काठमाडौं । सरकारले लागू गर्न लागेको ‘क्लिन फिल्ड’ को विरोध गर्दै नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द गरेका छन् । ‘विज्ञापन ऐन, ०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरूले २४ घण्टाका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरू बन्द गरेका हुन् ।
इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रूपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु सोमबार अपरान्ह ३ बजेदेखि मंगलबार अपरान्ह ३ बजेसम्म बन्द गराएका हुन् । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।
नेपालमा प्रसारित विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधानसहित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको क्रममा रहेको छ । विदेशी विज्ञापनको साट्टो नेपालीमै छायाकंन गरेको विज्ञापन अनिवार्य रूपमा हुनुपर्ने प्रावधान सो विधेयकले गरेको छ । जसले गर्दा नेपालको विज्ञापनको बजार विस्तार हुने र नेपालले अझै धेरै कर पाउनेछ ।
०७५ चैत १० गते राष्ट्रिय सभाबाट पारित ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ को दफा ६ (१) मा भनिएको छ– ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।’
त्यस्तै, यही दफाको उपदफा (२) मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा ‘डबिङ’ गरी प्रसारण गर्न नपाइने उल्लेख छ । ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरूले नेपालमा विज्ञापनरहित प्रसारण (क्लिन फिड) नीति अवलम्बन गर्नुपर्नेछ साथै ‘डबिङ’ विदेशी विज्ञापन पनि नेपाली च्यानलमा प्रसारण हुन पाउने छैनन् ।
प्रतिक्रिया