बागलुङमा व्यावसायिक खरायोपालन

गलकोट । बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरूपमा खरायोपालन शुरु गरेका छन । शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको राङ्खानीबाट ल्याएका हुन । ‘दुई वटाबाट शुरु गरेको खरायोपालन अहिले २५ वटा पु¥याएको छु’, शर्माले भने । व्यावसायिक रूपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको सङ्ख्यामा वृद्धि गर्ने योजना रहेको सुनाए । ‘हालसम्म तीन जोर खरायो बेचे’, शर्माले भने, ‘एक सय पु¥याएर मात्र अब बेच्ने योजना छ ।’ खरायो शाकाहारी भएकाले घाँस मात्र खुवाउँदा धेरै खर्च लाग्दैन ।

हाल खरायोलाई मासुका रूपमा प्रयोग गर्ने प्रचलन बढेको छ । सेतो मासु भएका कारण रातो मासु नखानेका लागि उपयुक्त हुन्छ । एक जोर खरायोलाई रु एक हजार पर्छ । ‘एक सय पु¥याएपछि मासुका लागि बिक्री–वितरण गर्ने योजनामा छु’, शर्माले भने । अहिले ठूला होटल तथा रिसोर्टमा खरायोको मासुको माग रहेको थाहा पाएकोले खरायोपालनलाई व्यावसायिक रुप दिएको शर्माले बताए ।

करीब पाँच–६ महीनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । गर्भ रहेको २८ देखि ३२ दिनमा नै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । फेरी त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्दछ । त्यसैले पनि भालेको भन्दा पोथीको मूल्य बढी पर्छ । खरायो जन्मेको तीन महीनामा नै मासुका लागि योग्य हुन्छ । खरायो पाल्नका लागि त्यति धेरै जग्गा नचाहिने घरको कुनै एक छेउ, कौसीमा पनि गर्न सक्ने भएकाले यो व्यवसायमा हात हालेको उनको भनाइ थियो ।

प्रतिक्रिया