बाग्लुङ । जिल्लाको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्यचौकीमा भेटिइन् । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उनी खुंखानी स्वास्थ्यचौकी पुगेकी हुन् ।
एक छोरा र दुई छोरीकी आमा उनले परिवार नियोजनको अस्थायी साधनहरू प्रयोग गर्दै आएकी छन् । एक वर्ष पहिलेसम्म डिपो सुई लगाएकी उनले इम्प्लान्टको प्रयोग गरेको एक वर्ष मात्रै भयो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार उनले इम्प्लान्ट लगाएकी हुन् । नरदेवीले दुई सन्तान मात्रै जन्माउने भन्दाभन्दै तीन सन्तान भए । नरदेवीले तेस्रो सन्तान जन्मेपछि पतिलाई स्थायी बन्ध्याकरणका लागि अनुरोध गरिन् तर उनले मानेनन् ।
‘बच्चा धेरै जन्माउँदा हुर्काउन साह्रै गाह्रो हुन्छ, पाउनै मुस्किल छ, उनलाई के थाहा’, नरदेवीले भनिन्, ‘खुन (रगत) को आहालमा घरिघरि बस्न सक्दिनँ भनेर बन्द गर्न भनेँ तर मानेनन्, अनि त आफैँ यहाँ आएँ ।’ अस्थायी साधनको प्रयोग गर्दा कतिपय महिलामा महिनावारी नियमित नहुने, महिनावारी हुँदा धेरै रगत बग्ने, टाउको दुख्ने स्ता समस्या देखिने गरेको उनीहरू बताउँछन् ।
नरदेवी जस्तै खुंखानी स्वास्थ्यचौकीको सेवा क्षेत्रमा रहेका झन्डै डेढ सय महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्छन् । पुरुषले बन्ध्याकरण गर्न नमानेकै कारण परिवार नियोजनका अस्थायी साधनको भर गर्दै आएको नरदेवी बताउँछिन् । खुंखानी स्वास्थ्यचौकीको तथ्यांकअनुसार अहिले पनि २२ महिलाले पिल्स, ४१ ले डिपो र ५९ ले इम्प्लान्ट नियमित प्रयोग गर्दै आएका छन् ।
स्वास्थ्यचौकी प्रमुख दीपक पौडेलका अनुसार कण्डम प्रयोग गर्नेको भने स्वास्थ्यचौकीले तथ्यांक राखेको छैन । त्यो बाहेक निजी स्वास्थ्य क्लिनिक र अन्य स्वास्थ्य संस्थामा पुगेर सेवा लिनेहरू पनि छन् ।
खुंखानीका महिलाहरुमा दुई सन्तान मात्रै जन्माउनुपर्छ भन्ने चेतना छ । दुईभन्दा धेरै सन्तान नपाउनका लागि उनीहरू आफैँ अनेक उपाय लगाउँछन् । घाँस दाउरा गर्दा होस् वा मेलापात गर्दा एक अर्कामा जानकारी गराएर महिलाहरूकै बीचमा परिवार नियोजनका विषयमा जानकारी आदानप्रदान हुने गरेको स्थानीय आशकुमारी सिर्पालीले बताइन् ।
सन्तानको रहर पुगे पनि पुरुषहरूले अस्थायी साधन प्रयोग गर्न झन्झट मान्ने गरेका कारण महिलाहरूले नै अस्थायी साधनको प्रयोग गर्ने गरेको नरदेवीले बताइन् । ‘कमाउन विदेश जानुपर्छ, साह्रो काम परो भने कठिन हुन्छ भनेर लोग्नेमान्छेहरू बन्द गर्नै मान्दैनन्’, उनले भनिन्, ‘घर बसे भने केही होला भन्ने डरले स्वास्थ्यचौकी दगुर्न परेको छ ।’ स्थायी बन्ध्याकरण गर्दा शरीर कमजोर हुने र गह्रौँ काम गर्न नसकिने भ्रमका कारण पुरुषहरूले बन्ध्याकरण गर्न नमान्ने गरेको उनले सुनाइन् ।
वेलावेलामा स्वास्थ्यचौकीले आयोजना गर्ने स्थायी बन्ध्याकरण शिविरमा पनि महिलाहरूकै उल्लेख्य उपस्थिति रहने गरेको छ । ‘शिविर भयो भने पनि मिनिल्याप गर्नेको संख्या धेरै हुन्छ’, खुंखानी स्वास्थ्यचौकीका अनमी माया घर्तीले भनिन्, ‘पुरुषहरू आउनै मान्नुहुन्न ।’
महिलाहरूले प्रयोग गर्ने अस्थायी साधनहरू केही समयसमयमा परिवर्तन गरिरहनुपर्ने हुन्छ । तीन महिने डिपो सुई प्रत्येक तीन महिनामा लगाउनुपर्ने भएकाले झुक्किएर कहिलेकाही गर्भ रहने समस्या रहेको नरदेवीले बताइन् । स्वास्थ्यचौकीले वेलावेलामा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर बन्ध्याकरणका विषयमा जानकारी गराउने गरेको छ ।
‘हामीले स्थायी बन्ध्याकरण गर्दा कुनै असर पर्दैन भनेर जानकारी गराइरहेका छौँ’, स्वास्थ्यचौकी प्रमुख पौडेलले भनिन्, ‘यहाँ त महिलाहरूले नै पति कमजोर हुन्छ, काम गर्न सक्दैन भनेर आफैँ बन्ध्याकरण गर्न आउने गरेको पनि पाएका छौँ ।’ परिवारको आकार सानो बनाउन स्थानीय सबैमा चेतना भएको भए पनि बन्ध्याकरणका विषयमा केही गलत धारणा रहेको पौडेलले औँल्याए ।
प्रतिक्रिया