खेलोफड्को

‘मामा, खसी लिएर आउनुभएको बिक्री गर्न ?’ मैँले मामालाई सोधेँ ।
वहाँले खलखली बगेका पसिना टोपीले पुछ्दै भन्नुभयो, ‘हो, भान्जा, दुई चार पैसा आउँला कि भनेर बिक्री गर्न ल्याएको । खै ! नाफा होलाजस्तो छैन । नाफा गर्ने चुत्के सावाँबाट फुत्के होलाजस्तो छ ।’

बाँधिराखेको रातो खसीलाई छामछुम पार्दै मैले भनेँ, ‘कति भन्नुभएको छ यसको मूल्य ?’
वहाँले भन्नुभयो, ‘अघि यसको जोडालाई एक हजार घाटा खाएर बेचेँ । यसको मूल्य अठार हजार भनेको छु ।’

‘आफ्नै खोरको हो कि किनेर ल्याउनु भएको ?’ मैले प्रश्न गरे । ‘आफ्नै खोरको भए दुई चार पैसा घाटा लागे पनि केही थिएन । यो त बाहिरबाट सत्र हजार क्यास तिरेर ल्याएको एक हजार त नाफा खानु प¥यो नि !’ वहाँले भन्नुभयो ।

‘कोही सोध्न आए कि आएनन् यसलाई ?’ मैले भने । वहाँले अनुहार झारेर भन्नुभयो, ‘एक दुईजना आएका थिए । कान, खुर, आन्द्राभुँडी र भुत्लासहित पन्ध्र किलो भनेर हिडे ।’

‘यो सहर बजार हो क्या मामा ! गाउँघरका सोझासादालाई पाए लन्ड्याएर खान पल्केकाहरूको अत्याधिक बसोबास भएको ठाउँ हो यो । बेलुकासम्म दाऊ हेर्दैछन् उनीहरू तपाईंको ।’

‘तपाईको विचारमा यसको मासु अनुमानित कति होला भान्जा ?’ मामाले आफ्नो खस्किएको मनलाई शान्त गराउन प्रश्न गर्नुभयो ।
मैले खसीको मेरुदण्ड छाम्दै भनेँ, ‘त्यति धेरै अड्कल गर्न नसके पनि रातो राजा, कालो काजी र सेतो पाजी भन्छन् । खसी रातो र बलियो पनि छ । पुग्छहोला बीस किलो ।’

मैले अस्ताउँदै गरेका घामतिर हेरेर वहाँलाई फेरि भने, ‘अब आजको बाँस कता हुन्छ त मामा ?’
वहाँले भन्नुभयो, ‘व्यापारिक खेलोफड्कोमा कहिले घाटा कहिले नाफा । त्यही खसी बेचेको पैसा सकिने भयो । होटेल लज जिन्दावाद ।’

भिमेश्वर न.पा.४, दोलखा

प्रतिक्रिया