हेमप्रभासको कविता प्रथम

काठमाडौं । ‘राष्ट्रिय कविता महोत्सव–२०७६’ मा कवि हेम प्रभासको कविता प्रथम भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा धादिङका प्रभासको ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रथम भएको हो ।

त्यसैगरी, डोटीका सुभाषचन्द्र भण्डारी ‘किनाराका अलिखित संवेगहरू’ शीर्षकको कविता द्वितीय भएको छ । त्यस्तै, लमजुङका प्रज्वल अधिकारीले ‘पाठशाला’, काठमाडौंका प्रकाश बस्नेत गफाडीले ‘इन्द्रधनुष’ र काठमाडौंकै शान्ति शर्माले ‘उज्यालोको गीत’ कविता तृतीय भए ।

उक्त प्रतियोगितामा ३ सय ४० कविताबाट उत्कृष्ट ३१ कविता वाचन गरिएको प्रतिष्ठानले जनाएको छ । उक्त अवसरमा कल्पना काफ्ले, प्रकाश सिलवाल, अश्विन समीप, कविता राई, उषा आचार्य, छविलाल आचार्य, कुबेर खड्का, गरिमा शाह, तोयानाथ भट्ट विश्वामित्र, त्रिभुवनचन्द्र वाग्ले, तीर्थराज जोशी, तीर्थराज भट्ट, दीपक यात्री, देवकी अभिलाषी, निराजन मौद्गल्य, पदम दाहाल, बालकृष्ण लम्साल, रमेश पौडेल, रेजिना आपागाईँ, भुवन शिवाकोटी, यात्रीप्रकाश पाण्डे, रञ्जु दाहाल, लक्ष्मीप्रसाद आचार्य, लीला दाहाल, सन्दीप सापकोटा बैतडीका हीरा भट्टलगायतले प्रतियोगी कविता वाचन गरेका थिए ।

 कवि हेमप्रभास

महोत्सवमा वासुदेव त्रिपाठी, सरल सहयात्री, अशेष मल्ल, शभ्भुकुमार मिलन, बाबा बस्नेत, नवराज लम्साल, मित्रलाल पंगेनी, धीरेन्द्र प्रेमर्षि, अनिता लामालगायतले अप्रतियोगी कविता सुनाए । वार्षिकोत्सव तथा कविता महोत्सवको उपप्रधानमन्त्री ईश्वर पोखरेलले कविता वाचन गर्दै उद्घाटन गरेका थिए । पोखरेलले ‘जीवन’ र ‘मृत्यु’ शीर्षकका कविता वाचन गरे । कविता महोत्सवमा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । समितिका सदस्यमा गीता त्रिपाठी र प्रल्हाद पोखरेल रहेका थिए ।

उक्त अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले काव्यबाटै साहित्यको सिर्जना भएको हो भन्दै साहित्यिक समृद्धिका लागि राज्यले आवश्यक कदम चाल्नुपर्ने जिकिर गरे । उनले भने, ‘संस्कृतिको विकासविना राज्य समृद्ध बन्न सक्दैन । तसर्थ, राज्यले यस क्षेत्रका लागि विशेष ध्यान दिनुपर्दछ ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कवि वैरागी काइँलाले राष्ट्रिय कविता महोत्सवलाई सरकारले उचित महत्व दिएको बताए । उनले भने, ‘कविता प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई राष्ट्र प्रमुखबाट पुरस्कृत गर्ने परिपाटीको थालनी गर्नु राम्रो पक्ष हो ।’

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सातवटै प्रदेशका भूगोल, कला, साहित्य, संस्कृति र बौद्धिक पक्ष समेटेर छुट्टाछुट्टै पाश्र्वचित्र तयार पार्न लागिएको बताए । उनले आगामी अक्टोबरमा चीन दक्षिण एसिया समेटेर साहित्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले साहित्यको प्रवद्र्धनका लागि प्रतिष्ठानले कबाम गरिरहेको बताए ।

प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपालका विविध भाषा, संस्कृति तथा सम्पदाका बारेमा प्रतिष्ठानले विगतदेखि काम गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी ढंगले गर्ने बताए । कविता महोत्सव निर्णायक समितिका संयोजक तथा काव्य विभाग प्रमुख हेमनाथ पौडेल, प्राज्ञसभा सदस्य शशि लुमुम्बु लगायतका वक्ताले कविता महोत्सवका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा कर्मचारी तथा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट भएकालाई समेत पुरस्कृत गरियो ।

प्रतिष्ठानमा दीर्घसेवा गरेका खरिदार शालिकराम फुयाँल, राम पहरी, सन्तबहादुर पहाडी, मुखिया रामचन्द्र लामा र कार्यालय सहयोगी मीनबहादुर थिङ, शाखा अधिकृत अशोककुमार चौरसिया, नासु महेश्वर थापा मगर, खरिदार नगेन्द्रबहादुर थारु, भुलबहादुर श्रेष्ठ, मुखिया श्याम महर्जन, झनबहादुर अधिकारी, सवारी चालक नवराज चौलागाईँ, राम महर्जन, कार्यालय सहयोगी उर्मिला बोहोरा र अमृता तिवारीलाई पुरस्कृत एवं सम्मान गरिएको थियो ।

प्रतिक्रिया