नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सिलामेमा १५-२० वर्षअघि कुलो खनेर हिउँदमा गहुँ र तोरी लगाइन्थ्यो । स्थानीय नवराज अधिकारीलाई अहिले उक्त खेती प्रणाली इतिहास बनेको छ ।
त्यसैगरी, हरियाली हुन्थे धादिङका विकट किराञ्चोकको रिठ्ठाबोटेलगायत बस्तीका पाखापखेरा । त्यो पनि अहिले इतिहास बनिसकेको छ । कतिपय कुलो सुके त कतिपय सडकमा परिणत भएका छन् । एक त पानीका मुहान सुक्ने अर्को भएका मुहानमा पानीको मात्रा घट्ने हुँदा मुलुकका धेरै जिल्लामा पानीको हाहाकार छ । मानिस घण्टौँ लगाएर पिउने पानी ल्याउन बाध्य छन् ।
सहरमा मात्रै होइन पहाडी क्षेत्रमा समेत नदीबाट ट्यांकरले पानी बोकेर घरघर वितरण गर्नुपर्ने बाध्यता छ । सुख्खापनको जोखिम बढ्दो छ । भोजपुर, खोटाङ, रामेछाप, काभ्रे, गुल्मी, दैलेखलगायतका जिल्लामा पानीको ठूलै समस्या रहेको पानीको स्रोतबारे अध्ययन गर्दै गरेका वातावरणविद् सनोत अधिकारीले बताए ।
पानीको अभावमा कयौँ स्थानमा मानिसहरू थातथलो छाडेर जानसमेत बाध्य भएका छन् । पानी नभएका कतिपय गाउँलाई सरकारले नै सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ । अधिकारीको नेतृत्वमा हालै भएको एक अध्ययनले स्रोतबाट पानीको बहाब अप्रत्याशित रूपमा घटेको देखाएको छ
पानीको अभावमा कयौँ स्थानमा मानिसहरू थातथलो छाडेर जानसमेत बाध्य भएका छन् । पानी नभएका कतिपय गाउँलाई सरकारले नै सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ । अधिकारीको नेतृत्वमा हालै भएको एक अध्ययनले स्रोतबाट पानीको बहाब अप्रत्याशित रूपमा घटेको देखाएको छ । युथ एलायन्स फर इन्भाइरोमेन्टले एक वर्ष लगाएर पश्चिम नेपालका विभिन्न जिल्लामा गरेको अध्ययनले ७० दशमलव ०७ प्रतिशत मुहानबाट बहाब (मूलबाट निस्कने पानीको मात्रा) घटेको पाइएपछि पानीको चरम संकटलाई पुष्टि गरेको छ ।
यो समस्या देशव्यापी भएपनि तराई, पहाड र हिमाली क्षेत्रमा फरकफरक रहेको उक्त संस्थाका अध्यक्ष तथा अनुसन्धानकर्ता अधिकारीले बताए । ‘अध्ययनले हामी पानीको संकटतिर गइरहेका छौँ भन्ने देखाएको छ, मुहान संरक्षण योजना नहुँदा आउँदो वर्षहरूमा यसले विकराल रूप लिन पनि सक्छ, सरकारको ध्यानाकर्षण होस्, उनले भने ।
पश्चिम नेपालका प्युठान, अर्घाखाँची, दैलेख, कालिकोट, अछाम, सुर्खेत, डोटी, डडेलधुरा, कैलालीलगायत जिल्लाका पाँच जलाधार क्षेत्रमा पानीको बहाब कस्तो छ, त्यहाँबाट आउने पानीको गुणस्तर र भू–व्यवस्थामा भएको परिवर्तनबारे अध्ययन भएको थियो । झण्डै चार हजार २०० पानीका मुहानको अध्ययनमा धेरै मुहानमा पानी घटेको, पछिल्ला तीन वर्षका अवधिमा मात्रै एक दशमलव ५७ प्रतिशत मुहान सुकेका र केही थपिएका पाइएको छ । झण्डै २६ प्रतिशत मुहान भने यथावत अवस्थामा पाइएका थिए ।
अधिकारीको नेतृत्वमा डा. अनुप गुरूङ, राजु चौहान, सेलिना नकर्मी र सरिता घलेको टोली सहभागी थिए । अध्ययनमा पानीको गुणस्तरमा भने खासै समस्या नरहेको पानीको गुणस्तरसम्बन्धीका विज्ञ डा. गुरूङले जानकारी दिए । आज भन्दा २० वर्षअघि त्यही मूलबाट एक गाग्री पानी भरिन दुई मिनेट लाग्नेमा अहिले त्यही मूलबाट गाग्री भरिन पाँच मिनेट लाग्ने अवस्था रहेको अनुसन्धानकर्ताको भनाइ छ ।
