बर्सेनि विरुवा वितरण, उपलव्धि शून्य

मुगु । जिल्ला कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुद्वारा बर्सेनि सुन्तला, कागतीका विरुवा वितरण हुँदै आए भए पनि उपल्बधि शून्यसरह छ । सुन्तला र कागतीका विरुवा किसानले बर्सेनि लिने गरेका छन् । लगेका विरुवा किसानहरूले बारीमा रोप्ने गरेका भए पनि अहिलेसम्म कुनै ठाउँमा कागती, सुन्तलाको पकेट क्षेत्र छैन ।

किसानहरू विरुवा लिन्छन्, विरुवा रोप्न नजानेर हो वा अन्य कुनै कारण रोपेका विरुवा बारीमा कुहिने गरेका छन् । लगिएका विरुवा मध्ये एक÷दुई बचे पनि छाडा पशुचौपायाका कारण विरुवा बचाउन नसकिएको किसानहरू बताउँछन् । यता जिल्ला कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुका निमित्त कार्यलय प्रमुख सुकिराम नेपालीका अनुसार किसान बदमासी भएर यस्तो भएको बताए । किसानहरूले विरुवा माग गर्छन् तर, अन्य किसानलाई एक÷दुई गर्दै विक्री गर्ने गरेकाले उपलब्धी नदेखिएको उनको भनाइ छ ।

यो वर्ष पनि प्रदेश मन्त्रालयको कार्यक्रमअनुसार कागती, सुन्तलाका विरुवा वितरण भएको र समूह सहकारी र उद्यमीहरूले माग गरेका विरुवाको सदुपयोग भएनभएको अनुगमन गर्ने निमित्त प्रमुख नेपालीले बताए । उनका अनुसार विरुवाको सदुपयोग नभएको भए त्यस्ता किसानलाई कालो सूचीमा राख्ने सोर्य दैनिकलाई जानकारी दिए ।

जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुमकार्मारोङ गाउँपालिका र खत्याड गाउँपालिकाका समूह सहकारी, उद्यमीहरूलाई माग गरेअनुसार कागती सुन्तलाको विरुवा वितरण गरिएको कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुले जनाएको छ । समूह सहकारी र उद्यमीहरूलाई ७५ प्रतिशतका दरले अनुदान सहुलियतमा वितरण गरेको र अन्य किसानलाई २५ प्रतिशतका दरले अनुदानमा विरुवा वितरण गरिएको निमित्त प्रमुख नेपालीले बताए ।

सुन्तला, कागतीका विरुवा कर्णाली प्रदेशको दैलेख जिल्लाको मध्य पहाडीबाट सुन्तला ६ हजार १ सय कागती ५ हजार ८ ल्याएको जिल्ला कृषि ज्ञानकेन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुले जनाएको छ । विरुवा वितरण तीन दिनदेखि जारिरहेको जनाइएको छ ।

प्रतिक्रिया