चितवनमा अलैँचीखेती

भरतपुर । तराई र पहाड भूभागको समिश्रण रहेको चितवनमा मौसममा विविधता भएकै कारण यहाँ सबै खालका खाद्यान्न, फलफूल तथा उत्पादन हुने गरेको छ । चिसो र तातो दुवै ठाउँमा खाद्य पदार्थ यहाँ सहजरूपमा उत्पादन हुने भएकाले चितवनमा स्याउदेखि आँपसम्मका फलफूल खेती गरिएको छ ।

मकै कोदोदेखि तोरी फापरसम्मका खाद्यबाली यहाँ उत्पादन हुनाका साथै नयाँ–नयाँ खेतीसमेत परीक्षण हुंदै आएको छ । पछिल्लो प्रयोगले जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा अलैंची खेतीको राम्रो सम्भावना देखिएको छ । अध्ययन, अनुसन्धान र त्यसको सफलतापछि इच्छाकामना गाउँपालिका–२ तल्लो काउलेमा पहिलोपटक अलैँचीखेती शुरु गरिएको हो ।

सुनाखरी कृषक समूहमार्फत स्थानीय २० घर परिवारले छ हजार बिरुवा रोपेर अलैँची खेती शुरु गरेका छन् । परीक्षणका लागि लगाइएको खेती राम्रो हुँदै गएकाले व्यावसायिकरुपमै अलैँचीँ खेतीको सम्भावना देखिएको हो । उक्त व्यवसायलाई स्थापित गराउन र प्रवद्र्धन गर्न स्थायीन सहयोग आवश्यक रहेको कृषक प्रकाश बुढाथोकीले बताए । ‘शुरुमा परीक्षणको रूपमा लगायौँ, अहिले राम्रो उत्पादन हुने देखिएको छ, यसमा सरकारी निकायको सहयोग आवश्यक छ ।’ उनले भने । सबै किसान व्यावसायिकरुपमै अलैँचीखेती गर्न तयार रहेको भन्दै उहाँले सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

अलैँची खेतीको राम्रो सम्भावना देखिएपछि उक्त गाउँपालिकाले पनि यसलाई प्राथमिकतामा राखी किसानलाई अलैँचीको बिरुवा वितरण गर्ने भएको छ । यसका लागि किसानलाई आवेदन दिन आह्वान गरिएको गाउँपालिकाका नायब प्राविधिक सहायक माधुरी थापाले जानकारी दिए । ‘किसानका लागि सूचना जारी गरेका छौँ,’ उनले भने, ‘सबै आवेदन सङ्कलन भएपछि मागबमोजिम बिरुवा वितरण गर्छौं ।’

गत वर्ष पनि गाउँपालिकाले १० हजार अलैँचीको बिरुवा वितरण गरेको थियो । अलैँची खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको र व्यवसायीकरण गर्न प्रयत्न गरिरहेको प्राविधिक थापाले बताए । हाल उक्त गाउँपालिकाको वडा १ र २ मा अलैंचीखेती भइरहेको छ । यससँगै वडा नं ६ का किसानले पनि अलैँची खेतीका लागि बिरुवा माग गरेको उनले जानकारी दिए । ‘कम्तीमा १० हेक्टर क्षेत्रफलमा अलैँचीखेती पु¥याउने लक्ष्य छ, सोबमोजिम खेती भयो भने हामी पकेट क्षेत्र नै बनाउने योजनामा छौं’, थापाले भने ।

काउलेसँगै दाहाखानीमा पनि अलैँचीखेतीको सम्भावना देखिएको छ । कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत धनबहादुर थापाले अलैँची खेती हुने ठाउँमा पहाडी क्षेत्रमा प्रशस्तै रहेकाले यसलाई व्यावसायिकरूपमा लैजान सकिने बताए ।

प्रतिक्रिया