सकियो ‘मनकाशी’ को छायांकन

लमजुङ । पर्यटकीय जिल्लाका रूपमा परिचित लमजुङमा खिचिएको गुरुङ चलचित्र मनकाशी (मनको कान्छी) को छायांकन सम्पन्न भएको छ । गएको १७ जेठदेखि चलचित्रको छायांकन सुरू गरी ६ असारमा सुटिङको सबै काम सकिएको निर्माण पक्षले जनाएको छ ।

गुरुङ भाषा, संस्कृति र होमस्टे (घरवास कार्यक्रम) लाई मुख्य विषयवस्तु बनाएर चलचित्र निर्माण गरिएको निर्माता प्रितम गुरुङले बताए । उनले भने, ‘गुरुङ भाषा, संस्कृतिलाई मात्रै नभई पछिल्लो समयमा गुरुङ बस्तीतिर होमस्टे (घरवास कार्यक्रम) सञ्चालन बढी भएकाले होमस्टे सञ्चालकहरूको अवस्था कस्तो छ, फाइदा बेफाइदाको विषयलाई उठाउन खोजिएको हो ।’

गुरुङबस्तीमा सञ्चालनमा आएका होमस्टेसँगै यहाँका कला, संस्कृति, भाषा तथा सामाजिक जनजीवनमा आएको सुधारको विषयलाई चलचित्रमा उधिनिएको छ । होमस्टेमा आउने पर्यटक तथा पाहुना एकै प्रकारका हुँदैनन्, विभिन्न घटनाहरू घट्ने गरेका छन् । यस चलचित्रले होमस्टेका सञ्चालकहरू सतर्क रहनुपर्छ भन्ने सन्देश दिन खोजिएको चलचित्रका नायक विष्णु गुरुङले बताए ।

जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ ढगैँ, हसिङडाँडा र बँेसीसहर नगरपालिकामा छायांकन गरिएको यस चलचित्रमा गुरुङ नायक विष्णु, अनुता गुरुङ, डिबी गुरुङ, आइतराम गुरुङ, टीकाराम घले, वीरमाया गुरुङ लगायतका कलाकार मुख्य भूमिका रहेको छ । यस चलचित्रलाई खेम थापामगरले छायांकन गरेका हुन् भने नृत्य निर्देशन सन्तोषी गुरुङले गरेकी छन् ।

चलचित्रमा निर्मातासमेत रहेका गुरुङले नै लेखक÷निर्देशन गरेका हुन् । करिब १५ लाख लागतमा छायांकन सम्पन्न भएको र बाँकी ‘डबिङ’ र ‘मिक्सिङ’ काम सम्पन्न गर्न अनुमानित १० लाख रूपैयाँमा थप गर्दा कूल २५ लाखमा चलचित्र निर्माण हुने निर्माता गुरुङले जानकारी दिए । चलचित्रको सबै काम केही दिनमै सकिने र आगामी १३ असारका दिन चलचित्रको शीर्षक मनकाशी गीत सार्वजनिक गरिने उनले बताए ।

चलचित्रमा जम्मा तीनवटा गीत रहने भएको छ । आगामी साउन महिनाको दोस्रो साताबाट प्रदर्शनको थालनी गर्ने तयारी रहेको उनले जनाए । काठमाडौंमा प्रदर्शन गरेपछि हङकङमा प्रदर्शन हुने र लमजुङमा भदौमा प्रदर्शन हुने भएको छ । रोधी डिजिटल र बेस क्रियसनको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो ।

प्रतिक्रिया