उपत्यकाको फोहोर व्यवस्थापनमा चुनौती

काठमाडौं । वर्षा सुरुभएसँगै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको छ । प्रभावित क्षेत्रमा सरकारले जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने,स्वस्थ्य बिमा लगायतका माग राख्दै स्थानीयले सडक अवरुद्ध गराएसँगै गत आइतबारदेखि राजधानीको फोहोर उठ्न सकेको छैन ।

काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीन जिल्लाभित्रका नगरपालिका क्षेत्रका फोहोर नुवाकोटको सिस्डोलमा व्यवस्थापन हुँदै आएको छ । सो ल्यान्डफिल साइट भरिएर फोहोर व्यवस्थापन नै गर्न नसकिने अवस्थामा पुगेपछि गम्भीर समस्या देखिएको हो । राजधानीका लागि फोहोर उठ्न नसक्नु कुनै नयाँ समस्या होइन । हरेक वर्ष मनसुन सुरुभएपछि करिब १ हप्ता फोहोर राजधानीका सडकमै फोहोरका डंगुर देख्ने गरिन्छ ।

प्रत्येक वर्ष राजधानीका सडकमा मनसुन सुरुभएसँगै फोहोरको गाडी जान नसक्ने चिप्लने समस्याका कारण फोहोर गुज्रने गरेको थियो । यस वर्ष पनि सोही समस्या दोहोरिएको छ । २०६२ सालमा जापानी सहयोग नियोग (जाइका) ले निर्माण गरिदिएको सिस्डोल ‘ल्यान्डफिल साइट’ मा काठमाडौं र ललितपुर महानगरसहित उपत्यकाका तीनवटै जिल्लाका स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

तीन वर्षसम्म मात्र फोहोर व्यवस्थापन गर्ने गरी तत्कालीन स्थानीय विकास मन्त्रालयले स्थानीयसँग सहमति गरी फोहोर व्यवस्थापन गर्दै आएको थियो । तीन वर्षका लागि भनेर सञ्चालनमा ल्याएको नुवाकोट साविकको ओखरपौवा हालको ककनी गाउँपालिका–२ स्थित सिस्डोलमा विगत १४ वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको छ । काठमाडौं उपत्यकाको फोहोरले सिस्डोल ‘फोहोरको पहाड’ बनिसकेको छ । वर्षायाममा सिस्डोल जाने बाटो बिग्रिनुका साथै ‘ल्यान्डफिल साइट’ भरिँदा काठमाडौंका चोकचोकमा फोहोरको डंगुर छ ।

योजनामै सीमित बन्चरेडाँडा
२०५१ मा सरकारले नुवाकोटको ककनी र धादिङको धुनिबेसीबीचमा रहेको बञ्चरे डाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो । तर हालसम्म पनि निर्माण हुन सकेको छैन । निर्णय गरेको २५ वर्ष बितिसक्दा पनि पूर्वाधारको विकास हुन सकेको छैन । जुन निर्माण कागजमा मात्र सीमित देखिएको छ ।

‘बञ्चरे डाँडामा दीर्घकालीनरूपमा उपत्यकाको फोहोर व्यवस्थापन गर्ने गरी सहरी विकास मन्त्रालयले गत वैशाख १२ गतेबाट पूर्वाधार निर्माण कार्य सुरु गरिरहेको कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताएका छन् । उनले भने, समय अझै लाग्छ यो वर्षामा निर्माण कार्य सम्पन्न हुने अवस्था छैन ।’

सहरी विकास मन्त्रालयको स्थानीयको सहमतिमा साइट निर्माणको काम भइरहेको बताइएको छ । सरकारले समयमै वैकल्पिक उपाय अपनाएर अल्पकालीन तथा दीर्घकालीन योजनामा काम गर्न नसक्दा फोहोरका स्थायी समाधान हुन नसकेको स्थानीय तथा विज्ञ बताउँछन् ।

सहमति भयो उठेन फोहोर
काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोट ककनी गाउँपालिका–२ स्थित सिस्डोलमा फोहोरले भरिएर अक्रान्त भएका जनताले गत आइतबारदेखि सडक अबरुद्ध गरेका थिए । आफ्ना मागहरू पूरा नभए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका थिए ।

सिसडोल व्यवस्थापन संघर्ष समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले सिस्डोल व्यवस्थापन अस्तव्यस्त भएको, सधैँका लागि बन्द गर्नुपर्ने र सिस्डोल डम्पिङबाट सिर्जित समस्याहरूको अन्तराष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने माग राखेको थियो ।

यसरी शुक्रबार नै काठमाडांै महानगरपालिका,सहरी विकास मन्त्रालय, सिस्डोल व्यवस्थापन संघर्ष समितिको बैठक बसेको थियो । त्यस बैठकमा प्रभावित क्षेत्रमा २५ शैयाको अस्पताल निर्माण गर्ने,स्वास्थ्य बिमा गरिदिने, सो क्षेत्रमा सरकारले अधिग्रहण गरी मुआब्जाका लागि समिति बनाई अध्ययन गर्ने,जग्गाको दररेट पुनरावलोकन गर्ने लगायतका सहमति भएको थियो ।

सहमतिपश्चात शुक्रबार नै फोहोर फ्क्न दिएका थिए । पुन शनिबार बिहानबाट अवरोध सुरु भएको काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन् । समितिले फोहोर व्यवस्थापनका लागिे सिस्डोलको विकल्प खोज्नु पर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया