प्रवास

पोर्चुगलमा चम्के नेपाली म्याराथुन धावक आइते

भरत प्रधान २०७६ असार १५ गते ६:५३ मा प्रकाशित

कुनै वेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिवेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् । काभ्रे, गणेशथानका ३४ वर्षीय आइते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट अल्ट्रा धावकका रूपमा चम्कन सफल भएका हुन् ।

सन् २०१६ देखि पोर्चुगल बस्दै आएका तामाङले सन् २०१६ र २०१८ को बीचमा पोर्चुगलमा भएका छुट्टाछुट्टै म्याराथुन दौडमा प्रतिस्पर्धा गरेर नौ स्वर्णपदक हात पार्न सफल भएका छन् भने हाल २०१९ मा आयोजना भएका सात छुट्टाछुट्टै ट्रेल म्याराथुन दौडमा सहभागी भई तामाङले तीन स्वर्ण र दुई रजत हात पार्न सफल भए । विदेशीसँगको कडा प्रतिस्पर्धासँगै आफूलाई अब्बल साबित गरेका तामाङले पोर्चुगलमा आफू उत्कृष्टमध्येकै एक भएको दाबीसमेत गरेका छन् ।

सन् २००६ मा भक्तपुरमा आयोजना भएको पाँच किलोमिटर म्याराथुन दौडबाट यस क्षेत्रमा प्रवेश गरेका तामाङले १ सय ८० किलोमिटर लामो अन्तर्राष्ट्रिय म्याराथुन दौडसम्मको उचाइमा आफूलाई उभ्याउन सफल भएका छन् । उने दुई–दुई पटकसम्म १ सय ८० किलोमिटर लामो अन्तर्राष्ट्रिय म्याराथुन दौडमा प्रतिस्पर्धा गरे, त्यो पनि विदेशी भूमि फ्रान्समा । सो प्रतिस्पर्धामा उनी निरन्तर २२ घण्टा दौडिए । बाल्यकालदेखि नै खेलकूदको क्षेत्रमा रुचि र आकर्षण रहेका कारण यस क्षेत्रमा आएका तामाङ सुरुआती चरणमा भने फुटबल, बक्सिङ र मार्सलआर्टको खेलाडी थिए ।

त्यसबखत बक्सिङमा संघर्ष गर्दै आएका तामाङले सन् २००६ मा श्रीलंकामा बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपालमा भएको छनोट चरणकै खेलमा आफ्नो नाक भाँच्चिएपछि श्रीलंकाको यात्रासँगै बक्सिङको यात्रामा समेत पूर्णविराम लागेको बताए । ‘बक्सिङ खेल्दा नाक भाँच्चियो । मेरो बक्सिङको यात्रा पनि रोकियो । तर, म रोकिइनँ, निरन्तर अगाडि बढिरहेंँ’ उनले, ‘मैले खेल क्षेत्रको बाटो नै मोडिदिएँ र एउटा अल्ट्रा धावकका रूपमा अगाडि आएँ, केही गर्नुपर्छ भन्ने आत्मबल र खेलप्रतिको लगावले नै मलाई सफल बनाएको हो ।’

सन् २००७ मा नेपालमा भएको ७० किलोमिटरको अन्नपूर्ण अल्ट्रा दौडमा तामाङ प्रथम हुन सफल भए । यो उनको पहिलो राष्ट्रियस्तरको प्रतिस्पर्धा थियो । दौडमा प्रथम भएसँगै तामाङलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि पहिलोपटक विदेशमा भाग लिन जाने अवसर समेत जु¥यो । ‘विदेश जाने अवसर पाउँदा आफू निकै भाग्यमानी भएको अनुभूत भयो । यो अवसर नै मेरो जिन्दगीको सफलताको ‘टर्निङप्वाइन्ट’ हो,’ विगत सम्झँदै तामाङले भने, ‘हो त्यही हौसला र उत्साहले नै आज देशमा मात्र नभएर विदेशमा समेत अल्ट्रा धावकको रूपमा चिनिएको छु ।’

