नयाँ भवनमा रंगेली प्रहरी

विराटनगर । पुरानो र जीर्ण भवनमा बस्दै आएको इलाका प्रहरी कार्यालय रंगेलीले लामो समयपछि नयाँ भवन पाएको छ । शान्ति सुव्यवस्था कायम राख्न दिनरात खटेर सबैको सहारा बनेको नेपाल प्रहरीले पुरानो र जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको थियो ।

जीर्ण र साँघुरो भवनवाट सेवा प्रवाह गर्न असहज भएपछि नेपाल सरकारले इलाका प्रहरी कार्यालय सञ्चालनका लागि कार्यालय परिसरमा अहिले २ करोड ३२ लाख ३१ हजार रुपैयाँको लागतमा १९ कोठे दुई तल्ले सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।

नवनिर्मित भवनभित्र प्रहरी निरीक्षक कक्ष, अपराध अनुसन्धान शाखा, प्रशासन कक्ष, नागरिक सहायता कक्ष, हेल्प डेक्ससहित पुरुष, महिला थुनुवा हिरासत र सुविधा सम्पन्न शौचालयहरू निर्माण गरिएको छ । प्रहरी कार्यालय १२ कठ्ठा क्षेत्रफलमा रहेको छ ।

भवनको प्रदेश–१ का प्रहरी नायव महानिरीक्षक केदार रिजालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले भौतिक पूर्वाधारको विकासले प्रहरीको कार्य सम्पादनमा समेत प्रभाव पार्ने भएकाले कार्यालयको निर्माणले प्रहरीको मनोबल बढ्ने र जनताले समेत चाँडो, सहज र प्रभावकारी सेवा पाउने बताए ।

कार्यक्रममा सुनवर्सी नगरपालिकाका मेयर कालिप्रसाद दास, धनपालथान गाउँपालिका अध्यक्ष हरिलाल सिंह, रंगेली नगरपालिकाकी उपमेयर केशवकुमारी खराल, मोरङका प्रहरी नायव उपरीक्षक विश्व अधिकारी, प्रहरी निरीक्षक इन्जिनियर कविन थापा, प्रगतिशील नगर महिला सञ्जालकी अध्यक्ष पुनम सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कोसी एन्ड न्यौपाने निर्माण सेवाले आरसिसी फ्रेम स्टक्चरमा निर्माण गरेको उक्त कार्यालय भवन अपांग मैत्री रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले बताए ।

प्रतिक्रिया