काठमाडौं । एक सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आइतबारबाट उठ्ने भएको छ । सिसडोल व्यवस्थापन संघर्ष समितिले विभिन्न माग राख्दै फोहोर उठाउन रोकेपछि फोहोर उठ्न सकेको थिएन ।
संघर्ष समिति र काठमाडौं महानगरपालिकाबीचको वार्ता सकारात्मक भएसँगै फोहोर उठ्ने भएको हो । वार्ता टोलीले समस्या पहिचान गर्न र समाधानको उपायका लागि १३ सदस्यीय टोली गठन गरी आवश्यक पहल गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको फोहोर व्यवस्थापन चुनौतीको विषय भएको भन्दै आगामी दिनमा अब समस्या ननम्तिने दाबी गरे ।
उनले विगतमा भएका केही सहमतिहरु कार्यान्वयनमा कठिनाइ भए पनि अहिले संघर्ष समितिसँगको वार्ता सकारात्मक भएको र स्थानीयले सहमति जनाएको बताउँदै उनीहरुको माग सम्बोधन गर्न महानगर प्रतिवद्ध रहेको जनाए ।
केही दिन अघि संघर्ष समितिले काठमाडौंमा कार्यक्रम गरी गत विहीबारबाटै फोहोर उठाउने कार्य बन्द गरेको जानकारी दिएको थियो । समितिले ओखरपौवा सिसडोलमा फोहोर खसाल्न रोकेको र सधैंको लागि बन्द गर्ने समेत चेतावनी दिएको थियो ।
प्रतिक्रिया