तयारी थाल्न सरकारको निर्देशन

काठमाडौं । सरकारले निर्वाचन आयोगलाई रिक्त रहेका पदमा उपनिर्वाचनको तयारी थाल्न निर्देशन दिएको छ । उपनिर्वाचन कहिले हुने भन्नेमा अन्यौलता छाइरहेका बेला सरकारले उपनिर्वाचनको तयारी थाल्न आयोगलाई निर्देशन दिएको हो ।

आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक र कानुनी व्यवस्था छ । सरकारी उच्च स्रोतले जानकारी दिए अनुसार मंसिरमा गर्नेगरी उपनिर्वाचनको मिति तोकिने सम्भावना रहेको दावी गरेको छ । प्रतिनिधिसभा देखी गाँउपालिकासम्म गरेर ४६ पदमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ ।

राष्ट्रपति भवन शितलनिवासमा भएको निर्वाचन समिक्षा र भावी रणनीति विषयक उच्चस्तरिय अन्तरक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका पदाधिकारीलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरे । ‘विभिन्न पद अहिले पनि खाली रहेका छन्, ति पदको निर्वाचन गर्न सरकारले नीति तथा कार्यक्रममै समावेश गरिसकेको छ’, प्रधानमन्त्री ओलीले भने,‘त्यसैले अब निर्वाचन गर्ने तयारीमा जुट्नुहोस् ।’ यद्यपी उनले मितिका बारेमा केही खुलाएनन् ।

निकट भविष्यमा आयोगको परामर्श गरेर मिति तोक्छौं– प्रधानमन्त्री

१२० दिनको समय दिए जुनसुकै बेलामापनि निर्वाचन गराउन तयार – आयोग

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार प्रधानमन्त्री ओलीले निर्वाचन आयोगसँग परामर्श गरेर मिति घोषणा गरिने बताएको जानकारी दिए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै भने,‘निकट भविष्यमा आयोगको परामर्श गरेर मिति तोक्छौं ।’ आयोगले पनि आफुहरु जुनसुकै बेलामा निर्वाचन गराउन तयार रहेको जानकारी गराएको छ ।

कानूनत आफुहरुलाई एक सय २० दिनको समय चाहिने भएकाले तयारी अवस्थामै रहेको बताएको छ । संघ र प्रदेश सांसद तथा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका प्रमुख तथा अध्यक्ष र सदस्य गरी कुल ९४२ पद रिक्त छन । तर, आयोगका प्रवक्ता खरेलका अनुसार सांसद र स्थानीय तहका प्रमुख तथा अध्यक्षको मात्रै उपनिर्वाचन गर्न सक्ने व्यवस्था रहेको बताउँछन ।

संघीय र प्रदेश संसदमा चार सांसदको पद रिक्त छ । हेलिकोप्टर दुर्घटनामा प्रतिनिधिसभा सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नं. २ रिक्त भएको छ । त्यस्तै, प्रदेश सभा सांसदहरू क्रमशः भक्तपुरका हरिशरण लामिछाने, बाग्लुङका टेकबहादुर घर्ती र दाङका उत्तरकुमार ओलीको निधन भएपछि पद रिक्त छन । लामिछाने भक्तपुर क्षेत्र नं. १ ‘ख’, घर्ती बाग्लुङ क्षेत्र नं. २ ‘ख’ र ओली दाङ क्षेत्र नं. ३ ‘ख’ का प्रतिनिधि थिए । सांसदहरूको निधन भएको निर्वाचन आयोगलाई जानकारी भईसकेको छ ।

निर्वाचन आयोगका अनुसार कुनै तहमा प्रमुखदेखि कुनैमा सदस्यसम्म जनप्रतिनिधि छैनन । कुल तीन तहका प्रमुख, ३६ वडाध्यक्ष, ८६१ वडा सदस्य र ३९ कार्यपालिका सदस्यको पद खाली रहेको आयोगले जनाएको छ । ०७४ को वैशाख, असार र असोजमा तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा ३५ हजार जनप्रतिनिधि निर्वाचित भएका थिए । तीन स्थानीय तहका प्रमुखको निधन भएको छ । मेयर तारा सुब्बाको गत १ साउनमा निधन भएपछि सुनसरीको धरान उपमहानगरपालिका नेतृत्वविहीन छ ।

यस्तै, गत २६ माघमा अमरकुमार नेम्वाङको निधनपछि पाँचथरको फाल्गुनन्द गाँउपालिकाका अध्यक्षविहीन छ । ३० पुस ०७४ मा संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको पनि जिप दुर्घटनामा निधन भएको थियो । विभिन्न स्थानीय तहका १३ वडाध्यक्षको पनि निधन भएको छ ।

२०७४ सालमा भएको निर्वाचनका बारेमा आयोगले राष्ट्रपति भवन शितलनिवासमा समीक्षा गरेको थियो । ायोगको भावी रणनीति बारेमा पनि विस्तृत रुपमा छलफल भएको आयोगका प्रवक्ता खरेलले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीसहित सभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्य १२ दलका अध्यक्ष तथा पदाधिकारी, पूर्व निर्वाचन आयुक्तहरू, विज्ञहरू सहभागी थिए । अन्तक्रियामा आयोगको तेस्रो रणनीतिक योजनाबारे सुझाव संकलन भएको प्रवक्ता खरेलले जानकारी दिए ।

प्रतिक्रिया