कालिकोट । सान्नी त्रिवेणी गाउँपालिकाको पाँचौँ गाउँसभामा ल्याएको बजेट, नीति तथा कार्यक्रमबाट गाउँपालिकाभित्र रहेका ५० वर्षभन्दा माथिका एकल पुरुषहरूलाई जीवनसाथी कार्यक्रमअन्तर्गत मासिक एक हजार सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।
जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले पत्नी नभएका एकल पुरुषहरूलाई जीवनसाथी कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता दिने भएको छ । यस्तै १ सय ५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानहरूका लागि मासिक ५ हजार प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रम ल्याएको छ ।
सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले लैंगिक समानता तथा एकल पुरुषहरूको जीवीकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले गाउँपालिकाले जीवनसाथी कार्यक्रमअन्तर्गत एकल पुरुषहरूलाई समेत सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरिएको बताए । उनले भने, ‘पहिले एकल महिलाहरूले मात्र भत्ता खाँदै आएका थिए ।’
अब एकल पुरुषहरूले पनि मासिक रूपमा भत्ता खाने भए । वृद्धभत्ता ६० वर्ष पुगेपछि मात्र पाउने र यहाँका मानिसहरूको आयु, सामाजिक तथा आर्थिक हिसाबले ५० वर्षभन्दा माथि नै कमाउन नसक्ने अवस्था हुने भएकाले एकल पुरुषहरूलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरी उनीहरूको जीवीकोपार्जनका लागि सहयोग पुग्ने बताए । गाउँपालिका अध्यक्ष शाहीका अनुसार कुल २९ करोड ४८ लाख ७५ हजार बजेट सार्वजनिक गर्दै कृषि, यातायात, स्वास्थ्य, शिक्षा, लक्षित समूह र बेरोजगार युवाहरू लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको छ ।
चालु आवभित्र सबै वडाहरूमा सडक संजालले जोड्ने, हरेक घरघरमा शुद्ध खानेपानी तथा युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, गाउँपालिकाभित्र रहेको सम्पूर्ण महिलाहरूलाई सेनेटरी प्याड वितरण गर्ने, लगायतका कार्यक्रम ल्याएको छ ।
प्रतिक्रिया