बाजुरा । इलाका प्रहरी कार्यालय कोल्टीले बुढीनन्दा नगरपालिका–५ बिर्सैनको बढीमालिका होटलमा लुकाइछिपाई गरिराखेको जडीबुटी शुक्रबार बरामद गरेको छ । अनुमतिविना बुढीनन्दा नगरपालिका–४ बाट संकलन गरी भरीयामार्फत ढुवानी गरेर गोदाममा जम्मा गरिरहेका वेला बुढीनन्दा नगरपालिकाको बिरसैनमा प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले प्रक्राउ गरेको छ ।
शिव पादुका सबडिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय कोल्टीबाट खटी गएको प्रहरी टोलीले बुढीनन्दा नगरपालिका–४ को कुरुबाट ल्याएको जडीबुटी बिर्सैनमा बरामद गरेको हो । वडा–४ कुरुबाट अबैधरूपमा चोरी निकासी गरी सदरमुकाम मार्तडीतर्फ लिँदै गरेको अवस्थामा बुढीनन्दा नगरपालिकाको बिर्सैनबाट बरामद गरेको प्रहरी नायब निरीक्षक शेरबहादुर कुँवरले बताएका छन् । स्थानीय अंगराज पाध्याको होटेलमा लुकाइछिपाई गरिराखेको १२ बोरा सेतक चिनी, एक बोरा कटुको, एक बोरा सुगन्धवाल लगायतको जडीबुटी बरामद गरेको नायब निरीक्षक कुँवरले बताए । ठेकेदार र भरियासमेत नियन्त्रणमा लगिएको छ ।
ठेकेदार नेपालगञ्ज उपमहानगरपालिका २ बस्ने ४५ वर्षका गगन राना र ४२ वर्षका नारद गिरी रहेको इलाका प्रहरी कार्यालय कोल्टी बाजुराले बताएको छ । बुढीनन्दा नगरपालिका–४ का जडीबुटी बोक्ने १२ जना भरियालाई पनि प्रहरीले नियन्त्रणमा लगेको छ । नियन्त्रणमा लगिएको जडीबुटी, ठेकेदार र भरियालाई जिल्ला प्रहरी कार्यालय बाजुरामा झिकाइएको बाजुरा प्रहरी प्रमुख उद्धब सिंह भाटले वताएका छन् । डिभिजन वन कार्यालय बाजुराका डिभिजनल वन अधिकृत भीमप्रसाद कँडेलले भने गैरकानुनी रूपमा जडीबुटी निकासी गर्नेलाई कारबाहीका लागि अदालतमा मुद्दा चलाइने बताएका छन् । सेतकचिनी संकलन र निकासी बन्द गरिएको उनले बताए ।
ठेकेदार नारद गिरीले छुटपुर्जीको कागज देखाएको भए पनि उक्त कागज भने गएको वर्ष अबैध रूपमा संकलन भई अदालतबाट लिलाम बिक्रीका लागि निकालिएको जडीबुटीका लागि छुट दिइएको कागज रहेको बुझिएको छ । उक्त जडीबुटी अहिले पनि बुढीनन्दा नपाको वडा कार्यालयमा नै सिलबन्दी रहेको वडाध्यक्ष राजन रोकायाले बताएका छन् । ठेकेदारले कागजमा अर्काे जडीबुटी देखाएर गैरकानुनी रूपमा संकलन भएको जडीबुटी जिल्लाबाट तस्करी गरेको खबर पाएपछि नियन्त्रणमा लिएको पादुका सब डिभिजन वन कार्यालयले जनाएको छ ।
सेतकचिनी नामक जडीबुटीको माग बढेपछि यसको उत्खनन्, संकलन तस्करी बढ्दै गएको पाइएको छ । नेपाली बजारमा प्रतिकेजी ५ सय ७ सय सम्म पर्ने गरेको छ । बाजुरा जिल्लामा मात्र प्रत्येक वर्ष १ लाख १९ हजार केजी संकलन गर्न पाउने जिल्ला वन कार्यालय बाजुराले जनाएको छ । सरकारलाई ठेकेदारले उत्खनन् गरे बापत प्रतिकेजी पाँच रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ । यसको माग बढेसँगै मनोमानी रूपमा संकलन पनि बढ्दै गएको स्थानीयले बताएका छन् ।
बाजुराबाट वेलावेला अवैधरूपमा जडीबुटी चोरी निकासी हुँदा वन कार्यालय र प्रहरी प्रशासनले विषेश निगरानी गर्ने गरेको छ । सामुदायिक तथा राष्ट्रि«य वनहरूमा जडीबुटी रोकथाम गर्न वडाले वेलावेलामा सूचनामार्फत जानकारी गराइएको भए पनि पछिल्लो समयमा ठेकेदारहरूले जडीबुटी चोरीनिकासी र ओसारप्रसार गर्ने गरेको बताइएको छ । वन जंगलबाट जडीबुटी चोरी निकासी गरी खरिद विक्री गर्ने जो कोहीलाई पनि वन ऐनअनुसार कानुनी कारबाही गरिने वडा–४ का अध्यक्ष राजन रोकायाले बताए ।
प्रतिक्रिया