काठमाडौं । नेपाल र नेपाली भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी वाङमय पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ ।
प्रतिष्ठानले आइतबार ललितपुरको बखुम्बहालस्थित निवासमै पुगेर जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरेको हो । नेपाल र नेपाली भाषा, कला तथा संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले संस्कृतिविद् जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरिएको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले जानकारी दिए ।
कुलपति कर्माचार्यले जोशीले कलाका क्षेत्रमा योगदान दिएको चर्चा गर्दै भने, ‘नेपाली कला र संस्कृतिका क्षेत्रमा शताब्दी वाङमय पुरुष जोशीले महत्वपूर्ण योगदान दिनुभएको छ । साथै नेपालको सम्पदा र पुरातत्वका क्षेत्रमा समेत वहाँको योगदान अतुलनीय रहेको छ ।’
प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले जोशी नेपालको जिउँदो सम्पदा रहेको बताउँदै भने, ‘नेपाली कला र संस्कृतिको विकासमा जोशीको योगदान अतुलनीय रहेको छ ।’ स्रष्टाको सम्मानले यस क्षेत्रमा लाग्ने प्रतिभालाई प्रोत्साहन मिल्ने बताउँदै उपकुलपति चित्रकारले जोशी नेपाली संस्कृतिका धरोहर रहेको बताए ।
कार्यक्रममा जोशीले देश र जनताको हितमा केन्द्रित हुने गरी कला क्षेत्रको विकासमा लाग्न ललितकलाकर्मीलाई आग्रह गरे । उनले भने, ‘नेपाली कलामा सौन्दर्य मात्र नभई मुलुकको समृद्धि, सभ्यता र संस्कृतिको विषयलाई समेत प्रभावकारी रूपले उठाउन कलाकारले जोड दिनुपर्छ ।’
उनले देशको समृद्धि सभ्यता र संस्कृतिमा निहित हुने भएकाले त्यसमा जोड दिएर काम गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । जोशीले कला क्षेत्रको विकासबाट मुलुकको राष्ट्रिय एकतालाई पनि बलियो बनाउन सकिने धारणा राख्दै कलाकर्मीले देशको सभ्यतालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया