व्यवस्थापन नसुध्रिएसम्म रकम दिन्न- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले व्यवस्थापन चुस्त नबनाउने हो भने सरकारले सदैव घाटा व्यहोर्दै रकम मात्र दिइनरहने स्पष्ट पारे ।

निगमको ६१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत सार्थक तुल्याउन नेपाल एयरलाइन्सको महत्वपूर्ण भूमिका रहने भन्दै सम्पूर्ण जहाजलाई पूर्ण क्षमताका साथ उडाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । आर्थिकरूपमा कमजोर बनेको निगमको अवस्थालाई उकास्न सरकारलगायत सबै क्षेत्रको सक्रियता हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले निगमको आर्थिक सबलीकरणका लागि सरकारले पूर्ण सहयोग गर्ने तर अहिलेकै अवस्थामा पैसा दिन नमिल्ने बताए ।

‘व्यवस्थापनले सञ्चालनको ठोस योजना ल्याउनुपर्छ, अहिलेकै अवस्थामा चलाउन सकिन्न भने रणनीतिक साझेदार पनि खोजौँ, यथास्थितिमै पैसा दिन सकिन्न, व्यवस्थापन सञ्चालनको सुव्यवस्थाविनै पैसा दिन मिल्छ भन्नेमा मलाई विश्वास छैन’, उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले अन्य निजी वायु सेवा प्रदायक कम्पनी नाफामा रहने तर निगमचाहिँ सधैँ घाटामै रहिरहनुपर्ने अवस्था किन आयो भनी प्रश्न गर्दै आर्थिक अवस्था सुधार्न सरकारले आवश्यक परे हस्तक्षेप गरेर भए पनि निगमको साख जोगाउने विश्वास दिलाए । आर्थिकरूपमा कमजोर बनेको निगमले सञ्चित पुँजी वृद्धिका लागि सरकारसँग रू २० अर्ब माग गरेको छ ।

निगमले अहिले रू ३७ अर्ब घाटामा रहेको जनाएको छ । भएका जहाज पनि सञ्चालन नभइरहेको अवस्थामा निगमका कर्मचारी संगठनका प्रतिनिधिले भने आगामी पाँच वर्षमा २५ वटा जहाज खरीदका लागि सरकारसमक्ष आग्रह गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले निगमको प्रभावकारी व्यवस्थापन नभएसम्म जहाज मात्र किनेर थन्क्याउने पक्षमा सरकार बिलकुल नभएको प्रष्ट पारे ।

निगमको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय उडानबाट निगमले चालू आवको चैतसम्ममा रू सात अर्ब ५४ करोड १० लाख ३८ हजार सञ्चालन नाफा कमाएको छ । निगमले गत आवको सोही अवधिमा रू तीन अर्ब ८४ करोड ७१ लाख १५ हजार आम्दानी गरेको थियो । यात्रु सख्याको आँकडा हेर्दा गत वर्ष २०७४ साउनदेखि २०७५ जेठसम्म तीन लाख ४८ हजार ५२८ यात्रुले निगमको अन्तर्राष्ट्रिय उडानमा यात्रा गरेका छन् ।

यस वर्ष सोही अवधिमा पाँच लाख ६९ हजार ३४ यात्रुले यात्रा गरका छन् । यो आँकडा अघिल्लो वर्षको तुलनामा ६३.५ प्रतिशतले बढी हो । सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवामा निगम पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७३ यात्रुलाई सेवा पु¥याई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत पु¥याउन सफल भएको छ ।

निगमले हाल दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रियतर्फ छ देशका आठ गन्तव्यमा उडान भर्दै आएको छ । आन्तरिकतर्फ दुई एम–६०, चार वाई–१२ र तीन डिएचसी–६ गरी जम्मा नौ जहाजमार्फत २२ विमानस्थलमा सेवा सञ्चालन गर्दै आएको छ । निगमले नेपाल आउने ३० विदेशी वायु सेवा प्रदायक कम्पनीलाई भूमिस्थ प्रबन्ध सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया