भिडन्त कि हत्या ?

सर्लाहीमा विप्लव समुहका जिल्ला इन्चार्ज पौडेलसँग प्रहरीको दोहोरो भिडन्त भएको भनिएको ठाँउ

काठमाडौं । प्रहरी र नेत्र विक्रम चन्द विप्लव समुहविच पछिल्लो समय युद्ध जस्तै अवस्था आएको छ । अहिलेसम्म विप्लव समुहले सुरक्षाकर्मीमाथी आक्रमण भने गरेको छैन । सर्वसाधारण र आफ्नै कार्यकर्ताको ज्यान जानेगरी भनि सो समुहले घटना घटाईसकेको छ । तर, प्रहरीसँगको दोहोरो भिडन्तमा विप्लवका दुई कार्यकर्ताको मृत्यु भईसकेको छ ।

७ जेठमा पहिलो पटक प्रहरीसँगको भिडन्तमा विप्लव समुहका एक कार्यकर्ता भोजपुरमा मारिए । सो समुहले दोहोरो भिडन्त नभई प्रहरीले हत्या गरेको दावी गर्यो । सो विषयमा लामो नै बहस पनि भयो । प्रहरीले अहिलेसम्म पनि सो घटनामा उनलाई गोली नै हान्नुपर्ने कारण दिन सकेको छैन । दोहोरो भिडन्त भयो र प्रहरीले जवाफी फायरिङ गर्दा उनको मृत्यु भएको दावी गर्दै आएको छ ।

सो हत्याको बदला लिनेभन्दै विप्लव समुहले १३ जेठमा नेपाल बन्द आयोजना गर्यो । बन्दको अघिल्लो दिन नै राजधानीमा ठुलो बम विस्फोट गर्ने तयारी गरेको थियो । तर, सो बम बनाउदै गरेको अवस्थामा नै एकै पटक दुई ठाँउमा विस्फोट भए । जसमा विप्लवका कार्यकर्ताको मृत्यु भयो ।

पछिल्लो पटक सर्लाहीमा ६ असारमा विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी कारवाहीमा मारिए । प्रहरीले यसलाई पनि दोहोरो मुडभेडको नाम दिएको छ । तर, स्थानीय र विप्लव समुहले भने दोहोरो भिडन्त नभएको बताएका छन् । विप्लव समुहले बाटो ढुकेर गोली हानी हत्या गरेको दावी गरेको छ । यसविषयमा प्रहरीले अझै पनि स्पष्ट खुलाउन सकेको छैन । दोहोरो भिडन्त भनेपनि कसरी भयो भन्ने स्पष्ट जवाफ दिन नसक्दा यो प्रश्न प्रतिनिधिसभामा समेत उठेको छ ।

विगतमा पनि प्रहरीले राजधानीमा दोहोरो भिडन्तका नाममा इन्काउटर गर्दै आएको थियो । तर, त्यसबेला अपराधिक पृष्ठभुमीका व्यक्तिहरु परेकाले खासै ठुलो आवाज उठ्ने गरेको थिएन् । उठेपनि केही समयपछि आफै सेलाएर जाने गरेको थियो । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी सहित सत्तापक्षकै सांसदले नक्कली भिडन्तको आशंका व्यक्त गर्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग र अन्य मानवअधिकार संगठनले पनि स्थलगत अनुसन्धान शुरू गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने दोहोरो भिडन्तमा पौडेल मारिएको बताएको छ ।

प्रहरी र विप्लव समुहको विज्ञप्तीपनि बाझिएको छ । प्रहरीको विज्ञप्ति भनिएको छ, ‘दुईवटा मोटरसाइकलमा रहेका चारजनाले गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ गोली चलाएपछि प्रहरीले आत्मरक्षाको निम्ति जवाफी फायर गर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको’ उल्लेख गरेको छ । प्रहरीले अगाडी भनेको छ, ‘बरामद परिचयपत्रको आधारमा मृतक कुमार पौडेल भएको, उनी चन्दको दलको सर्लाही जिल्ला इन्चार्ज रहेको तथा उनीविरूद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएको अभिलेखबाट खुलेको’ जनाएको छ ।

तर, चन्दको दलको जनकपुर ब्यूरोले ‘साथीहरू कुरिरहेको बेला पौडेललाई नियन्त्रणमा लिएर चिनिसकेपछि गोली हानेर हत्या गरेको’ आरोप लगाएको छ । विप्लवले पनि वक्तव्यमा ‘राजनीतिक कार्यक्रम सकेर फर्किँदै गर्दा पौडेकलाई नियन्त्रणमा लिएर हत्या गरिएको’ र सरकारले ’गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न भिडन्तको कथा सार्वजनिक गरेको’ उल्लेख छ ।

१२ वर्षे सशस्त्र द्वन्द्वकालमा त्यस्ता घटनाबारे सरकारी भनाइलाई गलत भन्ने गरेको तत्कालीन माओवादीका नेता रामबहादुर थापा अहिले संयोगवश गृहमन्त्री छन् । जुनबेला उनकै पूर्वसहकर्मी नेत्रविक्रम चन्दको दलका कार्यकर्ता प्रहरीको गोली लागेर मारिएका छन् । र, सरकारले चन्दको दलको गतिविधिलाई सुरक्षा चुनौतीको रूपमा लिएको छ । हालसम्म देशभरबाट विप्लव समुहका ८५ नेता-कार्यकर्ता जेल परेका छन् । आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेता-कार्यकर्तामध्ये ८५ जनालाई कारागार चलान गरिएको हो ।

प्रहरीका अनुसार कारागारमा रहेका र अनुसन्धानपछि रिहा भएकामाथी ४ सय ७४ वटा मुद्दा दर्ता गरिएको छ । आतंककारी, विध्वंसात्मक तथा संगठीत अपराध र लुटपाटमा संलग्न रहेको अभियोग लगाउँदै नेकपामाथी २०७५ फागुन २ गतेको मन्त्रिपरिषदले प्रतिवन्ध लगाउँदै उसका गतिविधि नियन्त्रणमा चारवटै सुरक्षा निकाय परिचालन गरेको छ । सरकारले प्रतिवन्ध लगाएपछि विप्लव सहित केन्द्र देखि स्थानीय स्तर सम्मका नेता कार्यकर्ता भूमिगत भइसकेका छन् । उनीहरुको खोजीमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयन्त्रलाई विशेष सुरक्षा कार्यदलका रुपमा परिचालन गरिसकेको छ ।

चारवटै सुरक्षा निकायका विशेष अनुसन्धान टोलीलाई विप्लवका नेतारकार्यकर्ता खोजिमा परिचालन गरिएको गृह मन्त्रालय स्रोतको भनाई छ। केही दिन अघि मात्रै सरुवा भएका ७ वटै प्रदेश अन्तर्गतका नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआइजीहरुलाई गृहमन्त्री थापाले विप्लवका गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया