कुकुरको टाउको झुण्ड्याएर खसीको मासु बिक्दैन

अञ्जु कार्की

संसदीय व्यवस्थालाई यतिवेला विश्वका धेरै मुलुकहरूले लोकतन्त्रको सर्वोत्तम अभ्यासका रूपमा अंगिकृत गरेका छन् । धेरैजसो मुलकका कम्युनिस्ट पार्टीहरूसमेत संसदीय व्यवस्थामा अटाएका छन् । तर, कुनै वेला कम्युनिस्टहरू भन्ने गर्थे, ‘संसदीय व्यवस्था भनेको खसीको टाउको प्रदर्शन गरेर कुकुरको मासु बेच्ने थलो हो ।’ यो भनाइ पूर्ण असत्य भने होइन । चुनावमा भोट माग्न जाँदा जे जे वाचा गरिन्छ चुनाव जितेपछि त्यो वाचालाई बिर्सने चलन छ ।

चुनाव जितेर सत्तामा आएपछि आफ्नो प्रतिबद्धतालाई उल्टोपाल्टो गर्ने प्रचलन छ । त्यसैले, खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था भनिएको होला । व्यवहारमा हेर्ने हो भने पनि कुकुरको टाउको अगाडि राखेर खसीको मासु बेच्न खोजियो भने ग्राहकहरू नाक थुनेर भाग्छन् तर खसीको टाउको अघि राखेर कुकुरको मासु बेच्न राखियो भने ग्राकहहरू लाम लाग्छन् । केही समय पहिले राजधानीको बागबजार, नयाँ बसपार्क क्षेत्रका मासु पसलहरूको बारेका एउटा समाचार आएको थियो । समाचारमा जनाइएअनुसार यस क्षेत्रका कतिपय मासु पसलेहरूले बाख्रीको वक्षस्थल काटेर त्यो ठाउँमा बोकाको जनेन्द्रिय टाँस्ने गर्दछन् । जनेन्द्रिय देखेपछि बोकाकै मासु होला भनेर ग्राहकहरू झुम्मिन्छन् ।

मान्छेको जनजीवनमा विश्वास नै सबैभन्दा महत्वपूर्ण पाटो हो । अझ राजनीति त विश्वासमै अडिएको हुन्छ । राजनीतिकर्मीहरूले जनताको विश्वास आर्जन गर्न अनेक प्रयास गर्छन् । नेपालकै सन्दर्भमा भन्ने हो भने प्रथम सफल राजनीतिज्ञ पृथ्वीनारायण शाह हुन् । त्यतिवेला वर्तमान नेपालले ओगटेको भू–खण्डमा करिब ५९ राज्यहरू अस्तित्वमा थिए । त्यसमध्ये आर्थिक तथा जनसंख्याको हिसाबले कमजोर राज्यमा गोरखा थिया । कमजोर राज्यका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको प्रयास सफल भयो । यस अघि बलिया सेन राजाहरूले पनि कमजोर छिमेकी राज्यहरूलाई नगाभेका होइनन् तर उनीहरूले जितेका राज्यहरू आफ्ना भाई छोरामा अंशबण्डा गरे । डोटीका राजाले पनि त्यसै गरे । नेपाल उपत्याकाका राजाहरूले पनि त्यसरी नै आफ्ना भाई छोरालाई राज्यको अंशबण्डा लगाए । जसका कारण उनीहरूले जनताको विश्वास गुमाए । राजाले जनताको विश्वास गुमाएपछि त्यो राज्य कमजोर हुनु स्वभाविकै थियो । तर, पृथ्वीनारायण शाहले भने जितेका राज्यहरू भाई छोरामा अंशबण्डा नगर्ने विश्वास जनतालाई दिलाए । उनले दिलाएको यो विश्वासले अरू राज्यका जनताको पनि मन छोयो । लडाइँमा उनी सिपाहीहरूसँगै तरबार लिएर अघि बढे । सिपाहीहरूले जे खान्छन् त्यही खाए, सिपाहीहरू जहाँ जसरी सुत्छन् त्यसरी नै सुते ।

