सुन्दरी चोकमा रुमलिँदा

नेपाली कला र साहित्य दुवै क्षेत्रलाई उत्तिकै न्याय दिलाउन सफल व्यक्तित्व ज्ञानेन्द्र विवश नेपालको पूर्वी खोटाङमा सन् १९७० मा जन्मिएका हुन् ।

विवशले बचपनदेखि नै शब्दको खेती सुरु गरे, त्यसकै उपजको रूपमा ‘सुन्दरी चोक’ आएको हो । उनले यस निबन्ध संग्रहभित्र ३१ वटा निबन्ध संग्रहित गरेका छन् । सबै निबन्धमा सांस्कृतिक, सामाजिक, पुरातात्विक सम्पदा तथा प्राकृतिक सुन्दरताको चर्चा गरिएको छ । सबै निबन्धले नेपालको मौलिकता र सुन्दरतालाई नितान्त फरक ढंगले उजागर गरेको अनुभूत हुन्छ । उनले आफ्नो पुस्तकमा नेपाली कला, साहित्य र संगीतलाई त्रिवेणीको रूपमा अगाडि सारेका छन् ।

निकै सरल जीवनशैलीका विवश आफ्नो पुस्तकमा आफूजस्तै सरल भाषाको माध्यमबाट नेपाली भाषा, संस्कृति, सांस्कृतिक सम्पदा, ऐतिहासिक महत्वका सम्पदा, मठमन्दिर, चोक, ढुंगेधारा, टुँडालको अर्थपूर्ण तवरले उल्लेख गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न चोकमा बसेर निकै वार्तालाप भलाकुसारीहरू गरियो, दुःख सुख बाँडियो, हाँसियो, रमाइयो तर कहिल्यै सोचिएन यसको खास महत्व । जब ‘सुन्दरी चोक’ पढ्दै गएँ तब यहाँ रहेका दरबार क्षेत्रभित्रका सुन्दरीचोकको सुन्दरतामा डुब्दै गएँ ।

हिजो प्रत्येक किमीमा रहेका ढुंगेधारा आज इतिहासका पानामा सीमित बनाइएका छन् । यहाँ तिनै ढुंगेधाराहरूको कलात्मकता, शिल्प, धार्मिक मान्यता, वैज्ञानिक पक्ष आदिलाई स्वयं दृश्यावलोकन गरेको भान हुने गरी शब्द संयोजन गरिएको छ ।

समाजमा घट्ने घटनालाई जस्ताको तस्तै शब्दमा उतार्न सिपालु विवशले आफ्नो निबन्ध ‘सृष्टि सारथी’ मा लोग्ने र स्वास्नीलाई यथार्थ रूपमा उठाएका छन् । लोग्ने र स्वास्नी नभए सृष्टि चल्दैन् । त्यसैले लोग्ने र स्वास्नी एक–अर्काका परिपूरक हुन् । उनले लेखेका छन्, ‘लोग्ने स्वास्नी सृष्टिको सुन्दर सारथि हुन् । घरपरिवार, समाज र सभ्यताकै सारथि हुन् । यही सारथिको सार, सन्तुष्टि, सुख सबै आपसी हार्दिकतापूर्ण व्यवहार, बोलीबचनमा हुन्छ ।’

पुस्तकमा हामीले जीवनमा भोगेका भोगाइलाई सिलसिलेवार तरिकाले प्रस्तुत गरिएको छ । ‘सुन्दरी चोक’ भित्रका ‘चियापान, चियोचर्चो र चियाबारी,’ ‘महाभूकम्पपछि महानगर’ मा हामीले नै भोगेका भोगाइहरूलाई सरल भाषा, शैली र शब्दमा अनुवाद गरेजस्तै देखिन्छ ।

संग्रहमा संग्रहित निबन्ध पढ्दा लाग्छ, उनले कुनै समस्यालाई नियालिरहँदा निदानका उपायहरू पनि सँगै पेस गरेका छन् । जुन सफल लेखकमा नभई नहुने गुण हो । समस्याहरू केलाउन सजिलो हुनसक्छ तर, समस्या समाधानका उपायहरू खोज्नु निकै कठिन विषय हो ।

सबै मानिसमा फरक फरक क्षेत्रको ज्ञान हुँदैन् । तिनै फरक ज्ञान भएका साहित्यकार विवशले यस निबन्धमा विभिन्न क्षेत्रलाई समेटेका छन् । पाठकले पुस्तकको सुरुदेखि अन्त्यसम्म विभिन्न विषयका बारेमा जानकारी पाउने त छन् नै यसले नेपाली इतिहासका कतिपय विषयलाई सुन्दर ढंगले प्रस्तुत समेत गरिएको छ ।

पुस्तकमा कतिपय ऐतिहासिक तथ्यलाई लेखकले अझ मिहिन ढंगले केलाउन सकेको भए र भाषिक शुद्धतामा केही सीमा रहे पनि समग्रमा संग्रहले नेपाली संस्कृति, प्रकृति, इतिहास तथा समाजलाई नियाल्न निकै सघाउँ पु¥याउनेमा विश्वस्त हुन सकिन्छ । यो पुस्तक पाठकका लागि अत्यन्त जानकारी मूलतः, जीवनोपयोगी र ज्ञान भण्डारको रूपमा पाउनसमेत लिन सकिन्छ । अन्त्यमा, नेपाली समाजलाई मिहिनरूपमा नियाल्दै विवशले यस निबन्ध संग्रहमा नेपाली समाजको जातीय, धार्मिक, सांस्कृतिक पाटोलाई समेत कलात्मक रूपमा उठान गरेका छन् ।

प्रतिक्रिया