काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र लाइसेन्सको लागि खुलाएको विज्ञापनको फारम भर्ने मिती लम्ब्याएको छ । आयोगले असार २२ गते सम्म फारम भर्न सकिने गरि खुलेको विज्ञापनको म्याद थपेर असार २९ गतेसम्म आवेदन दिन सक्ने बनाएको हो ।
आयोगका अनुसार दोब्बर दस्तुर तिरेर साउन ५ गते सम्म फारम भर्न सकिने छ । यस अघि दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने गरी विज्ञापन खोलिएको थियो । लामो समय देखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन, आयोगले गएको असार २ गते खोलेको थियो ।
माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको छ । जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि पनि समेटिएको छ । आइतबार उच्च माध्यमिक तहमा अध्यापन गर्दै आएका शिक्षकहरुले अध्यापन अनुमती पत्र (लाईसेन्स) का लागि खुलेको विज्ञापन स्थगन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको भोली पल्ट आयोगले उक्त निर्णय गरेको हो ।
माध्यमिक विद्यालय शिक्षक युनियनले सेवा आयोगका पदाधिकारीलाई आईतबार ज्ञापनपत्र बुझाउँदै आयोगले हालै खुलाएको विज्ञापन नं ३५ बमोजिमको अध्यापन अनुमती पत्रका सम्वन्धमा युनियनको ध्यानाकर्षण भएको जनाएको थियो ।
आयोगले विज्ञापन नम्बर ३५ का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णांक सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरुमध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया