पाँच मिनेटको २५ रुपैयाँ

काठमाडौं । नयाँ बानेश्वर बस्ने विश्वास थापा शुक्रबार न्युरोडमा विशेष कामले पुगेका थिए । उनि असनमा विशेष कामका लागि शुक्रबार मध्यान्ह त्यहा पुगेका थिए ।

मोटरसाइकलमा आएका उनि स्मार्ट पार्किङमा राखेर नजिकै रहेको पसलमा गएर काम सकेर आए । उनले करिव ५ देखी ७ मिनेट मोटरसाइकल राखेका थिए । तर, हिड्ने बेलामा उनको पार्किङ बिल आयो २५ रुपैयाँ । विगतमा सो ठाँउमा पार्किङ गर्दा रकम लिने गरिएको थिएन् । तर, पछिल्लो पटक त्यहा स्मार्ट पार्किङ भन्दै रकम उठाउन थालिएको छ ।

न्युरोडको विशाल बजार अगाडी रहेको सो पार्किङमा मोटरसाइकल पार्क गर्ने वित्तिकै २५ रुपैयाँ उठि हाल्छ । सडकको छेउमा लाइन तानेर पार्किङ स्थल बनाइएको छ । मोवाइल एप्लिकेशनबाट त्यहा पार्किङ गर्न सकिने व्यवस्था बनाइएको छ । पार्किङलाई व्यवस्थित र मर्यादित बनाउन काठमाडौं महानगरपालिकाले ‘व्हिल्स ट्रुली योर्स’ को सहकार्यमा पाँच ठाउँमा स्मार्ट पार्किङको व्यवस्था गरेको हो ।

न्यूरोडको पाको, प्युखा लगायत ३ ठाँउमा सुरु गरिएको स्मार्ट पार्किङ इन्द्रचोक, धर्मपथ, खिचापोखरीमा सुरु गर्न लागिएको कम्पनीले बताएको छ । कम्पनीले स्मार्ट पार्किङमा एकपटकमा ८ सय बढी मोटरसाइकल र ४० वटा गाडि पार्किङ गर्न सकिने बताएको छ । पार्किङबाट उठाएको रकममध्ये महानगरले केवल २० प्रतिशत मात्र रकम पाउने गरेको छ भने बाँकी ८० प्रतिशत रकम निजी कम्पनी आफैले राख्नेछ । जसबाट कम्पनीलाई निक्कै फाइदा पुग्ने देखिन्छ । किनकी सो ठाँउ राजधानी कै सबैभन्दा व्यस्त ठाँउ हो । दैनिक हजारौं मोटरसाइकल त्यहा आउने गरेका छन् ।

सो ठाउमा विगतमा अस्तव्यस्त तरिकाले पार्किङ हुने गरेको थियो । त्यसैलाई मध्यनजर गरेर अहिले सडकको छेउमा एकलाइन मात्र मोटरसाइकल पार्किङ गर्ने व्यवस्था गरिएको छ । तर, पार्किङ शुल्क निक्कै महंगो भएको भन्दै सेवाग्राहीले विरोध गर्न थालेका छन् । उनिहरुले पार्किङ गर्ने वित्तिकै मोटरसाइकललाई २५ रुपैयाँ र चारपांग्रेलाई ८० रुपैयाँ लिने गरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । कम्पनीले दुवै प्रकारका सवारी साधनलाई प्रतिघण्टा थप त्यत्तिनै रकम जोड्दै जानेछन् ।

न्यूरोडमा सवारी साधन गुड्ने सडकको दायाँ बायाँ भागलाई नै पार्किङ क्षेत्र बनाएर स्मार्ट पार्किङका नाममा लुट मच्चाएको भन्दै सवारी पार्किङकर्ताहरुले भने गुनासो गरेका छन् । ५ मिनेट मात्रै पार्किङ गरेपनि मोटरसाइलकको २५ र अन्य सवारी साधनको ८० रुपैयाँ रुपैयाँ शुल्क लिने गरेपछि सर्वसाधारणले असन्तोष व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाले यसअघि न्यूरोडका सबै ठाउँमा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो । त्यसअघि ठेक्कामा पार्किङ गर्न दिने गरेपनि मनपरी शुल्क लिने तथा ठेक्का विवाद भएपछि महानगरले काठमाडौँका विभिन्न स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले सवारी चाप घटोस् भनेर पार्किङ शुल्क महंगो लिएको बताए । उनले भने–‘हामीले शुल्क महंगो गर्न खोजेको हो, किनभने सहरको मध्य भागमा सवारी पार्किङ धेरै भयो । पार्किङ महंगो नगर्ने हो भने चौबिसै घण्टा पार्किङ गरेर डिस्र्टब गर्ने धेरै भए ।’ उनले पार्किङको पैसा महङ्गो लिएको अर्थ सो क्षेत्रमा ट्राफिक समस्या हटाउनका लागि गरेको दावी गरे ।

प्रतिक्रिया