सरकारले कर्मचारीलाई दुःख दिन खोज्योः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिन खोजेको बताएका छन् । स्थानीय तह कर्मचारी युनियन नेपालद्वारा आज आयोजित प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठीमा उनले राजनीतिक विचार र आस्थाका आधारमा कर्मचारीको सरुवा र बढुवा गरिएको आरोप लगाए ।

‘कर्मचारी स्थायी सरकार हो, राजनीति विचार र आस्थाभन्दा पनि कामका आधारमा सरुवा बढुवा गर्नुपर्छ, ‘उनले भने । सभापति देउवाले जनताको काममा बढी आवतजावत हुने क्षेत्र स्थानीय सरकार भएकाले जनतालाई राम्रो व्यवहार गर्न कर्मचारीलाई आग्रहसमेत गरे ।

जनताको जनताको काम गरेर पार्टीलाई बलियो बनाउन स्थानीय कर्मचारी युनियनको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । उनले वर्तमान सरकारले लोकतन्त्रको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रता, मानव अधिकारलाई खोस्न खोजेको आरोप लगाउँदै मानव अधिकार र प्रेस स्वतन्त्रताका पक्षमा कांग्रेसले संसद् र सडकमा आन्दोलन गर्ने बताए ।

सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानअनुसार निर्माण भएको संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको महत्वपूर्ण भूमिकका रहेको बताए । ‘संघीयतालाई साकार बनाउने जिम्मा स्थानीय तहका कर्मचारीको हो, स्थानीय तहका कर्मचारीले जनताका पक्षमा काम गर्नुपर्छ, ‘उनले भने ।

नेता पौडेलले स्थानीय तहमा निजामती कर्मचारी र स्थानीय तहले भर्ना गरेका दुई खाले कर्मचारी राखेर सरकारले कर्मचारीलाई विभेद गर्न खोजेको बताए । सरकारलाई व्यवस्था र परिवर्तनप्रति चिन्ता नभएको उनको भनाइ थियो ।

नेता पौडेलले सरकारले लामो समयको सङ्घर्षपछि ल्याएको परिवर्तनलाई सङ्कटमा पार्न खोजेको भन्दै कांग्रेसलाई सत्ताकोभन्दा पनि व्यवस्था जोगाउने चिन्ता रहेको बताए । त्यस्तै अर्का कांग्रेसका नेता प्रकाशमान सिंहले पनि दुई तिहाइ जनमत पाएको शक्तिशाली सरकारले कर्मचारी समायोजनको विषयमा ढिलासुस्ती गरिरहेको बताए । ‘दुई तिहाइको आडमा सरकारले संघीयता कार्यान्वयनमा आलटाल गरिरहेको छ, ‘उनले भने ।

सोही क्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुस्कर आचार्यले नेपाली कांग्रेसले पनि स्थानीय तहमा तत्काल सङ्गठन निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए । ‘पार्टीको सङ्गठन बलियो बनाउन पार्टीको स्थानीय सङ्गठन र स्थानीय कर्मचारी एकजुट भएर अगाडि बढ्नुपर्छ, ‘उनले भने ।

त्यसैगरी नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपाल पोखरेलले कर्मचारी समायोजनमा कर्मचारीको मनोबल उच्च हुने खालको काम सरकारले गर्न नसकेको बताए । स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल, कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले कर्मचारीको हक अधिकारलाई कुण्ठित गर्ने गरी कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको बताए ।

स्थानीय तहमा कार्यरत कर्मचारीले ऐन र कानूनविपरीतको काम नगर्नेसमेत उनिहरुले सुझाव दिएका थिए । आजदेखि सुरु भएको कार्यशाला गोष्ठी दुई दिनसम्म चल्ने युनियनका महासचिव रामप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया