बाजुरा । जिल्लाको हिमाली गाउँपालिकाले आगामी आवमा एक रुख रोपे पाँच केजी चामल दिने नीति लिएको छ । आव ०७६-७७ लागि पाँचाैँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले वनजंगल संरक्षण अभियानलाई जोड दिँदै गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले वन संरक्षण अभियान सञ्चालन गरी यो नीति लिएको बताएका छन् ।
मंगलबार गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सवै वडामा सडक सञ्जाल जोड्न आवश्यक बजेटको व्यवस्था गरी काठे पुललाई विस्थापन गर्दै झोलुंगे पुल बनाउने, सबै वडामा खानेपानीको व्यवस्था पूरा गरिने बताए । नीति तथा कार्यक्रममा भवन निर्माण, जलविद्युत्, पर्यटन र पर्यटकीय क्षेत्रको पहिचान गर्ने नीति अघि सारिएको छ ।
संविधानको भावना र मर्मअनुसार गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाउँदै गाउँपालिकाका अध्यक्ष मल्लले गाउँपालिका भित्रका ६५ देखि ७० वर्षमुनिका नागरिकलाई दिइँदै आएको सामाजिक सुरक्षाभत्ता निरन्तरता दिँदै ज्येष्ठ नागरिकका लागि मासिक तीन सय, ‘ग’ र ‘घ’ बर्गका अपांगता भएका व्यक्तिलाई दुई सय रुपैयाँ दिइने नीति लिएको हो ।
विद्यालयको गुणस्तर सुधार गर्न शिक्षक तालिमको व्यवस्था गर्ने, विद्यार्थी शिक्षक अनुपात गणना गरी स्वयंसेवक शिक्षक नियुक्त, खेलकुद, गाउँपालिकाको केन्द्रमा १५ श्ययाको अस्पताल, प्रत्येक वडामा स्वास्थ्यचौकीको व्यवस्थाका लागि पहल, रैथाने बालीको संरक्षण र सम्वद्र्धनका लागि आवश्यक नीति लिइने र जैतुन खेती विस्तारका लागि आवश्यक पहल गरिने कुरा नीतिमा अटाएका छन् ।
केतुके, लोक्ता, अल्लोजस्ता रेसादार बस्तुका प्रशोधनका लागि आवश्यक पहल र जडिबुटी, पशुपालनमा व्यावसायिक उत्पादनलाई प्रोत्साहन, कर्णाली नदीमा ¥याफ्टिङ, पादुकादेखि रानी शैनसम्मका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि सम्बन्धित निकायसँग समन्वय, पाडी, बाम, लगायतका ठाउँमा टेलिफोन टावर निर्माणजस्ता कुरा नीतिमा परेका हुन् । दलित र जनजाति समुदायको विकासका लागि आवश्यक कार्यक्रम बनाउने नीति लिएको गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने जनाएको हो ।
गाउँपालिकाभरिका बेरोजगार युवाहरूको तथ्यांक संकलन गरी रोजगारीका लागि आवश्यक नीति लिइने र छाउपडी प्रथा, महिला हिंसा, जुवातास, जाँडरक्सी घरेलु हिंसा अन्त्यका लागि आवश्यक नीति बनाइने जनाइएको छ । ‘जल, जंगल र जडीबुटी हिमालीको सान, समृद्ध हिमाली बनाउने हाम्रो अभियान’ भन्ने नारासहित सुरु भएको गाउँसभा अघि विभिन्न समितिहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया