भक्तपुर अस्पतालका सबै सेवा ठप्प

काठमाडौं । वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरू अस्पतालको प्रांगणमा धर्ना दिएर बसेका छन् ।

सधैँ भीड लाग्ने अस्पताल आन्दोलनका कारण बिरामी नआएपछि सुनसान भएको छ । अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरूको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ कर्मचारी विगत एकसातादेखि आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै मंगलबारेदेखि आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प पारेपछि बुधबारदेखि अस्पताल बिरामी नआउँदा सुनसान भएको हो ।

सरकारले अस्पताल विकास समिति खारेज गरेर मेसुलाई अधिकार दिएपछि मेसु डा. देवकोटाले २०७५ साउन ६ गते अधिकारको दुरुपयोग गरी नियमविपरीत यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ति गरेको कर्मचारीको नियुक्तिसमेत खारेज गरेको सूचना टाँस गरेकोे आन्दोलनरत कर्मचारीहरूको संगठनका अध्यक्ष मदन द्यौलाले बताए । उनले मेसुले आफूहरूसँग छलफलै नगरी वर्षौँदेखि खाइपाइ आएको सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेडसमेत काटिएकोले ती सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।

स्पतालमा विगत २२ वर्षदेखि कार्यरत कर्मचारीहरूलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ कर्मचारीलाई साउनदेखि नियुक्ति नवीकरण नगर्ने भएकाले उनीहरूको पुनर्बहालीको समेत माग गरेको उनले बताए । मेसुले अस्पतालका कर्मचारीहरू दास भएको भन्दै कर्मचारीलाई मानवीय व्यवहारसमेत नगरेको आन्दोलनरत कर्मचारीको आरोप छ ।

करारमा रहेका कर्मचारीलाई निष्कासन गर्ने तर आफ्ना आफन्त सातजनालाई नर्स र फार्मेसीमा नियुक्ति गर्नुका साथै मेसु देवकोटोले १७ हजार ५ सय तलबमा आफ्ना निजी भान्छे समेत नियुक्ति गरेको संगठनका सचिव सुनिता श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रा सेवा सुविधा कटौती गर्ने अनि यसअघिका कुनै पनि मेसुले नराखेको भान्छे डा. सुधाले निजी रूपमा राखेकी छन्, उनले अस्पताल प्रशासनको दुरुपयोग गर्दै आएकी छन् ।’

अस्पतालको ‘रिसेप्सन’मा रहेको टेलिफोन विगत सात महिनादेखि बन्द भएपनि नखुलाएको, अस्पतालको बस मर्मत नगरी थन्क्याएको तर आफ्नो गाडी र तेल खर्चको भने मेसुले व्यापक दुरुपयोग गरेको गुनासो कर्मचारीको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समिति, करार, ठेक्काका कर्मचारीले अनधिकृतरूपमा सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेपछि मन्त्रालयले त्यस्ता सुविधा रोक्न पत्राचार गरेको थियो ।

आन्दोलनका बारेमा विकास समितिका अध्यक्ष मिलन सुवालले वार्ता कमिटी बनाएको बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले भने, ‘मैले गर्नुपर्ने सबै माग पूरा गरिसकेँ, अब मन्त्रालयले पूरा गर्ने माग मात्रै बाँकी छ, मन्त्रालयमा सबै जानकारी गराइसक्यौँ, मन्त्रालयबाट टोली आउँदैछ भन्ने जानकारी पाएको छु, जे गर्छ टोलीले गर्छ ।’

उनले अस्पतालको सेवा ठप्प नपार्न आन्दोलनरत कर्मचारीलाई आग्रह गरेको उल्लेख गर्दै काउन्टरको साँचो समेत नदिँदा टिकट काट्न समेत नपाएको बताए ।

प्रतिक्रिया