बाँके । जिल्लाको खजुरा गाउँपालिका–७ पनि साक्षर वडा घोषणा भएको छ । सोमबार खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले उक्त वडा साक्षर भएको घोषणा गरेका हुन् । सो वडामा १५ वर्षदेखि ५९ वर्ष उमेर समूहका ५ हजार ४ सय ७८ जनसंख्यामा २ सय ५४ जना मात्र निरक्षर रही ९५ दशमलव ५० प्रतिशत साक्षर रहेकाले घोषणा गरिएको हो ।
कुल आठ वटा वडा रहेको खजुरा गाउँपालिका साक्षर वडा–१ देखि वडा–७ सम्म साक्षर वडा घोषणा गरिएको छ भने १२ गते वडा–८ लाई साक्षर घोषणा गर्ने कार्यक्रम रहेको खजुरा गाउँपालिका प्रमुख कक्षपतिले जानकारी दिए ।
वडा–७ का वडाध्यक्ष अतिउल्ला खाँको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख कक्षपतिले पूर्वाधारको पनि पूर्वाधार भनेको शिक्षा भएको बताए ।
समाज रूपान्तरण गर्ने सबैभन्दा पहिलो आवश्यकता शिक्षा भएकाले अबका दिनमा पूर्ण साक्षर बनाउन आवश्यक रहेको उकको भनाइ थियो । गाउँपालिकामा अधिकाश मधेसी मुस्लिम समुदायमा अन्य भन्दा धेरै भएकाले मुस्लिम र मधेसी समुदायका बालबालिकालाई मध्यनजर गर्दै कन्या विद्यालय निर्माण भइरहेको गाउँपालिका अध्यक्ष कक्षपतिले जानकारी दिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष एकमाया विकले अब प्रत्येक वडालाई पूर्ण साक्षर बनाउँदै शिक्षामा बढी जोड दिइने बताइन् । उपाध्यक्ष विकले भर्ना अभियानमा जुन किसिमको विद्यार्थीको भर्ना भयो त्यो अहिले खस्किएको महसुस गरिएको भन्दै अनिवार्य रूपमा आफ्ना बालबालिकाहरूलाई पढाउन पठाउन अनुरोध गरिन ।
खजुरा गाउँपालिकालाई १४ गते साक्षर घोषणाा गरिने खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए । घोषणा कार्यक्रममा कार्यपालिका सदस्य निसार अली, भागीरथ सुनार, शिक्षाप्रमुख टीकानाथ गोसाई, शिक्षा समिति सदस्य ऋषिराम सापकोटा, भक्तबहादुर केसी, प्याब्सन खजुराका अध्यक्ष मित्रलाल सापकोटा, शिक्षक महासंघ खजुरा अध्यक्ष केशवराज लामिछाने, वडा–७ स्थित विद्यालयका शिक्षक तथा विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया