खै संसदीय आचरण र मर्यादा ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी भनेको झण्डै पानी बारबारको अवस्था हो । एकपक्षले उठाएको विषयमा अर्को पक्षले नकरात्मक टिप्पणी गर्नु संसदीय धर्म भनिन्छ । संसद्मा वेला वेलामा सत्ता र प्रतिपक्षी सांसदबीच जुहारी चल्ने गरेको छ ।

प्रतिनिधिसभामा अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख विपक्षीमा नेपाली कांग्रेस रहेको छ । अन्य दल र केही स्वतन्त्र सांसद रहेपनि विशेषगरी दुई दलबिच जुहारी चल्ने गरेको छ । तर, पछिल्लो समय उनीहरूले आफ्ना मर्यादा बिर्सिएर कतिपय अवस्थामा त रेकर्डबाटै हटाउनुपर्ने प्रकारका शब्दसमेत बोल्ने गर्छन् ।

केही समय अगाडी संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेको ‘निम्छरो’ शब्द र त्यस समय नेपाली कांग्रेसका सांसदले प्रयोग गरेका शब्दका विषयमा निकै खुब चर्चा भयो । कांग्रेसले त संसदनै अवरुद्धसमेत गर्यो । दुवैले संसदीय मर्यादा बाहिर गएर आफ्ना विचार राखे । जुन शब्द सभामुख कृष्णबहादुर महराले पछि रेकर्डबाट हटाउन निर्देशन नै दिए ।

असार ८ गते पुन अर्को घटना घट्यो । सांसदमा देखिने चेतनाको कमी र ‘हिट’ हुने मनोकाक्षांका साथ निकै तल्लो स्तरका शब्द प्रयोग गरे । संसद्को सो बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच त्यस्तै एउटा विषयमा जुहारी चल्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघि ‘करप्रसाद’को उपमा पाइसकेको र अब ‘झुटप्रसाद’ ओली भन्दा फरक नपर्ने बताए ।

‘यो सरकारले सिन्डिकेट अन्त्य होइन, प्रोत्साहित गरेर आफू झुट साबित भएको छ’, सांसद चौधरीले भने, ‘जथाभाबी कर निर्धारण गरेर ‘करप्रसाद’ ओलीको उपमा पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारबाही हेर्दा उहाँले सधैं झुटको आश्वासन दिने, झुटको खेती गर्ने भएकाले उहाँको नाम ‘झुटप्रसाद’ ओली उपमा दिँदैमा केही फरक पर्नेवाला छैन ।’

जवाफमा सत्तापक्षका सांसद झपट रावलले चौधरीले प्रयोग गरेको भाषा सभ्य र मर्यादित नभएको भन्दै संसदको रकेर्डबाट हटाउन माग गरे । तर, उनले पनि गलत शब्दको प्रयोग गर्न भने छुटाएनन् । ‘हामीले बोल्ने भाषा सभ्य र सुसंस्कृत हुनुपर्छ । हामीले यहाँ बोलेको कुराबाट जनताले के सिक्ने हेक्का राख्नुपर्छ’, नेकपा सांसद रावलले यो भनाई सिकाउँदै गर्दा आफुले नै मर्यादा भुले र भने, ‘प्रधानमन्त्री केपी ओलीलाई ‘करप्रसाद, झुटप्रसाद’ भन्नुभएको छ । हामीले पनि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न बाध्य भयौँ भने के हुन्छ ?’

यी शब्दावली त सांसदले प्रयोग गरेका केही अंश मात्र हुन् । संसदीय अभ्यास र त्यहा बोलिने भाषाले कुनै पनि देशको संसद्को मात्र नभएर लोकतन्त्रको समेत स्तर तथा अवस्था निर्धारण गर्छ । संसदीय आचरण र संसदीय मर्यादाको स्तरले कुनै पनि देश र समाजको स्तर पनि दर्शाउँछ ।

आजकाल हाम्रो संसदमा संसदीय गरिमा घटाउने किसिमका कार्यव्यवहार तथा बोलिवचन देखिन सुनिन थाल्दा सबै आश्चर्य चकित पर्न थालेका छन् । नेपालसँग लामो संसदीय परम्परा छ । त्यसमा निखारिएका पार्टी र तिनका सांसद संसदमा छन् अहिले । २०१६ सालबाट सुरु भएको नेपालको संसदीय अभ्यास बीचमा अवरुद्ध हुन पुग्यो । तथापि, पञ्चायतकालीन राष्ट्रिय पञ्चायत पनि एक प्रकारको जनप्रतिनिधिमूलक संस्था थियो । त्यहाँ पनि सार्वजनिक नैतिकतामा बाँधिएर छलफल हुन्थ्यो ।

२०४७ सालबाट नेपालमा लगभग अविच्छिन्न संसदीय अभ्यास चलिरहेछ । नेपालको पछिल्लो संसदीय अभ्यास लगभग तीन दशकको भइसकेको छ । यो तीन दशकमा देशले संसदीय अभ्यासका उच्चतम् र निचतम् अनेक रूप देखिसकेको छ । संसद् छलफल गर्ने सबैभन्दा ठुलो थलो हो । त्यहा हुने छलफल मर्यादित र संयमित हुनुपर्छ । जसलाई सारा विश्वले हेरिरहेको हुन्छ । संसदीय छलफल हेरेर समाजले पनि मर्यादा सिक्न सकुन् भन्ने ध्येय सांसदले राख्नुपर्ने भाषाविज्ञहरू बताउछन् । संसदमा निजी गालीगलौज वर्जित हुन्छ । तर, पनि वेलाबखतमा यस्ता भाषा र अभ्यास हुने गरेका छन् ।

त्यस्ता भाषा र अभ्यास गर्ने सांसदलाई कारवाही गर्ने र सही बाटोमा ल्याउने जिम्मेवारी प्रतिनिधिसभामा सभामुखको र राष्ट्रिय सभामा अध्यक्षको हो । मर्यादाच्यूत अभिव्यक्तिका घटना राष्ट्रिय सभामा विरलै देखिएको छ तर प्रतिनिधि सभालाई भने गालीगलौजको अखडा बनाइँदै छ । प्रतिनिधिसभामा हुलहुज्जतका घटनासमेत वेलाबखत हुने गरेका छन् । प्रत्येक दलले आफ्ना सांसदलाई यी विषयमा पाठ पढाउन जरुरी रहेको पनि कतिपयको भनाइ रहेको छ ।

प्रतिक्रिया