बलात्कारका घटनामा प्रहरीदेखि आफन्त संलग्न

दाङ । जिल्लामा बलात्कार र बलात्कारका प्रयासका घटना बढ्न थालेका छन् । यस्ता घटनामा संलग्नमध्ये अधिकांश पक्राउ परेका छन् भने केही व्यक्ति फरारको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बताएका छन्

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विक अहिले कैदमा छन् । दाङ देउखुरी जिल्ला अदालतले २८ वैशाखमा दोषी ठहर गर्दै विकलाई १६ वर्ष कैदको फैसला सुनायो भने पीडितलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गरायो । यस्तै १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा तुलसीपुरका ५५ वर्षीय हजुरबुबा पर्ने व्यक्तिलाई उक्त अदालतले ६ महिना कैद, दुई हजार जरिवाना र पीडितलाई पाँच हजार क्षतिपूर्ति उपलब्ध गराएको थियो ।

२८ वर्षीया महिलालाई तुलसीपुर उपमहानगरपालिका–११ का महेश भनिने भुवन धिताललाई गत १३ चैतमा बलात्कारको अभियोगमा प्रहरीले पक्राउ ग¥यो । अहिले ती व्यक्ति जबर्जस्ती करणीसम्बन्धी मुद्दामा पूर्पक्षमा छन् । सोही अपराधमा घोराही उपमहानगरपालिका– १४ का ४४ वर्षीय ऋषिराम आचार्य पनि पूर्पक्षमा छन् । ११ वर्षीया बालिकालाई पढाउने, लेखाउने बहानामा ६ महिनादेखि बलात्कार गरेको उनीमाथि अभियोग छ ।

यसैगरी ११ वर्षीया बालिकालाई सल्यानबाट दाङ ल्याएर बलात्कार गरेको अभियोग लागेका सल्यानका २२ वर्षीय पुरुषोत्तम दमाइँ पनि पूर्पक्षका लागि कारागारमा छन् । बितेको ६ महीनामा दाङमा ४२ बलात्कार तथा बलात्कार प्रयासका घटना दर्ता भएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष ५१ बलात्कार तथा बलात्कारका प्रयासका घटना भएका थिए । बयालिस बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित ४३ मध्ये २६ पाँच वर्षदेखि १७ वर्षसम्मका बालिका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ शाखा प्रतिनिधि जेएन सागरले बताए ।

बलात्कार तथा बलात्कारका प्रयासका घटनामध्ये १५ देखि २० प्रतिशत घटनाको अन्तिम फैसला भइसकेको अदालतले जनाएको छ । उक्त अदालतका न्यायधीश हेमन्त रावलले पीडितलाई समयमा न्याय दिन नसकिए न्याय दिनु नदिनुसरह हुन जाने बताए । ‘विभिन्न अध्ययनले नेपालमा बालिकाको संरक्षण आवश्यक देखिन्छ’, उनले भने, ‘अपराधीलाई कारागार हाल्नु त छँदै छ, समाजलाई नैतिकवान बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ ।’

बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य (हजुरबुबा, भिजानु र ससुरा) हरू नै संलग्न भएको पाइन्छ । तुलसीपुर बसपार्कमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय मानबहादुर गुरुङलाई एक ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोग लागेको छ भने बबई गाउँपालिका एक प्रौढलाई आफ्नै बुहारीलाई बलात्कार गरेको अभियोग छ ।

समाजमा सचेना र जागरण बढेपछि यौन हिंसा बाहिर आउन थालेको महिलाअधिकारकर्मी बताउँछन् । हिजो पुरानो मान्यता थियो, पीडित आफैँ दोषी हुनुपर्ने अवस्था थियो तर अब समाजमा चेतना बढेको र कानुनी ज्ञान पनि भएकाले घटना बाहिर आउने गरेको महिलाअधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले बताइन् ।

प्रतिक्रिया