नेपालमा साना–ठूला गरेर दर्जनौँ प्रतियोगितामा सहभागी भएका तामाङको पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भने सन् २००७ मा हङकङमा भएको थियो । हङकङमा भएको ‘हङकङ १०० किमी दौड प्रतियोगिता’ मा उनी दोस्रो भए । पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएसँगै तामाङको विदेश यात्राले निरन्तरता पाउँदै गयो । सन् २००७ मा मलेशियामा भएको १७ किलोमिटरको दौड प्रतिस्पर्धामा दोस्रो भई आठ हजार डलरसमेत प्राप्त गर्न सफल भएको उनले बताए ।

सन् २००८ मा सिंगापुरमा भएको अन्तर्राष्ट्रिय माउण्टेन दौडमा स्वर्णपदक हात पार्न सफल भएका तामाङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको यात्रा एकपछि अर्को गर्दै थपिँदै गयो । सन् २०१२ मा मलेसियामा भएको २७ किमी स्काइ म्याराथुनमा उनले स्वर्णपदक जित्न सफल भए । हङकङबाट सुरु भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मलेसिया, फ्रान्स, सिंगापुर, स्वीट्जरल्यान्ड, पोर्चुगललगायत गरी आधा दर्जनभन्दा बढी देशमा सहभागिता जनाउँदै पछिल्लो समय युरोपमा रहेर तामाङ सफलताको शिखर चुम्दै अगाडि बढिरहेका छन् ।

सन् २०१२ मा फ्रान्समा भएको १ सय ८० किलोमिटरको लामो अल्ट्रा ट्रेल दौडमा प्रतिस्पर्धा गर्दाको क्षण आफ्नो जीवनकै सबैभन्दा महत्वपूर्ण र स्मरणीय रहेको तामाङ बताउँछन् । साँझ ६ बजे फ्रान्सबाट सुरु भएको दौड स्वीट्जरल्यान्ड–इटाली हुँदै पुनः फ्रान्स आइपुग्नुपर्ने थियो । बाइस घण्टा निरन्तरको दौड जीवनभर सम्झनलायक रहेको तामाङले बताए । साँझ ६ बजेबाट दौडिएका उनी भोलिपल्ट दिउँसो ४ बजेसम्म निरन्तर दौडिए । उक्त दौडमा उनले १३औँ स्थान हासिल गर्न सफल भएका थिए । यस्तै, खालको १ सय ८० किलोमिटरको लामो दौड उनले फ्रान्समा पुनः सन् २०१३ मा भाग लिए तर सो प्रतिस्पर्धामा भने आफूले दौड पूरा गर्न नसकेकोमा दुःख लागेको बताए ।

विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दर्जनौँपटक नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका तामाङको खेल क्षेत्रले गति लिए पनि आयआर्जनको पाटोले भने सोचेअनुरूप गति लिन सकेन । पाँच किलोमिटर दौडबाट सुरु भएको तामाङको दौड यात्राले उत्कृष्टता प्रर्दशन गर्दै १ सय ८० किलोमिटरको उचाइसम्म पुग्न सफल भए पनि आर्थिक अभावका कारण सोचेअनुरुपको छलाङ मार्न नसकेको भन्दै दुःख व्यक्त गरे ।

‘यस्ता खेलमा भाग लिन तालिमको जरुरी पर्छ, त्यस्तै खालको आहारबिहार अनि पोसाकलगायतका महत्वपूर्ण सामग्रीको व्यवस्था गर्नुपर्छ । यो अत्यन्तै महँगो र खर्चिलो हुन्छ । यसको व्यवस्थापन गर्न मलाई निकै धौधौ छ,’ उनले पीडा पोख्दै भने, ‘प्रतिस्पर्धामा उत्कृष्ट हुनका लागि तालीम लिनुपर्छ । पौष्टिकतत्व खानुपर्छ । कडा मेहनत गर्नुपर्छ । तर, मेरो सन्दर्भमा भने जेनतेन निर्वाह चलेको छ ।’ समय मिलाएर केही घण्टा काम गरेर कमाएको पैसाले खर्च पनि नपुग्ने उनको भनाइ छ । ‘घरपरिवारले घरमा पैसा पठाउला भन्ने आशा गर्छन्् म भने नेपालबाटै पैसा मगाएर भए पनि खेल क्षेत्रलाई निरन्तरता दिइरहेको छु,’ उनले समस्या सुनाए ।

