नेपालगञ्जमा पौडी पोखरीको परीक्षण

बाँके । १२ वर्षको लामो समय खर्चिएर बाँकेमा १९ करोडको लागतमा नेपालगञ्ज रंगशालामा निर्माण गरिएको पौडी पोखरीको शुक्रबार औपचारिक रूपमा परीक्षण गरिएको छ ।

नेपालगञ्जको रंगशाला परिसरमा निर्माण सुरु गरिएको पौडी पोखरीको शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले परीक्षण सुरुआत गरेका हुन् । २०६६ सालमा तत्कालीन युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले पौडी पोखरीको शिलान्यास गरेका थिए ।

पौडी पोखरी परीक्षण कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले खेलाडी र खेलप्रेमीले १२ वर्षदेखि प्रतीक्षा सकिएको धारणा राखेका थिए । प्रदेश ५ को खेलकुद विकास समितिले राखेप सदस्य सचिव विष्टसँग शुक्रबार उद्घाटन गराउने योजना बनाए पनि विष्टको आग्रहमा उद्घाटन कार्यक्रम स्थगित गरी परीक्षणको शुभारम्भ गरिएको हो । निर्माणको सम्पूर्ण काम सक्न अझैँ केहि समय लाग्न भएकोले उद्घाटन कार्यक्रम स्थगित गरी परीक्षणलाई जोड दिएको विष्टले बताए ।

कार्यक्रममा बोल्दै सदस्य सचिव विष्टले पौडी पोखरीले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका थिए । नेपालगञ्ज जस्तो गर्मी ठाउँमा स्वीमिङ पुलको अति आवश्यकता रहेको हुनाले सर्वसाधारणका लागि र खेलाडी उत्पादनमा टेवा पुग्ने उनको भनाइ थियो ।

स्वीमिङका प्रि–प्रशिक्षण तथा केही प्रतियोगिता गर्न मिल्ने गरी निर्माण गरिएको उक्त स्वीमिङ कम्पलेक्समा करिब ३ करोडको प्याराफिट, डिप बोरिङ, अत्याधुनिक पानी शुद्धीकरण गर्ने उपकरण, रेस्टुरेन्ट लगायतको सुविधा रहेको छ । स्वीमिङ कम्प्लेक्स सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्ले स्थानीय सर्वसाधरणलाई सहज पहुँच र अपनत्व ग्रहण गर्ने गरी स्वीमिङ कम्प्लेक्स सञ्चालनका लागि आवश्यक पर्ने रकमका लागि न्यूनतम शुल्कमा प्रवेशको व्यवस्थापन गर्ने तयारी भइरहेको जनाइएको छ ।

पौडी पोखरीमा शुक्रबार प्रथम जिल्लास्तरीय पौडी प्रतियोगिता सम्पन्न भएको छ । पौडी पोखरी परीक्षणका क्रममा आयोजित जिल्लास्तरीय पौडी प्रतियोगिता अन्तर्गत ५० मिटर फ्रि स्टाइल छात्रतर्फ आदर्श बोडिङ स्कुलका सुमन न्यौपाने प्रथम भए । उक्त प्रतियोगितामा स्प्रिङडेल स्कुलका खेमराज थापा दोस्रो र आदर्श स्कुलका अमित महत तेस्रो भए ।

छात्रातर्फको ५० मिटर फ्रि स्टाइलतर्फ स्प्रिङडेलकी सुप्रिया रावल पहिलो, स्प्रिङडेलकै सुमी शाही दोस्रो र एविसी रेसिडेन्सियल स्कुलकी सद्रिना डाँगी तेस्रो भइन् । प्रतियोगिताको ५० मिटर ब्याकस्ट्रोक छात्रातर्फ स्प्रिङडेलकी सुप्रिया रावल पहिलो, स्प्रिङडेलकै सुमी शाही दोस्रो र स्प्रिङडेलकै सुहेला पाण्डे तेस्रो भइन् । ५० मिटर ब्याकस्ट्रोक छात्रतर्फ स्प्रिङडेल स्कुलका खेमराज थापा पहिलो, सोही स्कुलका विशेष सिंह तथा दिवश रेग्मी क्रमशः दोस्रो र तेस्रो भए । प्रतियोगितामा ८ वटा विधामा खेल भएको प्रतियोगिताका संयोजक झवी शर्माले जानकारी दिए ।

विजयी खेलाडीहरूलाई राखेपका सदस्य सचिव केशव कुमार विष्ट, काँग्रेस बाँकेकी सभापति किरण कोइराला, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरीक्षक अरुण पौडेल, प्रहरी उपरीक्षक वीरबहादुर ओली, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक भेषबहादुर शाह लगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रममा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल रूपमा सम्पन्न गराउने व्यक्तित्वहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

पौडी पोखरीमा समूहमा आउने विद्यार्थीहरूका लागि विशेष छुटसहित र साना उमेरका लागि प्रति व्यक्ति प्रति २ घण्टाका सिफ्टमा १ सय र ठूला व्यक्तिका लागि १ सय ५० रुपैयाँ टिकट राखेर स्वीमिङ कम्पलेक्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको राष्ट्रिय खेलकुद परिषद् प्रदेश–५का अध्यक्ष भीम ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया