छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या कि दोहोरो भिडन्त भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । गृह मन्त्रालयले दोहोरो भिडन्त भनेर बारम्बार दोहो¥याउँदै आइरहेका वेला यो विषय संसद्मा पनि पसेको छ ।

सांसदहरूले प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको जवाफको माग गरेका छन् । संसदीय समितिले त सरकारलाई छानबिन गरेर सात दिनभित्रै प्रतिवेदन बुझाउन निर्देशनसमेत दिएको छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको सो घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक साताभित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

समितिको बैठकमा सत्तारूढ नेकपाकै सांसदले गृहमन्त्रीलाई लगातार प्रश्न सोधेर घटनाको प्रकृति हेर्दा त हत्या जस्तो छ नि ? भनी प्रश्न गरेका थिए । गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनुपरेको जानकारी गराए । उनले घटनाबारे भने, ‘सर्लाहीको लालबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रतिनिधीले जबरजस्ती चन्दा माग्ने र जनमानसमा त्रास फैलाउन विप्लव समूह सक्रिय रहेको भन्ने जनगुनासो आइरहेको थियो ।

त्यसै आधारमा प्रहरीले गस्ती निगरानी बढाएको थियो । असार ५ गते दिउँसो २ बजे प्रहरी गस्तीको रहेको वेला लालबन्दीमा अन टेस्ट लेखिएको दुईवटा मोटरसाइकलमा आएका चार जनाले प्रहरी टोली देख्नासाथ गोली चलाएको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो ।’ तर, सांसदले पुन प्रश्न तेस्र्याए ।

समितिका सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले ५÷६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुठभेढमा मारिएको भनेर सरकारले मुलुकमा द्वन्द्व निम्त्याउने काम आफैँले गरेको भन्दै आपत्ति जनाए । संवैधानिक बाटोबाटै संविधान उल्लंघन गर्नेहरूलाई कारबाही गनुपर्नेमा सरकार आफैँले गलत बाटो लिएको उनको भनाइ थियो । यता, गृहमन्त्री थापाले भने सरकारले चन्द नेतृत्वको नेकपासँग मुडभेड नचाहेको बताए ।

उनले चन्द नेतृत्वको नेकपालाई संविधानको बाटोबाटै राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले वार्ताको प्रयासलाई पनि जारी राखेको जानकारी दिए । गृहमन्त्री थापाले चन्द नेतृत्वको नेकपाको आतंककारी क्रियाकलापलाई मात्रै सरकारले नियन्त्रणमा लिने काम गरिरहेको दाबी पनि गरे । सत्तारूढ नेकपाकी कै सांसद तीर्था गौतम भने भक्कानिदै भनिन्, ‘आज नेपालीको छोरो मरेको छ, यसरी मार्नु ठीक होइन, संवादबाट समस्या समाधान गर्नुपर्छ, १० वर्षे जनयुद्धको घाउ आलै छ, देश पूर्णरूपमा शान्त बनेको छैन ।’ गौतमले वेपत्ताहरूको खोजीनिति अझै नभएको बताइन् । ‘सत्यनिरूपण तथा बेपत्ताको छानबिन भएको छैन’, उनले भनिन्, ‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ ।’ अन्य सांसदले पनि सरकारले मुठभेड नभई हत्या गरेको भन्ने कोणबाट कुरा उठाएपछि गृहमन्त्रीले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री थापाले भने, ‘सांसदहरूले दिएका सुझाबमा ध्यानाकर्षण भएको छ । मुठभेडका नाममा समाप्त पार्ने निर्देशन सरकारले र प्रहरी नेतृत्वले दिएको छैन् । यो घटना विशिष्ट किसिमले आएको छ । यसको छानबिन हुन्छ ।’ समिति बैठकमा उपस्थित प्रहरी महानिरीक्षक खनालले निज पौडेलेको आपराधिक र ध्वंशात्मक गतिविधिमा संलग्न भएका घटनाको फेहरिस्त प्रस्तुत गरेका थिए । उनका विरूद्धमा प्रहरी प्रशासनमा परेका उजुरी र मुद्दासम्बन्धी विवरण पनि सांसदलाई सुनाएका थिए ।

प्रतिक्रिया