काठमाडौं । ललित मेमोरियल यु–१८ च्याम्पियनसिपमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले आइतबार जित निकालेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको दिनको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लब कुपन्डोललाई २–० गोल अन्तरले पराजित गर्दा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई २–१ गोलले हरायो ।
विजयी सुरुआत गर्नका लागि आर्मीका लागि विशाल बस्नेत खेलको चौथो मिनेटमा नै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । अग्रता बनाइसकेको आर्मीले ३८ औँ मिनेटमा जय अधिकारीको गोलबाट अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा लिएको अग्रता पछि दोस्रो हाफमा डिफेन्सिभ खेल खेलको आर्मीले थप गोल गर्न सकेन । फ्रेन्ड्स दोस्रो हाफमा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र पहिलो खेलमा नै पराजित हुन पुग्यो ।
आइतबारको पहिलो जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले जारी प्रतियोगिताको पहिलो लिगमा खेलबाट तीन अंक जोड्न सफल भएको छ । उता पराजित फ्रेन्ड्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आइतबारै सम्पन्न दिनको दोस्रो खेलमा अर्को विभागीय टोली पुलिसलाई जिताउन सन्जु सेन एक्लैले दुई गोल गरे ।
उनको दुई गोलको मद्दतमा पुलिसले जित निकाल्न सफल भएको हो । १६औँ मिनेटमा सन्जुले गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि ३० औं मिनेटमा जावलाखेलका कप्तान साचु गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ एक÷एकको बराबरी सकिएको खेलको दोस्रो हाफको अन्तिम मिनेटमा पुलिसका सन्जुले ब्यक्ति गत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
जितसंगै समूह ‘सी’ बाट पुलिसले पनि तालिकामा ३ अंक जोडेको छ । जावलाखेलले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । एन्फाका पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया