भगवान्को भरोसामा जाजरकोट–डोल्पा यात्रा

जाजरकोट । एक दशकअघिसम्म डोल्पाबाट नेपालगञ्ज वा सुर्खेत गई पिठ्यूँमा नुन र खाद्यान्न बोकेर दुई महिनापछि फर्किने डोल्पावासीलाई यातायातका साधनको यात्रा भगवान्को भरोसा भएको छ । थोत्रा जिप, मनोमानी भाडा, क्षमताभन्दा तेब्बर यात्रु राखेर यातायात व्यवसायीले जिप चलाएकाले सयौँ यात्रु भगवान्को भरोसामा यात्रा गर्न बाध्य भएका हुन् ।

ठाउँठाउँमा प्रहरीचौकी नहुँदा ‘खाने भए खा नत्र घिच’ भने झँै गरी यातायात व्यवसायीले यात्रुहरूलाई जबर्जस्ती भेडा, बाख्रा हुलेझँै गर्दा यात्रा यात्राभन्दा हिरासत जस्तै भएको डोल्पा मुड्केचुला गाउँपालिका–६ शुरका रवीन्द्र सिंहले बताए । डोल्पामा सञ्चालनमा रहेका यातायात व्यवसायीले दर्ताविनाका यातायातका साधन चलाएका छन् ।

जाजरकोट सदरमुकामदेखि डोल्पाको दुनैसम्म सञ्चालनमा रहेका सबै सवारी साधनमा यात्रुहरूलाई सेवाभन्दा सास्ती दिने गरेको यात्रुहरूको गुनासो थियो । यो सडकको बीचमा पुलपुलेसा नहुँदा आधा दर्जन ठाउँमा झर्ने र फेरी गाडीमा चढ्नु पर्दा अर्को सास्ती हुने गरेको छ । आवश्यक सामग्री लिएर जाँदा वा बालबालिकासँग यात्रा गर्दा यात्राभन्दा पीडा बढी हुने गरेको नलगाड नगरपालिका–११ का शशी विकले बताए ।

यातायात व्यवसायीको एकाधिकारका कारण यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । प्रहरीचौकी भएको ठाउँमा सय मिटर अगाडि यात्रुलाई झारेर हिँड्न लगाई पुनः गाडीमा चढाएर यात्रा गर्न बाध्य पारिएकोे विकको भनाइ छ । कच्ची सडक, धुलाम्य र अप्ठ्यारो हुँदा एक ठाउँबाट अर्को ठाउँमा जाँदा मानिस नै नचिनिने गरी पुग्ने गरेको अर्का ठूलीभेरी नगरपालिका–५ का रामबहादुर रोकायले बताए । १ सय १८ किलोमिटर यात्रा गर्दा २ हजार ५ सय भाडा तिरेर पनि सुखसँग यात्रा गर्न नपाएको दैनिक गुनासा आउने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

चालक अनुमति पत्रदेखि थोत्रा जिपमा क्षमताभन्दा बढी यात्रु राख्दा कति खेर जिन्दगी जान्छ भन्ने डरले मुटु काँप्दै हिँड्नु परेको रोकायले बताए । जिपको अगाडिको तीन सिटमा चार जना राख्ने गरिन्छ भने गाडीको चालक रहने सिटमा चार जना राख्दा गाडी चलाउन नै अप्ठ्यारो हुने गरेको यात्रुहरू बताउँछन् । पछाडिको भागमा छुट्टै सिट जोडेर सिट नै नभएको ठाउँमा कोचाकोच यात्रुहरू भरेर बोक्ने गरिँदै आएको छ ।

त्यसपछि जिपको छतमा कम्तीमा पनि पाँच जनाभन्दा बढी राखेर जिप सञ्चालन हुने गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय, जाजरकोट र डोल्पाले जथाभावी यात्रुहरू बोक्न नदिन कडाइ गरिएको भने पनि त्यो कार्यान्वयन हुन सकेको छैन् । सडक विभागले जिम्मा नलिएको यस सडकमा आधा दर्जन पुल निर्माण हुन बाँकी छन् । नलगाड नदीमा खोलेखेत, साप्नेखेत, खमाउरेखोला, वडाखोला, त्रात्रगाड, ताँसुगाड, तल्लुस्थित भेरी नदीमा, डोल्पाको खदाङ, त्रिपुराकोट, छलगाड, रूपगाडलगायत ठाउँमा पुल निर्माण कार्य सुरु नै गरिएको छैन । तुइनमा राखेर लिइएका जिप र जाजरकोट खण्डमा चल्ने बसले मनोमानी गर्दा यात्रुहरू हैरान भएका हुन् ।

सरकारले यो वर्ष सडक दुनैसम्म पु¥याउने भनेर उद्घोष गरे पनि पुल निर्माण नभई डोल्पामा यात्रा गर्न पाइने सम्भावना कम रहेको छ । गैरकानुनी रूपमा सञ्चालन भएका जिपहरू दर्ता प्रक्रियामा ल्याएर सञ्चालन गरी यात्रुमैत्री बनाएपछि मात्र यहाँका जनसाधारणले खुसीले यात्रा गर्न पाइनेछन् । यो सडकको स्तरोन्नति र पुल निर्माण नहुँदासम्म यहाँका नागरिकले दुःख पाइरहनेछन् ।

प्रतिक्रिया