विप्लव समूहका सर्लाही इञ्चार्ज मारिए

सर्लाही । लालबन्दी नगरपालिका–१ लखनदेही नदी नजिकै प्रहरीसँगको दोहोरो गोली हानाहानमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका जिल्ला इन्चार्ज मारिएका छन् । दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लालबन्दीबाट चार जनाको समूहमा मोटरसाइकलबाट जंगलको बाटो हुँदै नवलपुरतर्फ जादै गर्दा पौडेल नेतृत्वको जम्काभेट प्रहरीसँग भएको थियो । प्रहरीका अनुसार सो टोलीलाई रोक्न खोज्दा फायरिङ खोलेपछि नेपाल प्रहरीको विशेष टोलीले जवाफी फायरिङ गर्दा उनको मृत्यु भएको जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदेश–२ को राजधानी जनकपुरबाट पौडेललाई खोज्न खटिएको नेपाल प्रहरीको विशेष टोलीसँग पौडलको दोहोरो गोली हानाहान भएको थियो ।

प्रहरीले गोली चलाउन थालेपछि पौडेलसगै रहेका अन्य तीन जना फरार भएका छन् । घटनास्थलबाट प्रहरीले केही थान हरितयार मोटरसाइकल पनि फेला पारेको छ । उनीहरु जंगलको बाटो भएर भागेको प्रहरीले जनाएको छ । ‘पौडेल मारिएका छन, घटनाको विस्तृत अनुसन्धान भईरहेकाले थप विवरणपछि सार्वजनिक गरिने छ’, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने ।

सर्लाही वागमती नगरपालिका–२, धरहरा निवासी पौडेल चुरे भावर राष्ट्रिय एकता पार्टी स्थापना भएपछि सर्लाही अध्यक्ष बनेका थिए । एकीकृत नेकपा पार्टी फुटाएर मोहन वैद्यले पार्टी गठन गरेपछि पौडेल त्यसमा लागेको थिए । लगत्तै वैद्यसँग पार्टी फुटाएर विप्लवले नयाँ समूह खोलेपछि पौडेल त्यसमा सामेल भएका थिए । केही दिनदेखि पौडेल सर्लाहीमा चन्दा आतंक मचाएको स्थानीय तहका प्रमुखले बताएका छन् ।

तर, यता स्थानीयबासीले भने दोहोरो फायरिङ्गको आवाज आफुहरुले नसुनेको बताएका छन् । घटना हुनु अघिसम्म त्यही वरपर स्थानीय कृषक काम गरिरहेका थिए । तर प्रहरीले भिडन्त भएको भनेको समयमा त्यो क्षेत्र सुनसान रहेको स्थानीय नै बताउछन् । ‘हामी घाँस दाउरा गर्न जाने जंगलको बाटोमा घटनास्थल छ । यदि भिडन्त नै भएको भए हामीले गोली चलेको आवाज सुन्नेथियौँ’, घटनास्थल नजिकैकाका एकजना स्थानीयबासीले भने, ‘हामीले एउटै पनि गोली चलेको आवाज सुनेनौँ । सायद प्रहरीले पौडेलमाथि एकदमै नजिकबाट गोली चलाएको हुनुपर्छ ।’

प्रतिक्रिया