अंग्रेजहरूले शासन सत्ता लिनुअघि अहिलेको भारत, पाकिस्तान तथा बंगलादेशले ओगटेको भू–खण्डमा करिब चार सयवटा राज्य थिए । अंग्रेजले शासन सत्ता हातमा लिएपछि ती राज्यका अपदस्त राजाहरूले वेला वेलामा स्वतन्त्रताका लागि विद्रोह गरे । तर, अपदस्त राजाहरूले जनविश्वास गुमाइसकेका कारण विद्रोह सफल भएन । अपदस्त भएका राजालाई पुनर्वहाली गर्नुभन्दा अंग्रेजको शासन नै ठीक भन्ने मानसिकतामा जनता देखिए । अपधस्त राजा तथा उनका वंशजको नेतृत्वमा भारत स्वतन्त्र बनाउन सम्भव छैन, जनताले साथ दिनेवाला छैनन् भन्ने कुरा बुझेपछि केही धनाढ्य, पढेलेखेका तथा चेतनशील व्यक्तिहरूले राष्ट्रिय कांग्रेस नाम गरेको पार्टी गठन गरे । अंग्रेज धपाउने र लोकतान्त्रिक शासन व्यवस्था कायम गर्ने उद्देश्यका साथ खडा भएको राष्ट्रिय कांग्रेसप्रति जनताको विश्वास बढ्दै गयो । तर, नेतृत्वप्रतिको जनविश्वास पूर्णरूपमा प्राप्त नभएकोले स्वतन्त्रता आन्दोलन लम्बिँदै गयो । यही वेला महात्मा गान्धीले कांग्रेस पार्टीको नेतृत्व सम्हाले । भारतका सबैभन्दा गरिब जनता एक छाक मात्रै खान पाउँथे, महात्मा गान्धीले पनि एक छाक मात्रै खान थाले ।

 

जनविश्वास गुमाएका व्यक्तिहरूलाई अघि सार्दा जतिसुकै राम्रो उद्देश्य पनि सफल हुन सक्दैन भन्ने कुरा हिन्दू राज्य पुनर्वहालीको अभियानमा लाग्नेहरूले बुझ्नै पर्छ । किनकि, कुकुरको टाउको अघि राखेर खसीको मासु बिक्री गर्न सकिन्न ।

 

भारतका सबैभन्दा गरिब जनतासँग लाज ढाक्ने लगौँटीबाहेक केही हुँदैनथ्यो, महात्मा गान्धीले पनि लगौँटी मात्रै लगाउन थाले । भारतका अधिकांश गरिब जनता खाली खुट्टा हिँड्थे, महात्मा गान्धी पनि खालि खुट्टा हिँड्न थाले । यसरी गान्धीले जनताको विश्वास जिते । ‘गान्धीबाट धोका हुँदैन, हामी जे–जस्ता हौँ गान्धी पनि त्यस्तै हुन्, अपधस्थ राजाहरूले जस्तो अंग्रेज फालेर आफू सत्तामा जाने रणनीति गान्धीको होइन’ भन्ने जनताले बुझे । जनताले जुन वेला यो कुरा बुझे त्यसै दिनदेखि अंग्रेजहरूको दिन गन्ती सुरु भयो । अंग्रेज धपाउन गुलेली त परै जाओस् लाठीसम्म उठाउनु परेन । जनता गान्धीको साथमा लागेपछि अंग्रेजहरूले आफैँ सत्ता हस्तान्तरण गरे । सत्ता हस्तान्तरण पनि यति व्यवस्थित रह्यो कि अहिले पनि त्यसलाई विश्वकै सर्वोत्तम नमुनाका रूपमा लिइन्छ । बरू अंग्रेजले प्रदान गरेको भारतलाई स्वतन्त्रता सेनानीहरूले जोगाउन सकेनन् महात्मा गान्धीले इमान्दारीता देखाए पनि उनका सहयोद्धा मोहम्मद अली जिन्नाले विश्वास घात गरे । जसका कारण अंग्रेजले टुक्रा–टुक्रा जोडेर सिंगो स्वरूप दिएको भारत हिन्दूस्तान र पाकिस्तानको नाममा दुई टुक्रा भयो ।

