एसइईको रिजल्ट आज !

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जनाएको छ । नतिजा प्रकाशनका लागि बुधबार परीक्षा बोर्डको बैठक डाकिएको छ ।

नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको काम भइरहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । कार्यालयले बुधबारकालागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको र बोर्डले निर्णय गरेपछि परीक्षाको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक अधिकारीले बताए । उनका अनुसार ढिलोमा बिहीबारसम्ममा नतिजा प्रकाशन हुनेछ । बोर्डले गएका वर्षहरूभन्दा करिब एक साता ढिला गरी नतिजा प्रकाशन गर्न लागेको हो ।

विगतमा जेठ मसान्तदेखि असार एक-दुई गतेभित्रै एसइईको नतिजा प्रकाशन हुने गरेको थियो । यसपटक प्रदेश–२ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर एकैसाथ १० चैतदेखि २१ सम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश–२ मा भने २२ देखि २९ चैत्रसम्म परीक्षा सञ्चालन गरेको थियो ।

यसवर्ष सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।

प्रतिक्रिया