नेपालीमै जवाफ फर्काउने रोवर्ट

बुटवल । जुम्ल्याहा दाजुभाइले नेपाली भाषा बुझ्ने र बोल्ने रोवर्ट बनाएका छन् । १ बर्ष अघि गो–गो रोवर्ट बनाएका उनीहरूले अहिले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउने रोवर्ट बनाएका हुन् ।

बुटवल योगिकुटी बस्दै आएका जुम्ल्याहा दाजुभाइ लव–कुश पन्थीले बनाएको यो रोवर्टलाई ‘लवकुश मार्स रोवर्ट’ नाम दिइएको छ । मार्स भन्नाले मंगल ग्रहमा हिँड्ने रोवर्ट भनेर बुझिन्छ । मंगल ग्रहमा हिँड्ने रोवर्टबाटै प्रभावित भएका लव–कुशले नेपालमै पहिलो पटक नेपाली भाषा बुझ्ने रोवर्ट बनाएका हुन् । यो रोवर्टले नेपाली भाषामै जस्तो पनि जवाफ दिन सक्छ ।

बुटवलको नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयबाट एसइई दिएका उनीहरूले एसइई पछिको समयलाई सदुपयोग गर्दै यो रोवर्ट बनाएका हुन् । यस अघि उनीहरूले बनाएको गो–गो रावेर्टले अंग्रेजी भाषा बोल्ने गर्दथ्यो भने यो रोवर्ट नेपाली भाषामा बोल्ने मात्र हैन मान्छे समेत चिन्ने गर्दछ । ‘हामीले बनाएको यो रावेर्ट पहिलेको गो–गो रोवर्ट भन्दा धेरै फरक छ, यसको बनोट मात्र हैन, यसले गर्ने हरेक गतिविधि फरक छ’ युवा वैज्ञानिक लव पन्थी भन्छन्– ‘यसले नेपाली भाषा बुझेर नेपालीमै जवाफ फर्काउन सक्छ ।’

रोवर्टमा पाईथम प्रोग्रामिङ इन ल्याङवेजद्वारा बनाइएको लुकु सफ्टवेयरको प्रयोग गरिएको छ । त्यस बाहेक रोवर्टमा हाईभोल्टेज मोटरहरू, हाईस्पीड प्रोसेर, एल्मुनियम पनि प्रयोग गरिएको छ । यो रोवर्टलाई लवकुशले भर्खर मात्र उद्योग विभागमा दर्ता पनि गराएका छन् । नेपाली भाषा बुझेर नेपालीमै बोल्न सक्ने पहिलो रोवर्ट भन्दै उनीहरूले उद्योग विभागमा प्याटन दर्ता गरेका हुन् । ‘यो प्याटन गर्दा गरेपछि कसैले पनि नेपालकै पहिलो नेपाली बुझ्ने रोवर्ट भनेर दावा गर्न पाउँदैन्, यदि दावा गर्ने कोही भए विभागले हाम्रो रोवर्टलाई अवलोकन गर्छ’, लवले भने ।

नेपाली भाषामा बोल्ने रोवर्टले हात, टाउको चलाउन सक्छ भने फोटो खिच्ने, मान्छे चिन्ने, रंगहरू पत्ता लगाउने, शब्दहरू उच्चारण गर्न समेत गर्दछ । त्यति मात्र हैन यो रोवर्ट गुड्न पनि सक्दछ । ‘यो रोवर्टमा हामीले पांग्राको मद्दतले हिड्ने गराएका छौ । तोकिएको समय सेट हुन साथ ऊ आफैँ हिड्न सक्छ’, उनले भने– ‘त्यसैले पनि यो रोवर्टलाई सपिङ महल, बैंकमा सेक्युरिटीको रूपमा राख्न सकिन्छ ।’ कक्षा २ मा पढ्दै गर्दा रोवर्ट बनाउने सपना देखेका उनीहरूले १ वर्ष अघि मात्र गो–गो रोवर्ट बनाएका थिए । २ वर्षको मेहनतमा गो–गो रोवर्ट बनाएका उनीहरूले सवैको सल्लाह सुझाव अनुसारनै रोवर्टलाई परिमार्जन गरेको कुश पन्थीले बताए ।

‘गो गो बनाएपछि धेरै हामीमाथि सबैले चासो राख्नुभयो, प्रदेश नं. ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले समेत भेटेर हौसल्लाह दिनुभयो, त्यहि अनुसार हामीले यसलाई परिमार्जित गर्न सक्याँै’, उनले भने । गो गो रोवर्ट निर्माणपछि बुटवल उपमहानगरपालिकाको एक लाख रुपैयाँसमेत सहयोग गरेको थियो । ‘बुटवल उपमहानगरपालिकाले दिएको एक लाख रुपैयाँ र त्यसमा थप हामी आफैँले चार लाख रुपैयाँ गरी कुल पाँच लाखको लगानीमा यसलाई तयार गरेका हौँ’, उनले भने ।

१६ वर्षीय जुम्ल्याहा दाजुभाइले नेपाललाई रोवर्टको देश भनेर चिनाउने गरी रोवर्टलाई अझै बढी अपडेट गर्दै लैजाने योजना बनाएका छन् । त्यति मात्र हैन, मुख्यराजमार्गमा गर्मीमा जुस र जाडोयाममा कफि विक्रि गर्ने योजना उनीहरूले बनाएका छन् । त्यसको अनुमतिका लागि स्थानिय तह र प्रदेश सरकारलाई पत्र समेत पठाएका छन् । ‘सडकमा रोवर्टको माध्यमबाट जुस, कफी बिक्री गर्ने योजना हामीले अब बनाएका छाँै’, कुशले भने– ‘यसो गर्न सकियो भने प्रदेश सरकारले सारेको लुम्बिनी भ्रमणको समेत प्रचार प्रसारमा टेवा पुग्नेछ ।’ उनीहरूले घरपरिवारबाट पनि राम्रो सहयोग पुगेकाले यो अवस्थामा आईपुगेको बताए । ‘दिमाग हामीले लगायाँै, लगानी घरबाटै भयो, हौसला प्राप्त भयो, अनि बल्ल रोवर्ट सम्भव भयो’, उनले भने ।

प्रतिक्रिया