केन्द्रले हामीलाई हेला गर्याेःशाही

कालिकोट । भूगोलले ठगिएको कर्णाली प्रदेश विकासको दृष्टिले पूर्वाधारमा पहिलो प्रथामिकता राख्नुपर्ने भन्दै पटकपटक पूर्वाधारमा जोड दिन केन्द्र सरकारसँग माग गर्दा पनि केन्द्र सरकारले मागको सुनुवाइ नगरेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

कर्णाली प्रदेश सरकारलाई केन्द्र सरकारले गणना नै नगरेको मुख्यमन्त्री शाहीले बताए । नेकपा जिल्ला कमिटीको प्रथम बैठकमा सहभागी हुन कालिकोट पुगेका मुख्यमन्त्री शाहीले पत्रकार भेटघाटमा कर्णाली प्रदेशको मुख्य समस्या गरिबी भएकोले गरिबलाई केन्द्र सरकारले पनि गणना नै नगरेको बताए । कर्णाली प्रदेशको आवश्यकता खाना, नाना, छाना बदल्न सके मात्र गरिबी अन्त्य हुने बताए । गरिबीका कारण कतिपय बालबालिकाले नयाँ लुगा लगाउन नपाउने गरेको उनले बताए । ‘पहिलो खाना, त्यसपछि ठूलो समस्या छाना हो ।

कर्णालीका अधिकांश बस्तीहरूमा सर्वसाधारणको घर पनि छैन । भएका पनि खरले छाएका छन् अब खरले छाएका ती सबै घरहरू खरमुक्त गरी टिनको प्रयोग गर्ने शाहीले बताए । अब गरिबीलाई हटाएर उत्पादनमूलक क्षेत्रमा लगाई एक व्यक्ति एक व्यवसाय नगरेसम्म कर्णालीवासीको गरिबी नहट्ने बताए । उनले कर्णाली प्रदेशको मुख्य नारा ‘खाना, नाना र छाना’ रहेको उनले बताए ।

अब पहिलो आवश्यकता खाना, अनि कपडा र बस्नका लागि सुरक्षित वासस्थान आवश्यक रहेको उनको भनाइ थियो । पहिलो वर्ष जे जस्तो रहे पनि दोस्रो वर्षदेखि उत्पादनशील क्षेत्रमा मात्र बढी प्राथमिकता राखेको बताए । उनले भने, उपभोक्ता समितिबाट गरिने काम छिटो छरितो, पारदर्शिता नभएको र उपभोक्तावादी चिन्तन बढेको भन्दै यो वर्षदेखि हामीले ‘जति विकास बजेट आउँछ, त्यसलाई रोजगारसँग जोडेर निर्माण कार्यदलमार्फत युवा समूह, महिला समूह बनाएर निर्माणमा जुट्नुपर्छ,’ उनले भने । सडक खन्नुपर्ने मुख्यमन्त्री शाहीको भनाइ रहेको छ । मुख्यमन्त्री शाहीले, पहिलो वर्ष पूर्वाधारमा मात्रै जोड दियौँ, यो वर्ष पनि यसलाई कार्यान्वयन गर्न जोड दिएका छौँ । पहिलो प्राथमिकता भनेकै गरिबी हटाउन गाँस, वास र कपासलाई राखेका छौँ ।

प्रतिक्रिया