कास्की । नेपालको मौलिक कलाकारूपमा परिचित परम्परागत थांका तथा पौभा कलाका विषयमा बहस भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत शिल्पकला विभागको आयोजना तथा हिल प्वाइन्ट माविको सहआयोजनामा ‘नेपाली परम्परागत पौभा-थांका चित्रकलाको शिल्प’ विषयक अन्तक्र्रियामा वक्ताले नेपालको मौलिक कलाको रूपमा परम्परागत कला विश्वमा चिनिएको बताए ।
हिल प्वाइन्ट मावि माटेपानी पोखरामा भएको कार्यक्रमको उद्घाटन गर्दै अग्रज कलाकार दुर्गा बरालले परम्परागत कला नै नेपाली कलाको जग भएको जिकिर गरे । उनले नेपाली कलाको आत्माको रूपमा परम्परागत कला रहेको बताउँदै भने, ‘परम्परागत कलाको जगबाट नै अरू कलाको विकास भएको हो । यसलाई हामीले बिर्सनु हुँदैन । संरक्षण, प्रवद्र्धन र प्रचार प्रसार गर्नुपर्दछ ।’
उक्त कार्यक्रममा बरालले भूगोल र वातावरणले पनि कलाको शैलीमा प्रभाव पार्ने जिकिर गर्दै सांस्कृतिक जागरणका लागि कलाको महत्व विशिष्ट रहेको बताए ।
‘परम्परागत थांका÷पौभा चित्रकलाको शिल्प’ विषयक अन्तक्र्रियामा अग्रज कलाकार पूर्णप्रसाद ह्योजुले नेपाली परम्परागत कलाको इतिहास निकै पुरानो रहेको बताए । उनले ११औँ शताब्दीदेखि विकास भएका कलाका विविध शैली र प्रभावका बारेमा जानकारी दिँदै भने, ‘काठमाडौं उपत्यकामा १५–१६औँ शताब्दीमा नेवारी शैलीका कलाको चरम विकास भएको थियो । यसमा मुगल, राजस्थानी, पाल तथा सेन शैलीको प्रभाव परे पनि परम्परागत कलामा नेवारी शैलीको विकास भएको देखिन्छ ।’
उनले नेपालमा परम्परागत कला ध्यान र ज्ञानका लागि बनाइए पनि पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा समेत आकर्षणको विषय भएको बताए । उनले थपे, ‘पौभा तथा थांकाको विशिष्ट प्रकारको शैली, चिन्तन र मौलिकताका कारण विश्वकलामा भिन्न र प्रभावशाली कलाका रूपमा चिनिन सकेको हो । यसको विकासका लागि प्रभावकारी कार्य प्रतिष्ठानले गर्न सकेमा नेपाली मौलिक कलाको विकासले निकै छिटो फड्को मार्न सक्दछ ।’
त्यस्तै, कार्यक्रममा थांका कलाकार पदमबहादुर लामाले परम्परागत चित्रकला धार्मिक, आध्यात्मिक र राम्रो ज्ञान दिने खालको हुनुपर्ने बताए । उनले भने, ‘परम्परागत कलामा धन, इज्जत र भविष्य छ । कलाले देश र मानिसको इज्जत बढाउन महत्वपूर्ण खेल्दछ ।’ उनले परम्परागत कलाको विकासका लागि सबै कलाकार र प्रतिष्ठानले सकारात्मक पहलका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै कलाकार तथा लेखक देवेन्द्र थुम्केलीले परम्परागत कलाले नेपालको मौलिक पहिचान बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले परम्परागत कलाको विकास नेपालमा करिब दुई हजार वर्ष अघिदेखि भएको बताए । उनले भने, ‘नेपाल वार्षिक करिब २० अर्बको हस्तकलाका सामग्रीको निर्यात हुने अनुमान छ ।’
उपप्राध्यापक कृष्ण ओझाले नेपालको मौलिकता बोकेको परम्परागत कलाको विकासमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गहिरो अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए । उनले भने, ‘परम्परागत कलाको शैक्षिक तथा प्राज्ञिक विकासका लागि राज्यले काम गर्नुपर्दछ ।’
प्रतिष्ठानका परम्परागत शिल्पकला विभागका प्रमुख प्राज्ञ बुद्धि गुरुङले पोखरामा पहिलो पटक परम्परागत कलासम्बन्धी अन्तक्र्रिया कार्यक्रम भएको बताए ।
उनले आधुनिक र परम्परागत कलाकारको जमघटसँगै भएका छलफल तथा अन्तक्र्रियाले नेपाली कलाको विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे । उनले भने, ‘पछिल्लो समय पोखरा कलाको केन्द्रका रूपमा अगाडि बढ्दै गएको छ । आगामी दिनमा गण्डकी प्रदेश नेपाली कलाको महत्वपूर्ण हबका रूपमा विकास हुने सम्भावना बढ्दै गएको छ ।’ उनले आगामी दिनमा परम्परागत कलालाई सातै प्रदेशमा प्रदर्शनी गर्ने योजना प्रतिष्ठानले राखेको जानकारी दिए ।
हिल प्वाइन्ट माविका प्रिन्सिपल दिवाकर जैसीले कलाले समाजलाई समृद्धिको दिशामा अघि बढाउन सहयोग गर्ने बताउँदै भने, ‘कलाको जग निर्माण गरी विकास गर्न लागि परम्परागत कलाको विकासमा ध्यान दिनुपर्दछ ।’ उनले पोखरामा खुलेको कला स्कुलका रूपमा हिल प्वाइन्ट माविले नेपाली कलाको विकासका लागि योगदान दिएको विचार व्यक्त गरे ।
हिल प्वाइन्टका कला विभाग प्रमुख बाबुराम बस्ताकोटीले नेपाली परम्परागत कलाको विकासका लागि कलाका सवै पक्षले सकारात्मक योगदान दिनुपर्ने धारणा राखे । परम्परागत चित्रका पोस्टर प्रदर्शनीसहित भएको उक्त कार्यक्रमले नेपालको मौलिक कलाको प्रवद्र्धन, संरक्षण तथा विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बस्ताकोटीले बताए ।
प्रतिक्रिया