तयार भो विमानस्थलको रनवे

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवे सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । चैत १८ गतेदेखि १४ घण्टामात्र खुलाएर थालेको रनवेको निर्माण आइतबार रातिबाट सकिएको छ ।

जटिल मानिएको तीन हजार ५० मिटर लामो धावनमार्ग मर्मतको काम तोकिएको समयमा नै पूरा गरेर काम नहुने प्रवृत्तिमा सुधार आएको उदाहरण प्रस्तुत भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य आइतबार राति पूर्णरुपमा सम्पन्न भएको बताए ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या पर्दै आएको थियो । विशेषगरी वर्षायाममा बढी समस्या देखिन्थ्यो । मालिन्दो र टर्किस एयरलाइन्स दुर्घटनामा पर्दा लामो समयसम्म विमानस्थल बन्द भएको नमीठो उदाहरण सबैको दिमागमा परेकै थियो ।

चिनियाँ निर्माण कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इञ्जिनियरिङ कर्पोरेशनले सरकारको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर तोकिएको समयमा नै सम्पन्न गरेको छ । बाँकी रहेको छिट्फुट काम भने केही बाँकी रहे पनि त्यसलाई पनि छिट्टै सम्पन्न गरिने बताएको छ ।

निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित चार अर्ब २७ करोड रुपैयाँमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो । मर्मत कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनियरिङ कर्पोरेसन कोरियाले जिम्मा लिएको थियो । धावनमार्ग मर्मतको काम कोटेश्वरतर्फको ‘जिरो टू’देखि सुरु गरिएको हो । प्राधिकरणका अनुसार एक हजार ६ सय मिटरसम्म धावनमार्गमा अत्यन्तै बिग्रिएको थियो ।

विमानस्थल मर्मतमा पहिलो पटक ‘मेलिङ मेसिन’ प्रयोग भएको प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पोखरेल बताउँछन् । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो ।

दैनिक ८० देखि सय मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामग्री फालेर विभिन्न तहमा निर्माण सामग्री राखिन्थ्यो । राति भत्काइएको धावनमार्ग बिहान ८ बजे उडान तथा अवतरणका लागि जस्ताको तस्तै बनाइयो । हाल यो विमानस्थलबाट १९ सिट क्षमताका साना देखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् ।

विमानस्थलबाट हाल सय भन्दा बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर चार सय उडान हुने गरेका छन् । धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती गरियो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विश्वास लिइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसमेत राखेको सन्दर्भमा विमानस्थल २४सै घण्टा पूर्ण सञ्चालनमा आउनु देशकै लागि पनि सुखद खबर हो । यसले नेपालमा समयमा काम हुँदैन भन्ने आम सोचाइमा समेत परिवर्तन ल्याइदिएको छ ।

रन वे र ट्याक्सी वे को मर्मतको जिम्मा पाएको चिनिया कम्पनीले रन वे को काम लगभग सकेको छ । अर्को हप्तासम्म रन वे को पिच परिवर्तन गर्ने मात्रै नभई फिनिसिङको काम पनि सकिँदैछ । तर ट्याक्सी वे को काम भने बाँकी नै छ । तर बर्खा लागिसकेकाले ट्याक्सी वे को काम सेप्टेम्बरदेखि मात्रै सुरु हुने भएको छ । ‘सेप्टेम्बर १ तारिख देखि डिसेम्बर ३१ तारिखसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वे को काम गछौँ, वर्खा लागेकोले अहिले काम गर्न गाह्रो छ’ विमानस्थल प्रमुख क्षेत्रीले भने ।

प्रतिक्रिया