‘ए प्लस’ ल्याउने बढे

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विगतको तुलनामा परीक्षार्थीले राम्रो अंक ल्याएको बताएको छ । बिहिबार सार्वजनिक भएको नतिजाअनुसार विगतमाभन्दा यसपटक ‘ए प्लस’ ल्याउनेको संख्या राम्रो रहेको हो ।

प्रकाशित नतिजाअनुसार कुल १७ हजार पाँच सय ८० जनाले ‘ए प्लस’ ल्याएर उत्तीर्ण भएका छन् । यसअघिको नतिजामा भने यो संख्या १४ हजार दुई ३४ रहेको थियो । प्रदेश सरकारको व्यवस्थापनमा संचालित एसइई परीक्षामा ‘ए प्लस’ ल्याउनेमा सामुदायिक विद्यालय तर्फ २ हजार ७ सय ९२ र निजीतर्फ १४ हजार ७ सय ८८ विद्यार्थी रहेका छन् ।

जिपिए ३ दशमलव ६ देखि ४ जिपिए ल्याएकालाई ‘ए प्लस’ दिने गरिन्छ । नतिजा अनुसार ३ दशमलव २० देखि ३ दशमलव ६ जीपीए पाउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७ छ । २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए पाउनेको संख्या ६३ हजार ७ सय ४१ रहेको छ । यस्तै, २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४ र २ देखि २ दशमलव ४० जीपीए पाउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ रहेको छ । ९५ हजार ३ सय ७ जनाले १ दशमलव ६० देखि २ जीपीए पाएका छन् भने ४ हजार ४ सय २९ जनाले शून्य दशमलव ८० देखि १ दशमलव २० जीपीए पाएको बोर्डले जनाएको छ ।

२०७५ सालको एसइई परीक्षामा कुल सहभागी चार लाख ९५ हजार दुई सय ७५ विद्यार्थीमध्ये सार्वजनिक विद्यालयबाट ७० दशमलव ८४ र निजीका २९ दशमलव १६ प्रतिशत विद्यार्थी छन् । जिपिएमा सार्वजनिक विद्यालयका दुई हजार सात सय ९२ विद्यार्थी मात्र छन् । सबैभन्दा तल्लो जिपिए ‘इ’ ल्याउनेमा सार्वजनिक विद्यालयका छ हजार ६ सय ७३ छन् भने निजीका एक हजार ९६ मात्र छन् ।

प्रदेश–३ अब्बल
प्रदेश अनुरूप छुट्टाछुट्दै प्रकाशित भएको नतिजा अनुसार सबैभन्दा अब्बल प्रदेश–३ देखिएको छ । उच्च जीपीए अंक (३ दशमलव ६०–४ दशमलव शून्य) ल्याउने परीक्षार्थीको अंक अनुपात हेर्दा प्रदेश ३ सबैभन्दा अब्बल र कर्णाली सबैभन्दा कमजोर ठहरिएको हो । यो प्रदेशबाट ए प्लस ल्याउँने विद्यार्थीको संख्या १० हजार आठ रहेको छ भने, प्रदेश–१ बाट एक हजार नौ सय ८४, प्रदेश–२ बाट नौ सय ३१, गण्डकी प्रदेशमा एक हजार आठ सय १८ जनाले ‘ए प्लस’ ल्याएका छन ।

प्रदेश–५ बाट एक हजार ६ सय ८४, कर्णाली प्रदेशबाट केवल एक सय ४६ र सुदुरपश्चिमबाट दुई सय ५१ जनाले ‘ए प्लस’ ल्याएका छन । त्यस्तै, प्रदेश नम्बर तीनबाट ३ दशमलव २० देखि ३ दशमलव ६० ल्याउँने विद्यार्थीको संख्या २१ हजार आठ सय ३२ रहेको छ । कर्णाली प्रदेशबाट शून्य दशमलव ४४ प्रतिशत परीक्षार्थीले मात्र उच्च जीपीए अंक ल्याउन सफल भएका छन् । त्यसपछि सुदूरपश्चिम प्रदेश कमजोरमा परेको छ, जहाँ शून्य दमलव ५ प्रतिशत परीक्षार्थीले उच्च जीपीए अंक ल्याएका छन् ।

१५ हजार ७ सयले दिएनन् परीक्षा
परीक्षामा देशभरबाट फारम भरेका चार लाख ७५ हजार तीन जना विद्यार्थी मध्ये १५ हजार सात सय २८ जना विद्यार्थीले एसइई परीक्षा नदिई विद्यालय छाडेको बोर्डले जनाएको छ । परीक्षामा चार लाख ५९ हजार दुई सय ७५ जनामात्र सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकमा उल्लेख छ । परीक्षा नदिने विद्यार्थीमध्ये छात्रको संख्या ६ हजार तीन सय चार छ । त्यस्तै छात्राको संख्या नौ हजार चार सय २४ रहेको छ । एसइईको फारम भरेका दुई लाख ३६ हजार चार सय ४५ जना छात्र मध्ये दुई लाख ३० हजार४१ जना छात्र परीक्षामा सहभागी भएका थिए ।

त्यस्तै एसईईको फारम भरेका दुई लाख ३८ हजार पाँच सय ५८ जना छात्रा मध्ये दुई लाख २९ हजार एक सय ३४ जना छात्रा परीक्षामा सहभागी भएको तथ्यांकमा उल्लेख छ । प्रदेश नम्बर एकमा फारम भरेर परीक्षा नदिने विद्यार्थीको संख्या दुई हजार सात सय ४२ रहेको छ । प्रदेश नम्बर दुईबाट फारम भरेर पनि परीक्षा नदिने विद्यार्थीको संख्या चार हजार एक सय १४ जना छ। प्रदेश नम्बर तीनबाट नौ सय सय ९६ जना र गण्डकी प्रदेशमा फारम भरेर परीक्षा नदिने विद्यार्थीको संख्या सात सय १७ जना छ ।

त्यस्तै प्रदेश ५ मा एसईई नदिने विद्यार्थीको संख्या एक हजार एक सय ३९ छ । कर्णाली प्रदेशमा भने दुई हजार ६ सय ५८ जना विद्यार्थीले एसईई परीक्षा दिएनन् । सुदूरपश्चिम प्रदेशमा फारम भरेर तीन हजार तीन सय ६२ विद्यार्थीले एसइई परीक्षा नदिएको बोर्डले जनाएको छ । यस्तै, यस वर्ष परीक्षामा सामेल दुई जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया