कतै बाजागाजा त कतै सुनसान

विराटनगर । राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर महानगरपालिकाले शनिबार रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर–१८ स्थित फडानीमा महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, सञ्जयकुमार साह, विराटनगर महानगर कृषि शाखा प्रमुख खगेश्वर तिम्सिना लगायतले धान रोपाइँको शुभारम्भ गरेका थिए । बाजागाजा गीतसंगीतका साथ रोपाइँ सुरु भएको थियो । महानगरको रोपाइँ कार्यक्रममा कृषकहरू समेत सहभागी भई धान रोपाइँमा सहभागी भएका थिए ।

विराटनगर महानगरका १८ र १९ नम्वर वडाका क्षेत्रहरूलाई कृषिको मुख्य आधार बनाएर विभिन्न योजनाहरू अघि सारिएको महानगर प्रमुख पराजुलीले बताए । दुवै वडामा पाँच हजार हेक्टर बढी कृषियोग्य भूमि भएकाले त्यसलाई व्यवस्थित गरेर कृषि परियोजना सञ्चालनमा ल्याउने महानगरपालिकाले तयारी सुरु गरेको उनको भनाइ थियो ।

महानगरपालिकाका उपप्रमुख कार्कीले महानगरभित्रका उब्जाउ जमिनलाई बाँझै नराख्न र त्यस्ता जमिनमा केही न केही उत्पादनमूलक कृषिवाली लगाउन आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कृषकका आधारभूत आवश्यकता पूरा गर्न महानगर प्रतिवद्ध रहेको बताए । सो अवसरमा विराटनगर महानगरका किसानहरूले गुणस्तरीय बिउवीजन साथै मलखाद्य समयमा नपाउने र किटनासक औषधिको समेत अभाव रहेको गुनासो गरेका थिए ।

मुगुमा ७५ प्रतिशत धान रोपाइँ
यस्तै हिमाली जिल्ला मुगुमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र जुम्ला सम्र्पक केन्द्र मुगुका अनुसार रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ ।

अधिकांश पाखो जमिन भएकाले मुगुमा खासै रोपाइँ हँुदैन । सिँचाइ सुविधा भएका स्थानमा रोपाइँ धमाधम भइरहेको कृषि ज्ञान केन्द्र जुम्ला, सम्पर्क केन्द्र मुगुले जनाएको छ । मुगुमा जेठ महिनादेखि रोपाइँ सुरु भएको सम्र्पक केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख सुकिराम नेपालीले बताए ।

उनका अनुसार मुगु जिल्लाको ३ लाख १० हजार ३ सय १० हेक्टर जमिन मध्ये १९ हजार ३ सय ४० हेक्टर जमिन खेतीयोग्य भएको बताए । त्यसमध्ये १८ हजार ४ सय २१ हेक्टर जमिनमा खेती गरिएको बताउदै निमित्त प्रमुख नेपालीले सिँचाइयोग्य जमिन १९ सय २९ हेक्टर क्षेत्रफलमा रहेको बताए ।

मुगु जिल्लाको खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकामा ७० प्रतिशत रोपाइँ सकिएको बताए । अन्य गाउँपालिका सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा कति प्रतिशत रोपाइँ भयो भन्ने जानकारी प्राप्त नभएको प्रमुख नेपालीको भनाइ छ । असारदेखि साउनको पहिलो सातासम्म रोपाइँका लागि उपयुक्त समय मानिने गरिएको कृषि ज्ञान केन्द्र मुगुले जनाएको छ ।

सम्पर्क केन्द्रले ७५ प्रतिशत रोपाइँ सकिएको बताए पनि आकासे पानीको भरमा खेती गर्नुपर्ने अवस्थामा अहिलेसम्म पानी नपर्दा किसानहरूले खेत रोप्न सकेका छैनन् । हरेक वर्ष १५ असारलाई धान दिवस मनाउनुपर्ने भए पनि यो वर्ष भने मुगुमा दिवसको कुनै चहलपहल नै देखिएन ।

प्रतिक्रिया