न्युजिल्यान्ड शीर्षमा उक्लियो

एजेन्सी, लन्डन । विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । प्रतिस्पर्धात्मक खेलमा न्युजिल्यान्डले इन्डिजमाथि ५ रनको जित हात पा¥यो ।  टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २९१ रन बनाएको थियो । पहिलो दुई विकेट सात रनको अवस्थामा गुमाएको न्यूजिल्यान्डका लागि केन विलियमसन र रोश टेलरले उत्कृष्ट प्रदर्शन गरे । तेस्रो विकेटका लागि उनीहरूले १६० रनको साझेदारी गरेपछि न्युजिल्यान्ड सम्मानजनक स्कोरमा पुगेको हो ।

विलियमसनले १४८ रनको योगदान दिए । टेलरले ६९ रन बनाए । बलिङतर्फ शेलडन कोट्रेल एक्लेले चार विकेट लिए भने कार्लोस ब्राथह्वाइटले दुई विकेट हात पारे । २९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४९ ओभरमा २८६ रनमा अलआउट भयो । उसका लागि कार्लोस ब्राथह्वाइटले १०१ रनको शतकीय योगदान दिए । उनले ८२ बलमा नौ छक्का र पाँच चौका प्रहार गरेका थिए ।

यस्तै क्रिश गेलले ८७ रन बनाएका थिए भने सिमरन हेटमेयरले ५४ रन जोडे । अन्य खेलाडीको ब्याटिङ चल्न सकेन । वेस्ट इन्डिजलाई हराउनका लागि ट्रेन्ट बोल्टले चार विकेट लिए भने लकी फर्गुसनले तीन विकेट लिए । जितसँगै न्यूजिल्यान्ड ६ खेलबाट ११ अंक सहित शीर्ष स्थानमा फर्किएको छ ।

प्रतिक्रिया