नीतुलाई मिस नेवाःको उपाधि

काठमाडौं । १६ प्रतिस्पर्धीलाई पछि पार्दै नीतु डंगोलले ‘मिस नेवाः ११३९’ को उपाधि जितेकी छन् । १४औं संस्करणको प्रतियोगितामा नीतुले २५ हजार नगदसहित विभिन्न उपहार प्राप्त गर्न सफल भइन् । नेप्लिज फेसन होमले आयोजना भएको उक्त प्रतिस्पर्धामा नीतुलाई मिस नेवाः ११३८ रीजु मानन्धरले विजेताको ताज पहिराएकी थिइन् ।

नेवार समुदायका युवतीको प्रतिभालाई प्रस्फूटन गराउने लक्ष्यका साथ गरिएको प्रतियोगितामा सञ्जिता महर्जनले फस्ट रनरअप र मिस फ्रेन्डसिपको अवार्ड हात पार्दै १२ हजार नगदसहित विभिन्न उपहार प्राप्त गरिन् । स्केना कोजु सेकेन्ड रनरअप बन्दै १० हजार नगदसहित विभिन्न उपहार हात पारिन् ।

उक्त प्रतियोगितामा युनिषा शाहीले मिस पर्सनालिटीका साथै सोसल वेलफेयर एम्बेसडर चिफको उपाधि जितिन् । रोजी शाक्यले बेस्ट हेयर, अजुमी शाहीले मिस फोटोजेनिक, कृतिका प्रजापतिले बेस्ट स्किन, कृषा गैंजुले बेस्ट स्माइल, संगीता महर्जनले मिस फ्रेन्डसिप, बिदिशा श्रेष्ठले मिस डिसिप्लिन, इशा श्रेष्ठले बेस्ट ड्रेस, सिर्जना श्रेष्ठले मिस चार्मिङ, कञ्चन तिताजुले मिस एलिगेन्टको उपाधि जिते । त्यसैगरी, प्रतियोगितामा सजिना श्रेष्ठले मिस ट्यालेन्ट र रोशनी कुम्पाखाले उत्कृष्ट नेपाल भाषाको उपाधि हात पारे ।

लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनकको प्रमुख आथित्यमा भएको उक्त प्रतियोगिताको निर्णायकमा गायक प्रवेशमान शाक्य, सञ्चारकर्मी विजयरत्न तुलाधर, बुटिक एसोसिएसनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, बैंकर भाइराजा तुलाधर, नेपाल क्युकोसिन सिसन कराँते एसोसिएसनका अध्यक्ष अशोककुमार श्रेष्ठ र मेकअप आर्टिष्ट मञ्जु कार्की पाण्डे रहेका थिए ।

नेवारी संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् । उनले भनिन्, ‘निकै समृद्ध रहेको नेवार संस्कृति, कला, गीत, संगीत, नृत्य, रीतिरिवाज, रहनसहन, खानपिन, जात्रा, चाडपर्वलगायतका बारेमा जानकारी गराउन तथा तिनको संरक्षण गर्ने पवित्र उद्देश्य राखेर प्रतियोगिताको आयोजना गरिएको हो ।’

प्रतिक्रिया