मुहानको संरक्षण र स्रोत व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता अध्ययनले देखाएको छ । तर, मुहान संरक्षणमा कतैबाट ध्यान पुग्न नसकेको विज्ञहरू बताउाछन् । जलवायु परिवर्तसम्बन्धिका विज्ञ डा. विमल रेग्मी विनाशविनाको विकास जरूरी रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा छोटो समयमा बढी पानी पर्ने हुँदा त्यसको समुचित व्यवस्थापन गर्न सकिएन भने ठूलो समस्या निम्तने खतरा रहेको औँल्याए ।
स्रोत संरक्षणको प्रावधान हालै सरकारले ल्याउन लागेको वातावरणसम्बन्धीको विधेयकले समेट्नुपर्ने उनको राय छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘वातावरण संरक्षण विधेयक’ ०७५ अहिले छलफल कै चरणमा छ । ‘बाबुबाजेको पालामा पोखरी खन्ने चलन थियो, यो वैज्ञानिकरूपले पनि सही देखिन्छ तर अहिले त त्यस्ता पोखरीसमेत हराइसके । यस्ता विषयमा कानुन बोल्नुपर्छ, मापदण्ड उल्लंघन गर्नेविरुद्ध प्रष्ट दण्ड र जरिवाना हुनुपर्छ,’ डा. रेग्मीले भने ।
पूर्वसचिव तथा वातावरणविद् कृष्णचन्द्र पौडेल वन जंगल, र पखेराहरू मास्ने, गिटी बालुवा जथाभावी निकाल्ने कारणले प्राकृतिक स्रोतमा असर पर्ने भएकाले बेलैमा सचेत हुनुपर्ने औँल्याए ।
मुहानमा पानी घट्नुको कारणः अनुसन्धानकर्ताका अनुसार पहिलो त जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा फरक आएको छ । पहिले
लामो समयसम्म पानी पथ्र्यो, जमिनमुनि जान पाउँथ्यो तर, अहिले पानी एकै चोटी पर्ने र छिटै बगेर जाने हुँदा पानी रिचार्ज हुन पाउँदैन । गाउँघरतीर आहाल, कुला, पोखरी, बनाइन्थ्यो, त्यसले पानी पुनःभरण गर्न सहयोग पुग्थ्यो भने गाईवस्तुका लागिसमेत प्रयोग हुन्थ्यो । त्यस्ता पोखरीले तल्लो क्षेत्रमा पानी रिचार्ज गर्न सहयोग हुन्थ्यो । अहिले पोखरीहरू सडक, फुटबल चौरमा परिवर्तन भएका छन् भने केही बाझिएका छन् ।
अनुसन्धानकर्मी चौहानका अनुसार अव्यवस्थित रूपमा बाटोघाटो निर्माणले पानीको बाटो कारिएर नष्ट हुँदा मुहानमा असर परिरहेको छ । पानी पर्दा बाटोमा छिटो बग्ने अवस्थाले पुनःभरणमा समस्या हुन्छ । स्रोत संरक्षणको साटो पानीका मुहानमा क्रंकिटका संरचना बनाउन क्रम बढ्दो छ । भूकम्पलगायत प्रकोपका कारणले पनि पानीको स्रोतमा उतारचढाव भइरहेको अध्ययनका क्रममा पाइएको छ । यसको वैज्ञानिक अध्ययन गर्न बाँकी रहेकाले अध्ययनको तयारी भइरहेको उनले बताए ।
मुख्य गरी यस्ता मुहान जोगाउनका लागि जसरी हुन्छ परेको पानीलाई पुनःभरण गर्नुपर्छ । पानीलाई जमिनमा नै राख्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ । यसको संरक्षण स्थानीय तहको भएकाले मुहान संरक्षणको योजना बनाउनु जरुरी देखिन्छ । जल, जंगल र जमिन संरक्षणका लागि संघीय सरकारको विशेष पहल जरुरी छ । अहिलेको जस्तो अवस्था कायमै हुने हो भने आउँदो २०–२५ वर्षमा मुहान कहालीलाग्दो अवस्थामा पुग्ने अनुसन्धानकर्मीको अनुमान छ ।
पहाडी क्षेत्रमा एक किसिमको समस्या रहेको र तराई तथा सहरी क्षेत्रमा अर्के समस्या छ । तराईमा चुरे दोहन छन् । काठमाडौंमा छुट्टै समस्या छ । उपत्यकामा पानी सोस्ने क्षेत्रमा क्रंक्रिटमय भएको र पहाडी क्षेत्रमा समेत प्लटिङ भइरहेकाले पानी तल्लो तहमा पुग्न सकेको छैन । विज्ञहरूले प्राकृतिक स्रोत, जल, जमिन, जंगल र वातावरण संरक्षणमा लागि स्पष्ट निर्देशन दिन सक्ने अन्तरमन्त्रालय संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रतिक्रिया