करिब ९५ प्रतिशत जनता बैद्धिक सानातन धर्म संस्कृतिमा आबद्ध भएको मुलुक नेपाललाई संविधानतः धर्मनिरेपक्ष राष्ट्र घोषणा गरिएपछि जनतामा असन्तुष्टि देखिएको छ । तर, यो असन्तुष्टिलाई संगठित रूपमा अभिव्यक्त गर्ने अवसर जनताले पाइरहेका छैनन् । धर्मनिरपेक्षताको अन्त्य गर्ने घोषित एजेन्डाका साथ करिब एक दर्जन पार्टीहरू सतहमा प्रकट भएका छन् । थुपै्र धार्मिक संघ संस्थाहरूले धर्मनिरपेक्षताको विपक्षमा आवाज उठाइरहेका छन् । तर, अभियान निकै फितलो बनेको छ । धर्मनिरपेक्षताको अन्त्य गरी बैद्धिक सानातन(हिन्दू) राष्ट्र कायम गर्नका लागि दुई कित्ताबाट आवाज उठेको देखिन्छ । एउटा कित्ताको नेतृत्व पूर्वराजा ज्ञानेन्द्र शाहले गरेका छन्, जसलाई पञ्चायती व्यवस्थाअन्तर्गत काम गरेका व्यक्तिहरूको पार्टी राप्रपाहरूले साथ दिएका छन् । तीनवटा टुक्रामा विभाजित राप्रपा राजतन्त्र र हिन्दू अधिराज्य पुनर्वहालीको एजेन्डामा भने एक जुट भएको देखिन्छ ।

तर ज्ञानेन्द्र शाहले नेतृत्व गरेकै कारण हिन्दूराज्य पुनर्वहालीको एजेन्डामा संगठित हुन जनता हच्किरहेको अवस्था छ । राजतन्त्रबाट हिन्दू धर्मको रक्षा होला भन्ने विश्वास जनतालाई छैन । जसरी भारतको स्वतन्त्रताका लागि अपदस्थ राजाहरूले गरेको प्रयासलाई जनताले विश्वास गरेका थिएनन् त्यसैगरी नेपालमा पनि अपधस्त राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा भएको हिन्दूराज्य पुनर्वाहालीको प्रयासलाई जनताले विश्वास गर्ने अवस्था छैन । राजतन्त्र हुँदा खाईपाईआएको वर्ग बाहेक अरूको साथ देखिएको छैन । जनताको विश्वास नजाग्नुको दुई वटा कारण छन् । पहिलो कारण हो–‘ हिन्दू राज्य पुनर्वहालीका नाममा आफ्नो सत्ता पुनर्वहाली गर्ने दाउमा पूर्वराजा शाह रहेको जनताको ठहर ।’ यो कुरा सत्य हो । दोस्रो कारण हो–‘ पुर्वराजा ज्ञानेन्द्रको विगत ।’

नेपालमा मठमन्दीरका प्राचिन मूर्तिहरू चोरी भएर इसाईहरूको हातमा पुगेको पञ्चायतकालमा हो । राजपरिवारको संलग्नताविना पञ्चायतकालमा यस्तो अपराध सम्भव थिएन ।  साथै, गाईको मासुको व्यापार नेपालमा आरम्भ भएको पनि पञ्चायतकालमै हो । राजपरिवारको लगानी रहेको होटल सोल्टीबाटै गाईको मासुको व्यापार सुरु भएको हो । त्यसैगरी, संस्कृत गुरूकुल शिक्षाको प्रमाणपत्रलाई कानुनी रूपमै काजगको खोस्टोमा परिणत गराइएको पनि पञ्चायतकालमै हो ।

यसैगरी, हिन्दू गणतन्त्रको अभियान तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काको नेतृत्वमा सुरु भयो । तर खुमबहादुरबाट विशेष आर्थिक लाभ पाउने वर्ग बाहेक अरू यो अभियानमा सामेल भएनन् । खुमबहादुरले सत्तामा हुँदा गरेको राज्य कोषको दुरूपयोगका कारण जनताको उनीप्रति विश्वास थिएन । सर्वोच्च अदालतबाटै भ्रष्टाचारी ठहर भएका कारण खुमबहादुरको नेतृत्वलाई जनताले विश्वास गर्ने अवस्था रहेन । खुमबहादुरको निधनपछि तिलक रावललगायतका एक डेढ सय व्यक्तिहरूको भेलाले हिन्दू राज्यको अभियान अघि बढाउने र यसका लागि आवश्यक परे पार्टी नै गठन गर्ने उद्घोष गरेको छ । तर, जनविश्वास गुमाएका व्यक्तिहरूलाई अघि सार्दा जतिसुकै राम्रो उद्देश्य पनि सफल हुन सक्दैन भन्ने कुरा हिन्दूराज्य पुनर्वहालीको अभियानमा लाग्नेहरूले बुझ्नै पर्छ । किनकि, कुकुरको टाउको अघि राखेर खसीको मासु बिक्री गर्न सकिन्न ।

प्रतिक्रिया