उनका अनुसार विदेशमा भएका सबैजसो खेलमा विदेशीहरूकै ‘स्पोन्सर’मा सहभागी हुनुपर्ने बाध्यता छ । सरकारी तवरबाट कुनै पनि खालको सहयोग पाउन नसक्दा आफू जस्ता धेरै खेलाडी विस्थापित हुनुपरेको तामाङको गुनासो छ । खेल क्षेत्रमा लागेर आफूले लोकप्रियता कमाए पनि घरपरिवारको पालनपोषण र आर्थिक व्यवस्थापनमा भने आफूले कुनै पनि भूमिका निर्वाह गर्न नसकेको उनको पीडा छ ।

सन् २०१६ मा फ्रान्समा भएको ४८ किलोमिटरको दौडमा सहभागी भई दोस्रो भएका तामाङले खेल सम्पन्न भए पनि स्वदेश नफर्केको बताए । घरपरिवार, आर्थिक अभाव र आफ्नो भविष्य सोचेर स्वदेश नर्फकने निधो गरेको तामाङको प्रतिक्रिया थियो । युरोपमै बसेर संघर्ष गर्ने अठोटका साथ तामाङ सन् २०१६ मा पोर्चुगल आए । हाल पोर्चुगल बस्दै आएका अल्ट्रा धावक तामाङ विभिन्न आरोहअवरोहलाई छिचोल्दै यहाँको एक स्थानीय क्लबमा आबद्ध भई आफ्नो खेललाई निरन्तरता दिइरहेका छन् ।

नेपालमै जमेको खेलाडी एकाएक किन विदेशिनु भो त भन्ने प्रश्नमा दुखेसो पोख्दै तामाङले सरकारीस्तरबाट सहयोग नपाएकै कारण विदेशिन बाध्य भएको गुनासो गरे । उनले भने, ‘विदेशिने रहर त कहाँ थियो र ? बिजेता बनेर, नाम कमाएर, पदक र मेडल मात्र जम्मा गरेर जीवन धान्न गाह्रो हुँदोरहेछ । आर्थिक अभावलाई टार्नकै लागि युरोप भासिनुप¥यो ।’ खेल क्षेत्रको संघर्षसँगै वृद्ध बुबाआमा, श्रीमती र एक छोराको पालनपोषण र रेखदेखको जिम्मेवारीसमेत घरका एक्ला छोरा तामाङकै काँधमा छ । तर, आर्थिक अभावकै कारण यो जिम्मेवारी पूरा गर्न आफूलाई हम्मेहम्मे परेको उनले बताए ।

‘मैले धेरैजसो खेल जित्दै आएको छु । अन्तर्राष्ट्रियस्तरका अझै ठूलाठूला खेलमा सहभागी भई विश्वविजेता भएर कीर्तिमान राख्ने मेरो सपना छ,’ तामाङले सहयोगको अपेक्षा राख्दै भने, ‘विश्वकै उत्कृष्ट खेलाडी बनेर नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने मेरो लक्ष्य छ ।’
सरकारीस्तरबाट सहयोग पाउन सके आफूले खेल क्षेत्रमा धेरै प्रगति गर्नसक्ने उनको भनाइ छ । खेल क्षेत्रको सफलताका लागि आफ्नो एकल प्रयास मात्र सम्भव नभएको भन्दै अल्ट्रा धावक तामाङले विदेशस्थित नेपाली संघसंस्था र नेपाल सरकारसँग सहयोगको याचनासमेत गरेका छन् ।

यसैबीच, ७ जुलाइमा पोर्चुगलमा हुन गइरहेको ३१ किलोमिटरको ‘सिन्ट्रा ट्रेल २०१९’ मा धावक तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् । उनी आबद्ध रहेको सेतुवाल क्लबबाट उक्त प्रतिस्पर्धामा भाग लिन लागेका हुन् । उक्त प्रतिस्पर्धामा आफू नेशनल च्याम्पियन बन्ने उनले बताए । ‘मैले पोर्चुगलमा हुने धेरै जसो खेल जित्दै आएको छु । यो प्रतिस्पर्धा पनि जित्नेछु । च्याम्पियन बनेर नेपाल र नेपालीको नाम राख्नेछु,’ नेसनल च्याम्पियन बन्ने विश्वास व्यक्त गर्दै तामाङले बताए ।

प्रतिक्रिया