी मोटो शरीर भएकी एक महीला गलाभरी फुलको मालाका साथ अस्वाभाविक श्रृंगारमा कहिले यता कहिले उता गरिरहेकी हुन्छिन् । मानिसहरूको निकै ठूलो भीड ती महिलाको हाउभाउलाई नियाली रहेको हुन्छ । त्यही क्रममा करिब २० वर्ष उमेरकी पातलो शरीर भएकी युवती पनि नजिकै गएर ती महिलाको हाउभाउ नियाल्न पुग्छिन् । ती महिला आफूलाई धर्ती माता भएको घोषणा गर्दै युवतीमाथि झम्टिन पुग्छिन् । ‘म को हुँ चिनेकी छेस् ? तँलाई बोक्सी’ भन्दै युवतीको कपाल लुछ्न थाल्छिन्, गालामा लगातार चड्कन हान्छिन् । ‘युवती मलाई बचाओ, गुहार गुहार भन्छिन् । तर, आफूलाई धर्ती माता बताउने महिला झन् झन् आक्रामक हुँदै जान्छिन् । भीड रमिते बन्छ । दृश्यलाई आफ्नो मोबाइलमा कैद गर्ने ध्याउन्नमा कतिपय हुन्छन् । यो भीडमा ड्रेस लगाएका दुई जना प्रहरीहरूले पनि रमाइलो मानीमानी हेरिरहेका हुन्छन् ।

झट्ट हेर्दा फिल्म सुटिङको जस्तो देखिने भद्रकाली मन्दीर परिसरमा खिचिएको करिब पाँच मिनेट लामो यो भिडियो गत साता सामाजिक सञ्जालमा भाइरल बन्यो । यो कुनै सुटिङ नभएर वास्तविक घटनाको भिडियो थियो । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मुल गेट भन्दा करिब दुई सय मिटर दूरीमा, नेपाली सेनाको मुख्यालयको गेट भन्दा करिब ५० मिटर दुरीमा प्रहरीकै सामुन्ने बोक्सीको आरोपमा कुनै युवती कुटीरहेको यो घटना सामान्य होइन । यो भीडियो निश्चिय नै अन्तर्राष्ट्रिय जगतमा पनि भाइरल बनेको होला । नेपाली समाज कस्तो छ ? नेपालका सुरक्षाकर्मी कस्ता छन् ? नेपाल सरकार कस्तो छ ? भन्ने मूल्यांकन अन्तर्राष्ट्रिय जगतले पनि कसरी गरिरहेको होला ? सोच्न पनि नसकिने लज्जास्पद अवस्था बनेको छ ।

करोडौँ घुस खाए पनि हजार रूपैयाँ मन्दिरमा लगेर चढायो भने धर्म हुने अन्धविश्वास हामी कहाँ व्याप्त छ । मूर्तिलाई समेत घुस खुवाउने संस्कार बोकेको हाम्रो समाजका अगुवा भन्नेहरूले शक्ति केन्द्रमा रहेको व्यक्तिलाई रिझाएर आफ्नो स्वार्थ सिद्धिका लागि के सम्म गर्दैनन् होला ?

यो भिडियो भाइरल बनेको केही दिन पछि गत शुक्रबार प्रहरीले पीडक महिलालाई पक्राउ गरी पत्रकार माझ सार्वजनिक ग¥यो । पक्राउको यो घटनालाई प्रहरीले निकै ठूलो उपलब्धि दाबी ग¥यो । केही मिडियाहरूले पनि प्रहरीले छिटै अपराधी पक्राउ गरेर मुलुकलाई ठूलो उपलब्धि दिएको दाबीसहित समाचार संप्रेषण गरे । तर, जघन्य अपराधपूर्ण यो घटनाको साछीजस्तो रमिता हेरेर बसेका प्रहरीका बारेमा कुनै ‘माइकालाल तथा माइकी बेटी’ पत्रकारहरूले प्रश्न उठाएको देखिएन ।

अपराध त अपराध भइ नै हाल्यो, अपराध भएको देख्दा देख्दै तमासे बन्नुलाई पनि अपराधकै श्रेणीमा राखिन्छ । अपराध भएको देख्दा देख्दै पनि प्रहरीलाई उजुर नगर्नेलाई पनि कानुनले कारबाहीको भागिदार बनाएको छ । साथै, बोक्सी प्रथा अपराध सम्बन्ध ऐनमा त तमासेहरूमाथिसमेत ठूलै कारवाहीको व्यवस्था गरिएको छ । तमासेहरूको स्तरसमेत वर्गीकरण गरिएको छ । तर, प्रहरी नै तमासे बनेको अवस्थामा कुन हदसम्मको सजाया गर्ने ? भन्ने कुरा उल्लेख गरिएको छैन । उ यस्ता जघन्य अपराधमा प्रहरीसमेत तमासे बन्छ भन्ने कुरा कानुन बनाउनेहरूले समेत कल्पना गरेका रहेनछन् ।

