पुल निर्माण अधुरै

दाङ । लमही–तुलसीपुर सडक खण्डबीचमा पर्ने नदी तथा खोलाहरूमा ६ वटा पुल निर्माणको काम पूरा हुन सकेको छैन । निर्माण सुरु भएको ६ वर्ष पुग्नै लाग्दा पनि पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पुल निर्माण अधुरै हुँदा यात्रुहरूलाई बर्खामा आवतजावत गर्न निकै समस्या हुने गर्छ ।

समयमै पुल नबन्दा र उचित डाइभर्सन नहुँदा यात्रुहरू त्रसित बनेका छन् । विगतका वर्षहरूमा पुल निर्माणले पूर्णता नपाउँदा बर्खामा आएको बाढीले गाडी नै बगाएको तथा मान्छेको समेत मृत्यु हुने गरेको थियो । यस वर्ष पनि पुल निर्माण अधुरै हुँदा आफूहरू त्रासमा रहेको मोटरसाइकल चालक नारायण डिसीले बताए । ‘विगतका वर्षहरूमा पनि समयमै पुल निर्माण नहुँदा बाढीको सास्ती खेप्नुपरेको थियो, यस वर्ष पनि पुल निर्माण भएका छैनन्’, उनले भने, ‘विगत जस्तै सास्ती खेप्नुपर्ने अवस्था हुन्छ होला ।’ तर, यस वर्ष विगतका वर्षहरू जस्तो सास्ती नहुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

यस वर्ष बर्खा सुरु हुनुभन्दा पहिले चार वटा पुल निर्माणको कार्यले पूर्णता पाउने सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी लीलाबहादुर भण्डारीले बताए । उनका अनुसार बबई, कटुवा, गुर्जे र सक्राम खोलाको काम सकिने छ । अन्य दुईवटा पुलको काम भने यो वर्षको बर्खासम्म पनि नसकिने उनको भनाइ छ ।

०७१ भदौ ११ मा सम्झौता भएको कटुवा खोलाको पुल निर्माणको काम ८० प्रतिशत पूरा भएको छ । शंकरमाली निर्माण कम्पनीले उक्त पुल ४ करोड १० लाख रुपैयाँमा ठेक्का लिएको थियो । समयमै पुल निर्माणको काम पूरा नभएपछि दुईपटक एक÷एक वर्ष म्याद थप गरियो । अन्तिमपटक थप गरिएको समय ०७४ असोज १० मा सकियो । अन्तिमपटक तोकिएको समयमा पनि काम पूरा नभएपछि अहिले १० प्रतिशत जरिवाना तिराइएको सूचना अधिकारी भण्डारीले बताए ।

उनका अनुसार बाँँकी काम अबको असार महिनाभित्रमा पूरा गर्ने गरी काम अगाडि बढाइएको छ । अब दुबैतिर माटो पुर्ने र ग्राबेलको काम मात्रै बाँकी छ । उक्त पुल ४० मिटर लामो र ११ मिटर चौडा छ । दाङको लमही–तुलसीपुरअन्तर्गत पर्ने गुर्जेखोलाको पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । पुलको ढलानका सबै काम सकिएको र अबको एक महिनामै पुलबाट गाडी चल्ने सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी भण्डारीले जानकारी दिए । ०७२ माघ ५ मा रौताह कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । ०७५ वैशाख १६ मा सक्ने गरी सम्झौता भए पनि समयमै काम पूरा भएन ।

यो पुल १ सय ५ मिटर लामो र ११ मिटर चौडा छ । दाङमा बन्ने फरक स्वरूपको उक्त पुल निर्माणका लागि चाहिने सामानहरू भारतबाट मात्रै ल्याउनुपर्ने उनको भनाइ छ । भारतबाट सामान आउनै ढिला भएकाले पनि समयमै काम पूरा हुन नसकेको बताइएको छ ।

दाङको सिस्ने खोलामा निर्माण भइरहेको पुलको काम तीव्र गतिमा अघि बढेको छ । आव ०७६-७७ को असोजमा काम सक्ने गरी आव ०७४-७५ मा एडभेन्चर जय बागेश्वरी कम्पनीले ६ करोड रुपैयाँमा ठेक्का लिएको थियो । पुलको काम तदारुकताका साथ चलिरहेकाले सम्झौता मुताबिक समयमै काम सम्पन्न हुने सूचना अधिकारी भण्डारीले जानकारी दिए । उनका अनुसार अब जग र स्लाबको काम बाँकी रहेको छ । यो पुलको लम्बाइ ६० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

कुल ११ करोड रूपैयाँ लागतमा बनाउन सुरु गरिएको बबई नदीमाथिको पुलको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको सूचना अधिकारी भण्डारीले बताए । दोस्रोपटक म्याद थपिएपछि निर्माण यही वर्षको असारभित्र पूरा हुने गरी काम अघि बढिरहेको छ । पत्रेखोलाको पुल निर्माणको कार्य भने अलपत्र छ । ०७५ भदौ ९ मा काम पूरा गर्ने सहमति भएको भए पनि अहिलेसम्म निर्माणको काम अघि बढेको छैन । पाँच करोडको लागतमा निर्माण हुने भनिएको उक्त पुल डिजाइन नै नमिलेकाले विगत दुई वर्षदेखि काम ठप्प छ । नयाँ डिजाइन अझैसम्म पनि आउन सकेको छैन । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत ग्वारखोलामा निर्माण भइरहेको पुलको काम एक वर्षमा ५० प्रतिशत पूरा भएको छ ।

कालिका रसुवा जेबी निर्माण कम्पनीले आव ०७६-७७ मा काम सक्ने गरी पुलको जिम्मा लिएको थियो । इञ्जिनियर वसन्त ज्ञवालीका अनुसार हालसम्म पुलको स्ट्रक्चरको काम ५० प्रतिशत र सुपरस्ट्रक्चरको काम ४० प्रतिशत पूरा भएको छ । पुल २ सय २० मिटर लामो र १० दशमलव ५ मिटर चौडा छ । आगामी कात्तिक महिनासम्म निर्माण सम्मन्न गर्ने लक्ष्य राखिएको छ । ग्वारखोलाबाट करिब दुई किलोमिटर तल अर्को पुल बनाउने ठेक्का पनि यही कम्पनीले लिएको हो । यो पुल दुई सय मिटर लामो र १० दशमलव ५ मिटर चौडा छ । कम्पनीले ४७ करोडमा दुबै पुल बनाउने ठेक्का पाएको हो ।

प्रतिक्रिया