करिब डेढ वर्षअघि कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा आफूलाई ईश्वरको अवतार दाबी गर्ने एक अपराधीले एक किशोरी माथि बोक्सीको आरोप लगाएर मरणासन्न हुने गरी कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । मिडियाले समाचार बनायो । यो घटनापछि प्रहरीले पीडकलाई पक्राउ ग¥यो । तर, कानुनी कारबाहीको सट्टा स्थानीय नगरप्रमुखको रोहोबरमा प्रहरीले मेलमिलाप भन्दै पीडकलाई उन्मुक्ति दियो । स्थानीय बासिन्दा धेरैजसो पीडकको पक्षमा चौकी घेराउ गर्न आएको र नगरप्रमुखले समेत मेलमिलापका लागि दबाब दिएको दाबी प्रहरीले गरे पनि घटना अन्तर्राष्ट्रिय करण भइसकेकोले कानुनअनुसार अघि बढ्न प्रहरी बाध्य भयो ।

मुलुकका दूरदराजमा अझै पनि बोक्सी प्रथाको अन्धविश्वास कायमै रहेको समाचार नयाँ होइनन् । बोक्सी मन्त्र सिक्नका लागि मानिसलाई नै बली दिइने गरिएको समाचार पनि आउने गरेका छन् । केही वर्षअघि राजधानी काठमाडौंको स्वयम्भू क्षेत्रबाट एकजना धामीलाई नरबली दिने तयारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । हिन्दू धर्मको मूल ग्रन्थ वेद हो । यस्ता अन्धविश्वास चिर्न कै लागि वेद ग्रन्थलाई ऋषिमुनिहरूले लिपिबद्ध गरेका हुन् ।

तर, अहिले पनि हिन्दूधर्म सम्प्रदायमै अन्धविश्वास तथा गलत संस्कार हाबी छन् । इसाईहरूले यसैलाई आधार बनाएर हिन्दू धर्मको गलत व्याख्या गरिरहेका छन् । वैदिक सनातन धर्मका ज्ञाता वासुदेवकृष्ण शास्त्रीले एक लेखमा व्याख्या गरेका छन्–‘ मानिस भित्र काम, त्रोध, लोभ सबै निहित हुन्छ । बलि चढाउने भनेको मानिस भित्र रहेको काम, त्रोध, लोभ, मोहलाई त्याग्ने भनेको हो । मानिस अर्थात् नरभित्र रहेको नकारात्मक भाव अर्थात अवगुणहरूको बलि चढाउने कुरा हाम्रो शास्त्रले गरेको छ । तर, दिग्भ्रमित कतिपय मानिसले कुरा नबुझेर मानिसकै बलि चढाउन थाले ।’

जतिसुकै कडा कानुन बनाए पनि, सामाजिक चेतना जगाउने नाममा जतिसुकै बजेट खर्च गरिए पनि यस्ता अन्धविश्वास ज्यँुका त्युँ छन् । राजधानी काठमाडौंमा समेत प्रहरीका सामुन्ने यस्तो घटना भएको देखिइसकेपछि दूरदराजको दुहाई दिएर समाचार लेख्नु, टिप्पणी लेख्नु बेकार हो । यस मामिलामा शिक्षाको मुख नदेखेका गाउँघरका बिचराहरूलाई दोष दिनु बेकार हो । मुख्य दोषी हाम्रो संस्कार नै हो । टाढा जानै पर्दैन, त्यही भद्रकाली मन्दिरमा गएर हेर्दा हुन्छ । त्यहाँको ढुंगोलाई भगवान भन्दै ढोग्ने, पैसा चढाउने र बली दिनेहरूको अनुहार र हाउ भाउ हेर्ने हो भने छर्लंग हुन्छ ।

धेरै जसो पढेलेखेका, देश विदेश घुमेका र राज्य सञ्चालनको जिम्मेवार तहमा रहेका हरू नै देखिन्छन् । पहिलो कुरा त ढुंगो वा मूर्तिलाई भगवान वा भगवानको अवतार मान्नु हिन्दू धर्मशास्त्रको मूल ग्रन्थ वेदको विरूद्ध छ । तर, अवतार मान्न वा अवतारको कल्पना गर्न पाइन्छ । यदी ढुंगा वा मूर्ति भगवानकै अवतार हो भने पनि पैसा चढाउन किन प¥यो ? भोग वा बली दिन किन प¥यो ? यदी भगवान नै हुन भने दुख कष्टबाट यसै उद्धार गर्छन् । सज्जनलाई दुख कष्टबाट उद्धार गर्ने र दुर्जनलाई दण्डस्वरूप झन् दुःखकष्ट दिनेलाई भगवान भनिन्छ ।

धन सम्पत्ति चढाए वापत दुर्जनलाई पुरस्कृत गर्ने र धनसम्पत्ति नचढाएबापत सज्जनलाई दण्डित गर्ने काम भगवानबाट हुँदैन भन्ने सामान्य चेतनासमेत पढेलेखेका कतिपय व्यक्तिहरूसँग छैन भने अनपढ तथा अज्ञानीको के कुरा गर्नु ? दुख कष्टबाट उद्धार गरेबापत वा गर्नका लागि कसैले धन सम्पत्ति बली या भोग लिन्छ भने त्यो भगवान होइन । आर्थिक लेनदेन त कि पारिश्रमिकबापत हुन्छ कि त सेवाका लागि वा कुनै स्वार्थ तथा घुसबापत हुन्छ ।

केही दिएबापत पारिश्रमिक लिने वा घुस लिनेलाई भगवान भनिन्न । तर हाम्रो देशका कतिपय सचेत, पढेलेखेका तथा राज्य सञ्चालनको तहमा बसेकाहरूमा समेत मूर्ती या ढुंगालाई भगवानको अवतार भन्दै पारिश्रमिक वा घुस दिने संस्कार जिवितै देखिन्छ । करोडौँ घुस खाए पनि हजार रूपैयाँ मन्दीरमा लगेर चढायो भने धर्म हुने अन्धविश्वास हामी कहाँ व्याप्त छ । मूर्तीलाई समेत घुस खुवाउने संस्कार बोकेको हाम्रो समाजका अगुवा भन्नेहरूले शक्ति केन्द्रमा रहेको व्याक्तिलाई रिझाएर आफ्नो स्वार्थ सिद्धिका लागि के सम्म गर्दैनन् होला ? हामीले मानिआएको वैदिक सनातन धर्म परम्परा कहीँबाट संकटमा परेको छ भने हामीभित्र रहेको यही कुसंस्कार र अन्धविश्वासकै कारण परेको छ ।

जादू टुना गर्नु वा मन्त्र–तन्त्रद्वारा आफ्नो स्वार्थ सिद्ध गर्नु वा अरू कसैलाई नोक्सान पु¥याउनु हिन्दू धर्मको अंग हँुदै होइन । ग्रह–नक्षत्र पूजा, वशीकरण, सम्मोहन, मारण, ताबिज (बुटी), स्तम्भन, काला जादू आदि सबै कुरा वैदिक मत अनुसार निषेध गरिएको छ । यी सबै किसिमका विद्याहरू स्थानीय परम्पराका हिस्सा हुन्, हिन्दूधर्मका अंग होइनन् । अथर्ववेदमा यस खालका विद्यालाई देखाउँदै के भनिएको छ भने समाजमा यस्ता विद्याहरू पनि प्रचलित छन्, जुन वेदविरूद्ध छन् । वेदको लक्ष्य के हो भने मानिसहरूलाई स्वस्थ बनाई राख्नु, जीवनलाई सरल बनाउनु, ज्ञानको अभिवृद्धि गर्दै जानु, मानिस तथा समाजलाई नोक्सान हुने गतिविधि नगर्नु ।

मान्छे बढो विचित्रको प्राणी हुँदो रहेछ । जे नगर्नू भन्यो, त्यही गर्नु पर्ने, जे नमान्नू भन्यो, त्यसैलाई मान्ने । गौतम बुद्धले मूर्ति पूजाको विरोध गरे । संसारमा उनकै धेरै र ठूला मूर्ति पाइन्छन् । बुद्धले ज्ञान शास्त्रबाट होइन, ज्ञान आफैँभित्रबाट पाइन्छ भने तर आज सबै बौद्धमार्गी उनका विचारलाई सूत्रका रूपमा बुझ्दछन् । बुद्धले जीवन जिउने कला सिकाए । तर, मानिस त्यसलाई धर्मको रूपमा बुझ्दछ । बुद्ध दर्शन कुनै धर्म होइन तर पनि यसलाई धर्म बनाइयो । बुद्धले जीवनको सम्बन्धमा गरेको व्याख्या आज पनि त्यत्तिकै सान्दर्भिक छ ।

यसैगरी, चन्दन लगाउने प्रचलन दक्षिण भारतमा विकास भएको मानिन्छ । गर्मी समयमा मष्तिस्कलाई ठण्डा र तेजिलो बनाउन चन्दनको प्रयोग गर्ने परम्परा विकास भएको हो । चन्दन वासनादार पनि भएकाले यसको प्रयोग वैज्ञानिक मान्न सकिन्छ । तर, आज आफूलाई धार्मिक देखाउन चन्दन लगाउने गरिन्छ । धर्मका नाममा ठाडा, तेर्सा धर्के चन्दनको टिका लगाउने चलन बढेको छ ।

प्रतिक्रिया